Comments Add Comment
स्थलगत रिपोर्ट :

…र पो अब्बल बन्यो टेकु अस्पताल

निर्देशक भन्छन्- संक्रमण बढ्छ भनेर सधैं सतर्क बस्ने गरेका छौं

यतिबेला देशभर जस्तै चक्रवातको प्रभाव राजधानी काठमाडौंमा पनि परेको छ । बुधबार दिउँसोदेखि राजधानीमा पनि वर्षा शुरू भएको छ । अस्ति अस्ति जस्तै बिरामीको चाप भएको भए वर्षासँगै टेकु अस्पतालको आँगनमा बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीलाई निकै सकस हुनेथियो ।

वर्षा र हिलोका बीचमा पनि कोरोना संक्रमितलाई आँगनमै राखेर उपचार गर्नुपरेको भए स्वास्थ्य मापदण्ड पूरा गर्न स्वास्थ्यकर्मीलाई नै हम्मेहम्मे हुन्थ्यो ।

तर, जेठ ३ गतेदेखि संक्रमित बिरामीको चाप घटेको छ । जसका कारण टेकु अस्पतालको आँगनमा यतिबेला राखिएका छैनन् । बेड संख्या थपिंदै गएकाले नयाँ बिरामीले पनि टेकुमा बेड पाउन थालेका छन् ।

अहिले अस्पतालको ग्यारेजमा समेत अक्सिजनसहितका १० शय्या तयार भएका छन् । त्यहाँ बिरामीले उपचार पाइरहेका छन् । इमर्जेन्सीमा आउने संक्रमितलाई पहिला त्यहीं राखेर उपचार गरेर मात्र भित्र पठाइन्छ ।

यो सुखद अवस्था टेकु अस्पतालको चुस्त–दुरुस्त व्यवस्थापनले मात्रै सम्भव भएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

इमर्जेन्सी अगाडि भेटिएका हेल्थ असिस्टेन्ट खगेन्द्र न्यौपानेका अनुसार पछिल्लो एक महीनायता उनी पहिलोपटक यसरी फुर्सदमा देखिएका हुन् । नत्र २४ घण्टाको ड्युटी पूरै समय इमर्जेन्सीमै खटिनुपर्ने उनी सुनाउँछन्  ।

‘आज बिहान ८ बजे ड्युटी शुरु गरेर भोलिपल्टको बिहान मात्र सुत्न जान पाउँथें,’ न्यौपानेले पछिल्लो एक महीनाको दैनिकी सुनाए ।

महामारी व्यवस्थापन गर्न अस्पतालले हरसम्भव प्रयास गरेको बताउँदै उनले भने, ‘अन्तिम अवस्थामा पुगेका संक्रमितहरूलाई पनि हामीले बचाउन सक्यौं, यही सबैभन्दा ठूलो खुशीको कुरा हो ।’

हेल्थ असिस्टेन्ट खगेन्द्र न्यौपाने सुनाउँछन्- महामारी व्यवस्थापन गर्न अस्पतालले हरसम्भव प्रयास गर्‍यो । अन्तिम अवस्थामा पुगेका संक्रमितहरूलाई पनि हामीले बचाउन सक्यौं, यही सबैभन्दा ठूलो खुशीको कुरा हो ।

यता डा. प्रमोद भट्ट पनि दिनमा १८ घन्टासम्म ड्युटी गरेको अनुभव सुनाउँछन् । प्रायः इमर्जेन्सीमा खटिने डा. भट्ट टेकु अस्पतालको छिटो–छरितो व्यवस्थापनकै कारण बेड नहुँदासमेत उपचार गर्न सकेको बताउँछन् ।

‘आँगनभरि बिरामी राखेर पनि उपचार गरेका थियौं’ उनी सुनाउँछन्, ‘अवस्था हेर्दा आत्तिनुपर्ने खालको थियो, तर अस्पताल प्रशासनले थप कर्मचारी र अक्सिजनको प्रबन्ध गरेकाले सबै सम्भव भएको हो ।’

पछिल्लो केही दिनयता संक्रमितको चाप घटेकाले डा. भट्ट आशावादी देखिएका छन् । अहिले बिरामीको चाप कम गर्न टेकु अस्पतालले खतरामुक्त भएका संक्रमितहरूलाई चाँडै डिस्चार्ज गर्न थालेको छ ।

बुधबार मातातीर्थबाट सिकिस्त भएर आएकी ८८ वर्षीया धनकुमारी उपाध्यायलाई अस्पतालले एकदिनमै डिस्चार्ज गर्‍यो । जोखिममुक्त भएकाले उनलाई घर पठाइएको डिस्चार्ज पेपरमा उल्लेख गरिएको थियो ।

यसरी सम्भव भयो आपतकालको व्यवस्थापन

२०७८ को वैशाख दोस्रो सातादेखि महामारी तीव्र हुँदै गयो ।  त्यतिबेला टेकुमा २५० को संख्यामा कर्मचारी थिए । इमर्जेन्सीमा पाँचवटा बेड मात्र थिए ।

२५० कर्मचारीलाई एक महीनामै अस्पताल प्रशासनले ३०० को संख्यामा पुर्‍यायो । अझै पनि करारमा कर्मचारी थप्ने पहल प्रशासनले जारी राखेको छ ।

‘बिरामीको चापले गर्दा शुरुमा अलि गाह्रो भएको थियो’ टेकुका प्रशासकीय अधिकृत नवराज गौतम सुनाउँछन्, ‘यो अभावपूर्ति गर्न डाक्टर, रेडियोग्राफ तथा नर्सहरूसहित ४२ जना कर्मचारी थप्यौं ।’

गौतमका अनुसार थप कर्मचारी परिचालन गर्नाले अहिले १२० जनाभन्दा बढी संक्रमितलाई टेकुले सेवा दिइरहेको छ । स्वास्थ्यकर्मी थपिएकाले इमर्जेन्सीमा जुनसुकै बेला डाक्टर टोली खटाउन सकिएको गौतमले बताए ।

यो सब गर्न ऐन–कानूनले बाधा पारेन ? भन्ने जिज्ञासमा गौतम भन्छन्, ‘हामीले नियमसम्मत मिल्ने जति सबै युक्ति लगाएर कर्मचारी थप्न सफल भयौं ।’

गौतमका अनुसार मेडिकल अधिकृतहरू समेत करार नियुक्तिमा थपियो । जसले गर्दा इमर्जेन्सी तथा वार्डमा डाक्टरको अभाव हुन पाएको छैन ।

प्रशासकीय अधिकृत गौतम मात्र होइन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) का कार्यकारी निर्देशक डा. सागरकुमार राजभण्डारी पनि निरन्तर आन्तरिक व्यवस्थापन मिलाउन लागिपरे । डा. राजभण्डारीको नेतृत्वले गर्दा अहिले टेकु अस्पताल उदाहरणीय बनेको छ ।

डा. सागरकुमार राजभण्डारी, कार्यकारी निर्देशक

उनी प्रत्येक दिन मन्त्रालयसँग समन्वय गर्न व्यस्त हुँदाहुँदै पनि अस्पतालको उपचार निरीक्षण गर्न आफैं लागिपरे । उपचारमा खटिएका  स्वास्थ्यकर्मीसँग कसरी अस्पतालको सेवा बढाउन सकिन्छ भनेर छलफल गर्थे ।

‘हामीले आफ्नै स्रोत–साधनबाट कर्मचारी थपेका हौं’ निर्देशक राजभण्डारी भन्छन्, ‘सहयोग त मन्त्रालय तथा निजी संघसंस्थाबाट पनि भएको छ । तर महामारी फेरि आउनेछ भनेर हामी पूर्वतयारीमै थियौं ।’

साना व्यवस्थापनमा ध्यान पुर्‍याउनुपर्छ’

डा. राजभण्डारीले २०७६ फागुनमा टेकु अस्पतालको निर्देशकको जिम्मेवारी सम्हाले । त्यतिबेला नेपालको पहिलो व्यक्तिमा भएको संक्रमणको जिम्मा टेकुले नै लियो ।

पहिलो लकडाउनमा पनि टेकुले आफ्नो सबै स्रोतसाधन कोरोना उपचारमै लगाएको सम्झँदै डा. राजभण्डारी सुनाउँछन्, ‘पहिलो लकडाउनदेखि नै हामी सम्भावित विपत्तिको पूर्वतयारीमा थियौं । यसैले महामारीसँग कसरी जुध्ने भनेर योजना बनाउन थाल्यौं ।’

टेकु अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार महामारीको बेला राजनीतिक खिचातानीलाई छाडेर राज्यको सबै ध्यान महामारी नियन्त्रणमा लगाउनुपर्ने हुन्छ । तर, संक्रमण दर उच्च भएर दैनिक २०० भन्दा बढी मानिसको मृत्यु हुँदासमेत राज्यको ध्यान स्वास्थ्य क्षेत्रमा नजानुलाई उनी दुःखद मान्छन् ।

अस्पतालको प्रगति विवरण सुनाउँदा आत्मविश्वासी देखिएका उनी महामारी फेरि बढ्न सक्नेतर्फ पनि संकेत गर्दै थिए  ।

‘संक्रमण कुनबेला उच्च तहमा पुग्छ भन्न सकिंदैन । यसैले हामी सतर्क अवस्थामा बस्नुपर्छ’ भन्दै उनी सचेत पनि गराइरहेका थिए ।

बिहीबार हामी टेकु अस्पताल पुग्दा पनि उनी प्रशासकीय अधिकृतसँग भेन्टिलेटर जडान गर्ने विषयमा सल्लाह गर्दै थिए । यसो त डा. सागर राजभण्डारीको लामो अनुभवले भन्छ– ‘हामीले सानासाना कुरामा ध्यान पुर्‍याउन सकेनौं भने सिस्टम नै बिग्रन्छ ।’

टेकु अस्पतालले बिरामीलाई खाना खुवाउनेदेखि निजी संघ–संस्थासँग समन्वय गर्नेसम्मका मसिना कुरा पनि छुटाएको छैन । टेकुले शुरुदेखि नै बिरामीलाई आफैं खाना खुवाउँदै आएको छ । सामाजिक संस्थासँग मिलेर सम्भव भएसम्म कुरुवालाई खाना उपलब्ध गराएको छ ।

एक वर्षको बीचमा अक्सिजन प्लान्ट अस्पतालमै राख्नेदेखि बेड थप्ने काममा डा. राजभण्डारीको टीम निरन्तर लागेको छ । यसबाहेक कर्मचारी व्यवस्थापनको सवालमा समेत आफ्नै स्रोत उपयोग गरेको कुरा उनी  सुनाउँछन् ।

‘पहिलो भेरियन्टदेखि नै म संक्रमण व्यापक हुन्छ भनेर सतर्क थिएँ’ एक वर्षको समीक्षा गर्दै उनी भन्छन्, ‘त्यही सतर्कताले मलाई अस्पताललाई चुस्तदुरुस्त राख्न मद्दत गरेको हो । त्यसैले महामारी जस्तो कुरामा सधैं सतर्क हुनुपर्छ ।’

जेठ ६ गते बिहीबारसम्म टेकु अस्पतालमा १८ वटा भेन्टिलेटर, २४ वटा आईसीयु, ४० वटा ग्यास्ट्रो आइसोलेसन तथा १० वटा स्पेसल आइसोलेसनमा संक्रमित राखिएको छ । यसबाहेक इमर्जेन्सीमा बेड थप्ने कार्य जारी छ ।

राजनीतिबाट निराश

टेकु अस्पताल प्रशासनले आफ्नो स्रोत–साधनलाई अधिकतम उपयोग गरेर महामारी व्यवस्थापनमा जुटिरहेको छ । तर सरकारी संयन्त्रबीच आवश्यक समन्वय नहुँदा टेकुले पनि समस्या भोग्नुपरेको छ ।

उपकरण खरीद, आर्थिक सहायतालगायत काममा सरकारी निकायबाट ढिलासुस्ती भइरहेको अस्पताल प्रशासनले संकेत गरेको छ ।

निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार महामारीको बेला राजनीतिक खिचातानीलाई छाडेर राज्यको सबै ध्यान महामारी नियन्त्रणमा लगाउनुपर्ने हुन्छ ।

तर, संक्रमण दर उच्च भई दैनिक २०० भन्दा बढी मानिसको मृत्यु हुँदासमेत राज्यको ध्यान स्वास्थ्य क्षेत्रमा नजानुलाई उनी दुखद पक्ष मान्छन् । हरेक दिन निरीह नागरिकको मृत्यु देखेका उनलाई यो कुराले निकै चोटसमेत पुर्‍याएको छ ।

‘महामारीको बेला जनताको जीवन बचाउनेतर्फ केन्द्रित हुनुपर्छ । बाँकी कुरा तपसिलका हुन्’, डा. राजभण्डारीको निचोड छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment