Comments Add Comment

माइक्रोसफ्टले पूर्ण रूपमा बन्द गर्दै इन्टरनेट एक्सप्लोरर, यस्तो छ २६ वर्षे यात्रा

कुनैबेला इन्टरनेट ब्राउजरको क्षेत्रमा एकछत्र राज गरेको माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर अन्ततः बन्द हुने भएको छ । सन् २०२२ को जुन १५ देखि इन्टरनेट एक्सप्लोररको सपोर्ट बन्द गर्ने घोषणा माइक्रोसफ्टले गरेको छ ।

इन्टरनेट एक्सप्लोरर बन्द गर्ने भनी वर्षौँदेखि प्रयास गरिरहेको माइक्रोसफ्टले बल्ल निर्णायक कदम चालेको हो । यसबीचमा माइक्रोसफ्टले इन्टरनरेट एक्सप्लोररलाई निकम्मा बनाउँदै लगेको थियो । केही महिना अघिबाट इन्टरनेट एक्सप्लोररमा माइक्रोसफ्टको च्याट सफ्टवेयर टिम्स नचल्ने भएको थियो भने यहीँ गृष्मयामको मध्यबाट माइक्रोसफ्ट अफिस लगायतका विभिन्न ३६५ वटा एपहरु पनि इन्टरनेट एक्सप्लोररमा चल्ने छैनन् ।

कुनै समय सबैभन्दा धेरै प्रयोग हुने वेब ब्राउजरको रूपमा रहेको इन्टरनेट एक्सप्लोरर पछिल्लो झण्डै दुई दशकदेखि भने निरन्तर ओरालो यात्रामा थियो । सन् २०१० मा वेब ब्राउजरको बजारमा इन्टरनेट एक्सप्लोररको हिस्सा ५० प्रतिशत थियो जुन अहिले ५ प्रतिशत मात्रै छ । जबकि अहिले गुगल क्रोमको हिस्सा ६९ प्रतिशत छ ।

इन्टरनेट एक्सप्लोररको मृत्यु घोषणा गर्दै माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर सुस्त रहेको, व्यावहारिक नहुनुका साथै आधुनिक वेब गतिविधिका लागि पनि पर्याप्त तथा सुरक्षित समेत नरहेको जनाएको छ ।

यद्यपि निरन्तरको गिरावट र आलोचनाका बाबजुत पनि इन्टरनेट एक्सप्लोरर २६ वर्षसम्म अस्तित्व कायम राख्न सफल भयो । माइक्रोसफ्टले अझैपनि विन्डोज सफ्टवेयरमा इन्टरनेट एक्सप्लोरर राख्ने गरेको छ । खासगरी विन्डोजका कर्पोरेट ग्राहकहरु नयाँ भर्सनको ब्राउजरमा स्थानान्तरण हुने गति निकै धिमा हुने भएकोले माइक्रोसफ्टले नयाँ विन्डोजमा समेत इन्टरनेट एक्सप्लोरर उपलब्ध गराउँदै आएको थियो । धेरै विन्डोज १० का ग्राहकहरुलाई त आफ्नो कम्प्युटरमा इन्टरनेट एक्सप्लोरर इन्स्टल भएको थाहा नहुन पनि सक्छ ।

पछिल्लो समयमा माइक्रोसफ्टको आधुनिक वेब ब्राउजर एजले लोकप्रियता कमाइरहेको छ, जुन गुगलको ओपन सोर्स क्रोम कोडमा आधारित छ । आगामी दिनमा इन्टरनेट एक्सप्लोररको सपोर्ट बन्द गरेसँगै माइक्रोसफ्टले नयाँ कम्प्युटरमा इन्टरनेट एक्सप्लोरर डिफल्ट रुपमा इन्स्टल गर्न बन्द गर्छ वा गर्दैन भन्ने प्रष्ट भएको छैन ।

माइक्रोसफ्टको एज ब्राउजरले इन्टरनेट एक्सप्लोररका लागि तयार पारिएका वेब एपहरु समेत सपोर्ट गर्ने भएको हुँदा प्रयोगकर्ताहरुले इन्टरनेट एक्सप्लोररमा प्रयोग गर्ने एपहरु एजमा पनि गर्न सक्नेछन् । त्यसैले इन्टरनट एक्सप्लोररको उपादेयता सकिएको छ ।

माइक्रोसफ्टको एज ब्राउजरका प्रोग्राम म्यानेजर सिन लिन्डरसे भन्छन् : ‘हामीले घोषणा गर्दैछौँ कि  विन्डोज १० मा इन्टरनेट एक्सप्लोररको भविष्य अब माइक्रोसफ्ट एजमा रहेको छ । इन्टरनेट एक्सप्लोरर भन्दा माइक्रोसफ्ट एज फास्ट ब्राउजर हुनुका साथै बढी सुरक्षित र आधुनिक ब्राउजर पनि हो । साथै, यसले पुराना लिगेसी वेबसाइट तथा एप्लिकेसन समेत सपोर्ट गर्ने हुनाले मूख्य चासोको समेत सम्बोधन भएको छ ।

 कुनैबेला एकाधिकार, अहिले विस्मृति

विन्डोज ९५ को हिस्साको रुपमा सन् १९९५ मा इन्टरनेट एक्सप्लोररले वेब ब्राउजरको बजारमा डेब्यु गरेसँगै छोटो समयमा ठूलो लोकप्रियता हासिल गर्यो । इन्टरनेट एक्सप्लोरर आएसँगै नेटस्केप नेभिगेटरको अस्तित्व समाप्त भयो र सन् २००० को दशकको सुरुवाती चरणमा यसले वेब ब्राउजरको दुनियामा एकाधिकार कायम गर्यो । सन् २००० मा वेब ब्राउजरको जगतमा इन्टरनेट एक्सप्लोररको हिस्सा ९५ प्रतिशत थियो ।

तर वेब ब्राउजरमा नयाँ अन्वेषण गर्न माइक्रोसफ्ट असफल रह्यो । जसको फलस्वरुप ५ वर्षसम्म लगातार प्रयोगकर्ताहरुले इन्टरनेट एक्सप्लोरर ६ प्रयोग गरिरहन बाध्य भए । इन्टरनेट एक्सप्लोररको नयाँ भर्सन नआएसँगै प्रयोगकर्ताहरु दिक्क भए साथै इन्टरनेट एक्सप्लोरर भाइरस आक्रमणको पर्यावाची नै बन्यो । यसमा सेक्योरिटी समस्या देखा पर्नुका साथै प्रविधि पनि आउटडेटेड बनिसकेको थियो ।

यसैबीचमा सन् २००६ मा माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर ७ ल्यायो, तर त्यतिबेला सम्म ढिलो भैसकेको थियो । बजारमा फायरफक्स ब्राउजरको लोकप्रियता बढिरहेको थियो । अनि विस्तारै गुगलको क्रोम ब्राउजरले सबैलाई पछि पार्न सफल भयो ।

सन् २०११ मा आधुनिक ब्राउजरको रुपमा इन्टरनेट एक्सप्लोरर ९ ल्याएर माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररलाई पुनः ब्युँताउने प्रयास गर्यो । तर विडम्बना अझैपनि पनि इन्टरनेट एक्सप्लोररले एक्सटेन्सन सपोर्ट गर्दैन, विन्डोज बाहेकका डिभाइसमा उपलब्ध छैन र अन्य डिभाइसमा डिफल्टरुपमा सिन्क्रोनाइजेसन हुँदैन ।

माइक्रोसफ्टले अहिले आएर बुझेको छ कि वेब ब्राउजरका लागि इन्टरनेट एक्सप्लोरर उपयुक्त छैन ।

गत अगष्टमा माइक्रोसफ्टले भनेको थियो : ‘सन् २०१३ देखि प्रयोगकर्ताले इन्टरनेट एक्सप्लोरर चलाइरहेका छन्, जतिबेलाको इन्टरनेट वातावरण अहिलेको जस्तो अत्याधुनिक थिएन ।’ त्यसयता नयाँ माइक्रोसफ्ट एज जस्ता ओपन वेब स्टान्डर्ड तथा नयाँ ब्राउजरहरु आइसकेको छन् जसले अनलाइन अनुभवलाई उत्कृष्टता तथा नवीनता प्रदान गरिरहेका छन् ।

त्यसैले पछिल्ला ५ वर्ष माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोररको अन्त्य गर्ने असफल प्रयास गर्दै आयो । यद्यपि माइक्रोसफ्टले सन् २०१५ मा पूर्ण नयाँ ब्राउजरको रूपमा माइक्रोसफ्ट एज ल्याएको थियो । तर एजले वास्तवमा इन्टरनेट एक्सप्लोररलाई विस्थापित गरेन । अहिलेपनि विन्डोज कम्प्युटरमा एजसँगै इन्टरनेट एक्सप्लोरर पनि प्रिइन्स्टल्ड हुन्छ ।

सिएननबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment