Comments Add Comment

गाउँमा संक्रमण फैलिसक्यो, परीक्षणको दायरा बढाउनुपर्छ

८ जेठ, गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ स्वास्थ्यकर्मीको टोलीसहित गत मंगलबार गोरखा हानिए । श्रेष्ठसँगै डा. शिशिर देवकोटाको नेतृत्वमा दुईजना चिकित्सक, दुई ल्याबतर्फका कर्मचारी र एक स्वास्थ्यकर्मी थिए । कोभिड–१९ संक्रमण फैलिएको विभिन्न गाउँमा पुगेर उनीहरूले सम्भावित संक्रमितहरूको एन्टिजेन परीक्षण गरे ।

पालुङटार नगरपालिकाको आँपपिपल अस्पतालबाट परीक्षण सुरु गरिएको थियो । सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट, शहीद लखन र भीमसेन थापा गाउँपालिकाको विभिन्न ठाउँमा स्थानीयको एन्टिजेन परीक्षण गरिएको नेता श्रेष्ठले बताए ।

विभिन्न ठाउँमा गरी कुल ५२१ जनाको एन्टिजेन परीक्षण भएको र उनीहरूमध्ये ९७ जनामा कोरोना पोजेटिभ देखिएको उनले जानकारी दिए । एन्टिजेन परीक्षण मात्र नभई विभिन्न स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य सामग्री पनि वितरण गरिएको उनको भनाइ छ ।

स्वास्थ्य संस्थाका कर्मचारीलाई एन्टिजेन परीक्षणको विधि र संक्रमितका लागि परामर्श र औषधि प्रयोगको बारेमा समेत सहजीकरण गरिएको उनी बताउँछन् । उनको नेतृत्वमा आएको चिकित्सक टोली बिहीबार राति काठमाडौं फर्किएको छ ।

गाउँमा कोभिड संक्रमणको अवस्था कस्तो छ भन्ने जिज्ञासामा चिकित्सक टोलीको नेतृत्व गरेर आएका डा. शिशिर देवकोटालाई सोधेका थियौं । अनलाइनखबरलाई उनले यसरी बताए :

हामीले लिएको स्याम्पलमा कतै ३० प्रतिशत पोजेटिभ पायौं । कतै ४० प्रतिशत पोजेटिभ देखिनु भनेको गाउँभित्र पनि संक्रमण फैलिएको छ भन्ने पुष्टि हो । मानिसहरूको आवतजावत कम हुने गाउँहरूमा पनि ३० देखि ४० प्रतिशतमा संक्रमण देखिनु भनेको भयावह अवस्था हो ।

कोरोना संक्रमण गोरखाको गाउँगाउँ पुगिसक्यो । काठमाडौंमा बसेर डाटा हेर्दा काठमाडौंमा मात्र संक्रमण छ, गाउँमा छैन होला भन्ने लाग्थ्यो ।

तर गोरखाको गाउँमा आएर हामीले जब स्क्रिनिङ र एन्टिजेन परीक्षण गर्दा पोजेटिभ केसहरू भेट्यौं । हामीले लिएको स्याम्पलमा कतै ३०/४० प्रतिशत पोजेटिभ पायौं, यो भनेको गाउँमा संक्रमण फैलिएको छ भन्ने पुष्टि हो । मानिसहरूको आवतजावत कम हुने गाउँहरूमा पनि ३० देखि ४० प्रतिशतमा संक्रमण देखिनु भनेको भयावह अवस्था हो ।

संक्रमितहरूलाई ज्वरो आएको, श्वासप्रश्वासमा गाह्रो भएको, अक्सिजन अभाव भएको समस्या देख्यौं । अझ सबैभन्दा बढी समस्या त पीसीआर परीक्षणका लागि स्वाब संकलन भएकाहरूको रिपोर्ट आउन कम्तीमा एक हप्ता लाग्ने, अनि रिपोर्ट नआउँदासम्म शंकास्पद व्यक्ति गाउँमा घुम्ने, अरुसँग घुलमिल हुने हुँदा संक्रमणको दर बढेको देखिन्छ ।

पीसीआर रिपोर्ट ढिलो आउँदा संक्रमणका बिरामीलाई निमोनिया बढेर श्वासप्रश्वासमा गाह्रो हुने अर्को समस्या देखियो । एन्टिजेन गर्दा तत्काल रिपोर्ट आउने र संक्रमित पुष्टि भएमा उपचारका लागि पनि सहज हुने भयो ।

त्यसैले हामीले एन्टिजेन गरेका हौं । एन्टिजेन गर्नका लागि स्वास्थ्य संस्थामा तालिम प्राप्त जनशक्ति पनि अभाव देखियो । हामी पुगेको ठाउँमा तालिम पनि दियौं ।

गोरखामा देखिएको महामारी नियन्त्रणका लागि स्क्रिनिङ र एन्टिजेन परीक्षणको दायरा बढाउनुपर्छ । लकडाउनलाई प्रभावकारी बनाउन पनि जरुरी छ । किनकि जमघट हुने, जुवातास खेल्ने, भोजभतेर गर्ने कामहरू रोकिएको छैन । घरको ढोका लागेको छ तर मान्छेभित्र होइन बाहिर छन् । यसले संक्रमण फैलिएर महामारीलाई निम्त्याउँछ ।

अभियानमा गृह जिल्ला गोरखा आएका नेता श्रेष्ठसँग पनि हामीले कुराकानी गर्‍यौ । गोरखा आउनुको उद्देश्यबारे अनलाइनखबरको जिज्ञासामा उनले यसरी बताए :

अहिले कोरोना महामारी देशभर फैलिएको छ । यो महामारीबाट जनताको जीवन रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो । दोस्रो लहरको कोरोना जुन ढंगले बढिरहेको छ यसमा सरकारले ठीक ढंगले काम गर्न नसकेका कारण जनताको जीवनमा ठूलो खतरा उत्पन्न भएको छ ।

हामीले आफ्नो कर्तव्य निर्वाह गर्नु आवश्यक हुन्छ । त्यही आवश्यकतालाई महसुस गरेर मैले कोभिड भोलेन्टिएर सर्भिसमार्फत काठमाडौंमा पनि सेवा पुर्‍याइरहेको छु । पहिलो लहरमा पनि हामीले सहयोग गरेका थियौं र अहिले दोस्रो लहरमा पनि काठमाडौंमा एम्बुलेन्सको रुपमा अक्सिजन सिलिण्डरसहितको गाडी प्रयोग गरिरहेका छौं ।

परीक्षणको प्रक्रियामा सरकारले ढिलाइ गरिरहेको छ । पीसीआर परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा थप समस्या उत्पन्न भएको छ । आइसोलेसन सेन्टरहरू बनेका छैनन् ।

फोनकै भरमा पीसीआर परीक्षण गर्न चाहनेलाई त्यो सेवा उपलब्ध गराएका छौं । गोरखामा पनि संक्रमण दर बढ्न थाल्यो भनेपछि म चिकित्सक टोलीसहित गृह जिल्ला आएँ । पाँचवटा काम गर्ने लक्ष्यका साथ हामी आएका थियौं । हामीले त्यो पूरा गर्‍यौं ।

एउटा स्थलगत रुपमै गएर शंकास्पद व्यक्तिहरूको एन्टिजेन परीक्षण गर्‍यौं । दोस्रो संक्रमण पोजेटिभ देखिएकाहरूलाई आवश्यक परामर्श र औषधि उपलब्ध गराइयो । तेस्रो हामीले यहाँका  स्वास्थ्यकर्मीहरूलाई संक्रमितलाई कसरी परामर्श गर्ने भन्ने बारेमा सहजीकरण गर्‍यौं र ल्याबका स्वास्थ्यकर्मीहरूलाई एन्टिजेन परीक्षण गर्ने विधिबारेमा पनि सिकायौं ।

स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवीलगायत सरोकारवालासँग समग्र परिस्थितिको छलफल गर्‍यौं । हामीले विभिन्न स्वास्थ्य संस्थामा आवश्यक स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरेका छौं । परीक्षणको प्रक्रियामा सरकारले ढिलाइ गरिरहेको छ । पीसीआर परीक्षणको रिपोर्ट आउन ढिलाइ हुँदा थप समस्या उत्पन्न भएको छ । आइसोलेसन सेन्टरहरू बनेका छैनन् । गाउँमा जनचेतनाको कमी छ । जनचेतना फैलाउनका लागि मैले सरोकारवाला र पार्टीका कार्यकर्ताहरूलाई निर्देशन समेत दिएको छु ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment