Comments Add Comment

कोरोना महामारीमा विवाह : नवदुलहीले २८ दिनमै पति गुमाइन्

८ जेठ, विराटनगर । झापाको गौरादह नगरपालिका–४ खङ्टाका ३३ वर्षीय सन्तोष ताजपुरियाको गौरादह–३ की २५ वर्षीया युवतीसँग वैशाख १०  गते मागी विवाह भयो । उनीहरुको विवाह हुँदै गर्दा कोरोना महामारीको दोस्रो लहरले छोपिसकेको थियो । विवाहमा सतर्कता अपनाइयो । तर पर्याप्त भएन । विवाहको रौनक नसकिंदै बिहेघरका सदस्यहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखियो ।

लक्षण देखिएपछि वडा कार्यालयले परिवारका चार सदस्यको स्वाब परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आयो । पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि बेहुलाकी आमाको मृत्यु भयो । आमाको मृत्यु भएको भोलिपल्ट बेहुला अस्पताल भर्ना भए । ‘२० गते आमा र दुई छोराको रिपोर्ट पोजेटिभ आयो,’ वडाध्यक्ष मणिन्द्र कार्की भन्छन्, ‘वैशाख २३ गते आमाको मृत्यु भयो, आज बेहुलाको ।’

आमाको मृत्यु भएको १६ दिनपछि सन्तोषको मृत्यु भएको हो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उनको शनिबार दिउँसो १२:४५ बजे मृत्यु भएको हो । उपचारका क्रममा उनको मृत्यु भएको कोभिड–१९ उपचार केन्द्रका प्रमुख बैजनाथ साहले जानकारी दिए । उनका अनुसार मृतकमा कुनै दीर्घरोग थिएन ।

नवदुलही सुष्मा र दाजु शम्भुले कोरोनालाई जितेका छन् । परिवारका तीनजना कोशी अस्पतालमा भर्ना भएका थिए । संक्रमणमुक्त भएका दुवै जनाको डिस्चार्ज गरिएको साहले जानकारी दिए । श्रीमतीको दुई दिन अघि डिस्चार्ज भएको थियो । दाजुको भने शनिबार नै डिस्चार्ज भएको हो ।

स्थानीय सामाजिक अगुवा आनन्द सुब्बाका अनुसार परिवारका कान्छा छोरा सन्तोषको कदमगाछीकी किशोरीसँग विवाह भएको थियो । सुब्बा पनि विवाहमा सहभागी भएका थिए । ‘छिमेकी भएका नाताले विवाहमा सतर्कता अपनाएर म पनि सहभागी भएँ,’ उनले भने, ‘विवाहमा डेढ–दुई सय जति मान्छे सहभागी थिए होलान् ।’

सुरुमा बिहेघरमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बेहुलाकी आमाको दमकको एडभान्स अस्पतालमा मृत्यु भएपछि नगरपालिकाले खङ्टा गाँउलाई सिल ग¥यो । ‘हामीले ८३ जनाको कन्ट्याक ट्रेसिङ तयार गरेका थियौं, तीमध्ये नजिक रहेका ४२ जनाको पीसीआर भयो,’ वडाध्यक्ष कार्कीले भने, ‘कन्ट्याक ट्रेसिङमा परेका ६ जनाको रिपोर्ट पोजेटिभ आयो ।’

उनका अनुसार विवाहको महिना दिन बित्न नपाउँदै बेहुलासहित एकै परिवारको दुईजनाको मृत्युले सबैलाई दुःखी बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment