+
+
Shares

राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाहीको वातावरण बनाउन युवा नेताहरूको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ९ गते ८:१०

९ जेठ, काठमाडौं । विपक्षी गठबन्धनसम्बद्ध युवा संगठनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको वातावरण बनाउन अपील गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह), जसपा, राष्ट्रिय जनमोर्चा र विवेकशील साझा पार्टीका युवा संगठनहरुले संयुक्त विज्ञप्ति निकालेर उनीहरुले राजनीतिक र संवैधानिक हिसाबले राष्ट्रपति र प्रधानमन्त्रीलाई कारबाहीको वातावरण निर्माण गर्न अपील गरेका हुन् ।

उनीहरुले भनेका छन्, ‘पटकपटक संविधानको हत्या गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई यथाशिघ्र कानुनी कठघरामा उभ्याउन माग गर्दछौं । यस्तो अक्षम्य अपराधमा संलग्न भण्डारी तथा ओलीलाई पदमुक्त भइसकेपश्चात समेत कारवाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपिल गर्दछौं ।’

प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक संकट सिर्जना गर्दै देशलाई सिक्किमीकरण गर्न उद्दत रहेको आरोपसमेत उनीहरुले लगाएका छन् । बहुमत सांसदहरुले नयाँ सरकार गठनका लागि विकल्प प्रस्तुत गर्दागर्दै प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको मिति घोषणा गर्नु त्यसैको कडी भएको उनीहरुको आशंका छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सुरुदेखि नै पूर्वाग्रह राख्ने ओलीले संवैधानिक संकट निम्त्याउने आफ्नो प्रयत्नलाई एक कदम अगाडि बढाएका छन् । यो उनको २०७७ पुष ५को असफल संसद विघटनको निरन्तरता मात्र हो,’ विज्ञप्तिमा लेखिएको छ, ‘ओली वास्तवमा नेपाललाई संवैधानिक संकटको व्यवस्था सिर्जना गर्दै सिक्किमीकरणको दिशामा लान उद्यत छन् ।’

‘सबै मिलेर कोभिड–१९ ले निम्त्याउने संकटको निवारण गर्ने समयमा चुनावको नाटक गर्दै चालिएको असंवैधानिक कदमको हामी निन्दा गर्दछौं,’ उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा कांग्रेस सम्बद्ध नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, माओवादी केन्द्र सम्बद्ध वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघ नेपाल (माधव नेपाल समूह)का अध्यक्ष नरेश कुमार शाही, जसपाको समाजवादी युवा संघका अध्यक्ष योगेन्द्र राय यादव, राष्ट्रिय जनमोर्चाको अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरे र विवेकशील साझा पार्टीको युवा संगठनका अध्यक्ष अब्दुस मियाले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

हरेक गैरसंवैधानिक र राष्ट्रघाति कदमको डटेर सामना गर्न उनीहरुले नेपाली युवाहरुलाई आह्वान गर्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?