
११ जेठ, काठमाडौं । मलेसियाको राजधानी सहर क्वालालम्पुरमा दुई रेल एकआपसमा ठोक्किँदा दुई सयभन्दा धेरै मानिसहरु घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार ट्वीन टावरनजिकैको सुरुङमा एउटै ट्याकमा आइरहेका दुई रेल एकआपसमा ठोक्किएका हुन् । सोमबार स्थानीय समयअनुसार राति पौने ९ बजे उक्त दुर्घटना भएको हो ।
स्थानीय जिल्ला प्रहरी प्रमुख मोहम्मद जाइनल अब्दुल्लाहले दुईमध्ये एउटा भर्खरै रेल मर्मत गरेर रोकेर राखिएको र अर्को रेलमा भने २१३ यात्रुहरु सवार रहेको जानकारी दिए । घाइतेमध्ये ४७ जनाको अवस्था गम्भीर देखिएको अब्दुल्लाहले बताए ।
यात्रुवाहक रेल स्वचालित रेल थियो भने खाली रहेको रेल परम्परागत रेल थियो । अहिले यो घटनाको विषयमा अनुसन्धान भइरहेको अब्दुल्लाहले बताए । अपरेसन नियन्त्रण केन्द्रबाट भएको गलत सूचनाको अनुसार यो दुर्घटना भएको हुन सक्ने उनको भनाइ छ । अहिलेसम्म दुई रेलहरु किन फरक फरक दिशातर्फ एउटै ट्र्याकमा हिडिँरहेका थिए भने स्पष्ट भएको छैन ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4