+
+
Shares

लघुवित्तको सेयर किन्न बैंकहरुलाई बन्देज

किनेको भए पुसभित्रै बिक्री गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ११ गते २३:०२

११ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्त वित्तीय संस्थाहरुको सेयर किन्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन जारी गर्दै वाणिज्य बैंकहरु, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई लघुवित्तको सेयर किन्न बन्देज लगाएको हो ।

लघुवित्तको सेयर (१० जेठ, २०७७) सोमबारसम्म किनिसकेको भए आगामी पुस मसान्तभित्रै बिक्री गरिसक्न समेत निर्देशन दिएको छ । राष्ट्र बैंकले पहिलो पटक यस्तो बन्देज लगाएको हो ।

यस अघि बैंक तथा वित्तीय संस्थाहरुले सहजै सेयर किनबेच गरिरहेका थिए । अहिले सञ्चालनमा रहेका अधिकांश जसो बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्तमा लगानी गरेका छन् । संस्थापक सेयरकाे हकमा भने याे व्यवस्था लागू नहुने राष्ट्र बैंकले बताएकाे छ ।

यसैगरी अन्य कम्पनीहरुको सेयर पनि छोटो समयका लागि लगानी गर्न बैंकहरुले नपाउने भएका छन् । ‘सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ’ निर्देशनमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।’

निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन् ।

तर, यसअघि १० जेठसम्म लगानी गरेका सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न यस व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैंकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?