Comments Add Comment

बाँकेको कोभिड अस्पतालमा खाली हुन थाले बेड

११ जेठ, काठमाडौं । बाँकेका अस्पतालमा कोभिड–१९ संक्रमितको चाप घट्दै गएको छ । चाप घटेसँगै अस्पतालमा कोरोना संक्रमितलाई उपचारका लागि राखिने बेड खाली हुन थालेको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै अस्पतालका बेडहरु भरिभराउ भएका थिए । तर सोमबारदेखि भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, वेस्टर्न अस्पतालमा (सर्जिकल बेड) र युनाइटेड अस्पतालमा कोभिडका बेड खाली हुन थालेका हुन् । सोमबार यी अस्पतालहरुमा ५८ बेड खाली भएका थिए ।

स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठका अनुसार मंगलबार साँझ ७ः१० बजेसम्म भेरी अस्पतालको कोभिड वार्डमा २७, नेपालगञ्ज मेडिकल कलेजमा २७, वेस्टर्न अस्पतालमा १३ र युनाइटेड अस्पतालमा ५ गरी कुल ७२ बेड खाली भएका छन् ।

यसअघि सोमबार दिउँसो २ बजेसम्म भेरी अस्पतालमा ११, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २९, वेस्टर्न अस्पतालमा १३ र युनाइटेड अस्पतालमा ५ बेड खाली भएका थिए ।

भेरी अस्पतालमा २०० बेडको क्षमता भएपनि मंगलबार १७० जना संक्रमित उपचाररत छन् । नेपालगञ्ज मेडिकल कलेजमा १३० बेड क्षमता रहेपनि मंगलबार १०२ जना संक्रमित उपचाररत छन् ।

वेस्टर्न अस्पतालमा (सर्जिकल बेड) १५ बेड रहेकोमा १० जना र युनाइटेड अस्पतालमा १६ बेड क्षमता रहेकोमा ३ जना मात्र संक्रमित उपचाररत रहेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।

पछिल्लो समय गम्भीर खालका कोरोना संक्रमितको संख्या घट्दै जान थालेपछि अस्पतालहरुमा कोभिड बेडहरु खाली हुँदै गएको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment