Comments Add Comment

काठमाडौंका सिडिओ भन्छन् : पसल खुल्दैन, आपत परे मेयरलाई फोन गर्नुस् !

१२ जेठ, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा कडा बनाए पनि नागरिकले खानै नपाउने अवस्था आउँछ कि भनेर आत्तिनुनपर्ने बताएका छन् ।

बुधबार काठमाडौंको नागढुंगा नाका अनुगमन गर्ने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उनले जेठ १४ देखि २० गतेसम्म निषेधाज्ञा कडा गरेपनि नागरिकलाई समस्या पर्न नदिने बताए ।

खानेकुरा सकिए वडा कार्यालयले राहत वितरण गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । ‘आपत् विपत परे काठमाडौं महानगरपालिकासँग समन्वय गरेर वडा कार्यालयमार्फत् त्यस्तो व्यक्तिहरुलाई राहत उपलब्ध गराउने प्रवन्ध पनि मिलाएका छौँ’ उनले भने, ‘कोही पनि व्यक्ति भोकले मर्नुपर्ने अवस्था हुँदैन । ठाउँठाउँमा दाल, चामल उपलब्ध गराउने प्रबन्ध पनि गर्छौं ।’

समस्यामा पर्नेले सम्बन्धित वडा तथा नगरपालिकामा अथवा नेपाल प्रहरीको १०३ नम्बरमा फोन गरेर समस्या राखे समाधान गरिने प्रजिअ पराजुलीले बताए । ‘जुन नगरपालिकाका नागरिक त्यस्तो आपत् विपतमा पर्नुहुन्छ, उहाँहरुको सम्बन्धित वडा अध्यक्ष, नगरपालिकाको मेयरसित सम्पर्क राख्ने व्यवस्था गर्नुभयो भने यो समस्याबाट समाधान हुन्छ’ उनले भने ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा जेठ १४ देखि २० गतेसम्मको निषेधाज्ञामा किराना पसल पनि बन्द हुनेछन् । तर चामल, दाल किन्ने व्यवस्था मिलाउने प्रजिअ पराजुलीले बताए । ‘कुनैपनि नागरिकलाई चामल किन्न, दाल किन्न पाइएन । हामी भोकले मर्ने स्थिति आयो भन्ने अवस्था सिर्जना हुन दिदैनौँ त्यस्तो भ्रममा नपर्न अनुरोध छ’ पराजुलीले भने ।

उनले कोरोना संक्रमणको दर बढेको कारण निषेधाज्ञा गर्नुपर्ने अवस्था आएको भन्दै सर्वसाधारणलाई दुःख दिने मनसाय नराखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment