Comments Add Comment

अष्ट्रेलियाको भिक्टोरियामा एक साता लकडाउन

फाइल तस्वीर

१३ जेठ, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बिहीबार मध्यरातिबाट लागू हुने गरी एक साता लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रणका लागि भन्दै भिक्टोरिया राज्य सरकारले लकडाउनको घोषणा गरेको हो ।

अहिलेसम्म भिक्टोरियामा कोरोनाका २६ नयाँ संक्रमित  फेला परेका छन् । साथै उनीहरुबाट कोरोना संक्रमण सर्न सक्ने १५० स्थानको पहिचान गरिएको छ । भिक्टोरियामा कोरोना संक्रमण देखिएसँगै मानिसहरुमा चिन्ता बढेको छ । गत वर्ष भिक्टोरियामा कोरोना संक्रमण फैलिएसँगै निकै कडा लकडाउन लागू गरेर संक्रमण नियन्त्रण गरिएको थियो ।

भिक्टोरियाका कार्यवाहक प्रिमियर जेम्स मर्लिनोले पछिल्लो समय भिक्टोरियामा भेटिएका संक्रमितमा भारतमा देखिएको भेरियन्ट (बी.१.६१७) पनि देखिएको बताएका छन् । यो भेरियन्ट निकै संक्रामक रहेको उनको भनाइ छ । अहिले भेटिएका संक्रमित ठूला कार्यक्रमहरुमा सहभागी भएको पाइएको छ । ती कार्यक्रममध्ये एक मेलवर्नको स्टेडियममा भएको फुटबल खेल पनि हो ।

मर्लिनोले अझै केही समय पर्खिने हो भने कोरोना महामारी नियन्त्रणभन्दा बाहिर जाने बताएका छन् । अहिले घोषणा गरिएको लकडाउनसँगै अब भिक्टोरियामा अत्यावश्यक काम, किनमेल, शारीरिक अभ्यास, स्वास्थ्य सेवा वा खोप लगाउने बाहेकको कामका लागि बाहिर जान पाइने छैन ।

आवश्यक परेर बाहिर निस्किँदा पनि मास्क अनिवार्य गरिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment