Comments Add Comment

युट्युबमा जथाभावी सामग्री प्रसारण गर्नेलाई कारबाही गर्न माग

१३ जेठ, काठमाडौं । युट्युब च्यानलहरुमा गलत सन्देश जाने खालका तथा पत्रकारिताको मर्म विपरित प्रसारण गर्नेलाई कारबाही गर्न माग गरिएको छ । बिहीबार प्रेस काउन्सिललाई ज्ञापन पत्र बुझाउँदै अनलाइन टिभी पत्रकार संघले यस्तो माग गरेको हो ।

संघको तर्फबाट अध्यक्ष जीवन भण्डारीले काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै युट्युबबाट विकृति फैलाउने गरी प्रसारण गर्नेलाई कारबाही गर्न माग गरे ।

युट्युबलगायतका विभिन्न माध्यमबाट भिडियो सामग्री सम्प्रेषण गर्ने क्रममा अधिकांशले पत्रकारिताको मर्म विपरीत गरेकाले गलत गर्नेलाई कारबाही गर्न र राम्रो गर्नेलाई संरक्षण गर्न पनि ज्ञापनपत्रमा आग्रह गरिएको छ । अनलाइन टिभीका क्षेत्रमा यसअघि पनि विकृति हुँदै आएकामा पछिल्ला दिनमा ‘प्र्या‌क’का नाममा थप विकृति देखिन थालेको भन्दै संघले काउन्सिलको ध्यानकर्षण गराएको हो ।

केही युट्युब च्यानलबाट अति उच्छृङ्खल, अशिष्ट, अपाच्य र सञ्चारमाध्यमको सामान्य सिद्धान्तविपरीतका सामग्री प्रसारण भइरहेको संघले जनाएको छ । संघले पत्रकारिताको दायरामा रहेका सञ्चारमाध्यमलाई पत्रकारितासम्बन्धी कानून र त्यसभन्दा बाहिरकालाई अन्य कानूनअनुसार कारबाही गर्न–गराउन काउन्सिललाई आग्रह गरेको छ ।

संघको ज्ञापनपत्र बुझेपछि काउन्सिलका कार्यबाहक अध्यक्ष बुढाथोकीले युट्युबमा भइरहेको विकृतिले सीमा नाघेको भन्दै कारबाही प्रक्रिया अब तीव्र पारिने बताएका छन् । उनले पत्रकार आचारसंहिता मान्नुपर्ने आफूहरुको पहिलो शर्त हुने र नमान्नेप्रति कुनै सहानुभूति हुनै नसक्ने स्पष्ट पारे ।

अनलाइन टिभी सञ्चालन गर्दै आएकाहरुलाई काउन्सिलले सूचीकृत हुन आग्रह गर्ने र सूचीकृत हुन आउनेलाई आचारसंहिताको दायरामा ल्याएर परिस्कृत गर्दै लैजाने योजना बनाएको पनि बुढाथोकीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment