News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई नियुक्त गरेको छ ।
- सूचना तथा सञ्चार मन्त्रालयको सिफारिशमा मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
- अध्यादेश जारी भएपछि यसअघिका अध्यक्ष कुमार शर्मा आचार्यसहितका सबै पदाधिकारी पदमुक्त भएका थिए ।
२९ असार, काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठलाई मनोनीत गरेको छ ।
सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले काउन्सिलको रिक्त पदमा श्रेष्ठलाई मनोनीत गरेको हो ।
यसअघि वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य काउन्सिलका अध्यक्ष थिए । सरकारले अध्यादेश जारी गरेपछि उनी सहितका सबै पदाधिकारीहरू पदमुक्त भएका थिए ।
सञ्चारमाध्यमहरूको नियमन गर्ने प्रेस काउन्सिल सरकार र सञ्चारमाध्यम बीच समन्वय गर्ने निकाय मानिन्छ ।
श्रेष्ठ पछिल्लो समय नेपालफ्याक्टचेकको सम्पादकको रूपमा कार्यरत थिए ।
पत्रकारिता तथा आमसञ्चारमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका श्रेष्ठ पछिल्ला वर्षहरूमा मिथ्या सूचनाहरूको तथ्यजाँच र प्रशिक्षकको काम गरिरहेका व्यक्ति हुन् । मिडिया नीतिका जानकार उनले सिएमआर नेपाल जर्नालिजम एकेडेमीको प्रमुख प्रशिक्षकका रूपमा पत्रकारहरूलाई डिजिटल अनुसन्धान, डाटा पत्रकारिता र एआईको प्रयोग बारे तालिम दिंदै आएका थिए ।
सिटी टाइम्स, अप्सरा साप्ताहिक र स्पेस टाइम दैनिक जस्ता छापा माध्यमहरूमा काम गरेका उनी नेपालमा इन्टरनेटको प्रयोग शुरू हुन थालेपछि डिजिटल पत्रकारिताको अभ्यासमा लागेका थिए ।
अनलाइन समाचार पोर्टल परेवा डटकम र पहिलो नेपाली ब्लग माइसंसारको सुरुआत पनि उनले गरेका थिए । उनी अहिले पनि माइसंसारमा ‘सालोक्य’को नामबाट ब्लगिङ गर्छन् ।
उनीसँग नागरिक न्यूज, अन्नपूर्ण पोस्ट् डटकम, पहिल पोस्ट डटकममा सम्पादकीय नेतृत्व गरेर काम गरेको अनुभव छ ।
प्रतिक्रिया 4