+
+
Shares

रिलिजको ४८ घन्टामै ओटीटीबाट किन हटाइएको थियो ‘सतलुज’?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १८:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पञ्जाबी गायक दिल्जीत दोसान्झ अभिनित फिल्म सतलुज सेन्सर बोर्ड र भारतीय सरकारसँगको विवादका कारण चर्चामा छ ।
  • राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सूचना प्रविधि ऐनको धारा ६९ ए प्रयोग गरी सरकारले ओटीटी प्लेटफर्मबाट फिल्म हटाएको छ ।

पञ्जाबी गायक तथा अभिनेता दिल्जीत दोसान्झ अहिले चर्चाको केन्द्रविन्दुमा छन् । विशेषत भारतीय सञ्चार माध्यममा । किनकि उनी अभिनित ‘सतलुज’ अहिले भारतीय सिने जगतमा ठूलो विवादको केन्द्र बनेको छ ।

यो फिल्मको निर्देशन हनी त्रेहानले गरेका हुन् । सन् १९९० को दशकको पञ्जाबको उग्रवादकालीन घटनालाई फिल्मले आधार बनाएको छ । विशेषत मानव अधिकारकर्मी जसवन्त सिंह खालडाको जीवनमा रहेर यो फिल्म बनाइएको हो ।

खालडाले गरेको अनुसन्धान – पञ्जाब पुलिसद्वारा कथित रूपमा हजारौं व्यक्तिको गैरन्यायिक हत्या र गोप्य रुपमा शव जलाइएको कुरा – फिल्मको मुख्य विषय हो । तर रिलिज हुनुअघि र पछि दुवै अवस्थामा नै यो फिल्मले सेन्सर बोर्ड, सरकार र राजनीतिक दलहरूबीच बहस निम्त्याएको छ।

विवादको सुरुवात

यो फिल्मको निर्माण २०२२ मा सकिएको थियो । त्यसबेला फिल्मको नाम घल्लुघारा थियो । उक्त नामलाई लिएर भारतको सेन्सर बोर्ड सेन्टर बोर्ड अफ फिल्म सर्टिफिकेसन (सीबीएफसी)ले आपत्ति जनायो । घल्लुघारा शब्द इतिहासमा शिख समुदायमाथि भएका नरसंहार र ठूला हत्याकाण्डलाई जनाउन प्रयोग हुन्छ । त्यही कारण सीबीएफसीले त्यसमा आपत्ति जनाएको थियो ।

त्यससँगै सेन्सर बोर्डले नामसँगै फिल्मका दृश्यहरूमा समेत आपत्ति जनायो । फिल्ममा २१ कट्स अर्थात् २१ ठाउँको दृश्य हटाउनुपर्ने भन्ने आदेश पनि थियो । नाम परिवर्तन गर्न निर्माताहरू तयार भएता पनि कट्समा सहमत भएनन् । त्यसपछि निर्माताहरू पक्ष मुब्बाई हाई कोर्टमा गयो ।

कोर्टले सिधै फिल्म पास गरिदिएन । केस सुनेर फिल्मलाई फेरि सीबीएफसीमै पठायो । त्यसपछि त्यहाँ मामिला सुल्टाउन रिभाइजिङ कमिटीमा बन्यो । तर, कमिटिले कट्स अर्थात् हटाइने दृश्यको संख्या थपेर १२० माथि पुर्‍यायो ।

सँगै त्यसबेला प्रस्ताव गरिएको ‘पञ्जाब ९५’ नाम पनि हटाउन भनियो । यस पटक पनि नाम फेर्न निर्माताहरू सहमत भए । दृश्य हटाउन सहमत भएनन् ।

मुख्यत: हटाउनुपर्नेमा पात्रको नाम परिवर्तन, पुलिस सम्बन्धी दृश्य, भारतीय भण्डाका सिन र केही संवादहरू थिए । यही भएर निर्माताले फिल्म थिएटरमा देखाउने प्रमाणपत्र पाएनन् । फिल्म हलमा रिलिज हुन सकेन । सँगै टोरोन्टो इन्टरनेसनल फिल्म फेस्टिभलमा पनि सहभागी हुन पाएन ।

निर्माताले अनकट भर्सन नै राख्ने अडान लिइरहे । अन्ततः तेस्रो पटक फिल्मको नाम फेरिर सतलुज राखिने भयो । त्यसपछि गत ३ जुलाई २०२६ मा जी फाइभ नामक ओटीटी प्लेटफर्मबाट चुपचाप फिल्म रिलिज गरियो ।

४८ घण्टाको रिलिज

जी फाइभमा रिलिज गरिएको ४८ घण्टाभित्रै (५ जुलाई) फिल्म हटाउन सरकारले निर्देशन दियो । भारतीय सञ्चार माध्यमहरूका अनुसार इन्फर्मेसन टेक्नोलोजी एक्टको धारा ६९ ए प्रयोग गरेर ओटीटीबाट फिल्म हटाएको हो । उक्त धारामा राष्ट्रिय सुरक्षाबारे उल्लेख छ ।

फिल्मले पञ्जाब पुलिसलाई एकतर्फी रूपमा क्रूर देखाएको, आतंकवादको पक्षलाई कम आँकेको जस्ता कुरा भएकाले सरकारले फिल्मको ओटीटी प्रदर्शनी रोकेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

यद्यपि ओटीटी प्लेफर्मबाट फिल्म हटाइए पनि पञ्जाबका विभिन्न गाउँहरूमा कम्युनिटी स्क्रिनिङ चलिरहेको छ । यसका साथै त्यहाँको एएपी र सिरोमनी एकाली दल जस्ता राजनीतिक पार्टीहरूले फिल्म हटाउने निर्णयको विरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?