Comments Add Comment

‘यो वर्ष पनि सलहका झुण्ड नेपाल आउन सक्छन्’

सलहविरुद्ध पूर्वतयारी थालिँदै

१३ जेठ, काठमाडौं । गत हप्ता ‘ताउते चक्रवात’ आएपछि पाकिस्तान र भारतका मुरुभूमिमा सलह किराको वंश वृद्धि हुँदैछ । योसँगै नेपालमा फेरि सलहको झुण्ड आउन सक्ने खतरा रहेको भन्दै सतकर्तासहित पूर्वतयारी थालिने भएको छ।

विश्व खाद्य कार्यक्रमले प्रकाशित गर्ने सलहबारेको नियमित रिपोर्ट अध्ययन गरेपछि विज्ञहरुले गत वर्षजस्तै नेपालमा सलह आउनसक्ने जोखिम रहेको ठहर गरेका छन् ।

तत्कालको मौसमी अवस्था हेर्दा सलह आउन सम्भावना नदेखिए पनि कुनै पनि बेला हुनसक्ने मौसमी बदलावले सलह आउनसक्ने उनीहरुको चेतावनी छ । ताउते आँधिपछि यो क्षेत्रमा ‘यास् चक्रवात’ सक्रिय भएकाले मौसमी परिवर्तनको सम्भवना छ । त्यसले सलहलाई नेपाल ल्याइपुर्‍याउने जोखिम हुने विज्ञको मत छ ।

प्लान्ट क्वारिन्टन तथा विषादि व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाइँका अनुसार सबै प्रदेश सरकारलाई सलहको प्रकोप आउनसक्ने जोखिम रहेकाले पूर्वातयारी गर्न आग्रह गर्दै पत्राचार गर्ने तयारी भएको छ । प्रदेशहरुलाई आवश्यक विषादि, यन्त्र, उपकरणसहित स्थानीय क्षेत्रमा सतर्क अवस्थामा बस्न भन्दै सचेत गराउन लागिएको हो ।

‘भारतको राजस्थान र पाकिस्तानको मरुभूमि क्षेत्रमा ताउते आँधिपछि वर्षात् भएको छ , यसले त्यहाँ सलहको प्रजनन प्रक्रियालाई सघाएको छ, अब सलहको वंश वृद्धि भएर प्रकोपका रुपमा फैलन सक्ने अनुमानमा आधारित भएर पूर्वतयारी थाल्न लागेका हौं,’ हुमागाइँले भने,’तर, अहिलेसम्म सलह आउने खालको स्पष्ट परिदृश्य देखिएको भने छैन ।’

अहिले अफि्रकाको इथोपिया, सोमालिया लगयतका देशमा सलहको वंश वृद्धि भइरहेको छ । ती सलह साउदी अरेबिया र यमन हुँदै पाकिस्तानतर्फ आउने अनुमान पनि छ । अहिले भारतकै राजस्थान र त्यससँगै जोडिएको पाकिस्तानी मरुभूमि क्षेत्रमा पनि सलहको नयाँ वंश देखिएको छ ।

नयाँ वंशहरु वृद्धि हुँदै गएमा नेपालमा फेरि सलह आउने अनुमान विज्ञहरुले पनि गरेका छन् । अहिलको अवस्था विश्लेषण गर्दा अपि्रल महिनाको अन्तिम वा त्यसभन्दापछि सलहको झुण्डहरु नेपालतर्फ आउनसक्ने जोखिम छ ।

‘हामी सलहको वंश वृद्धिसहित भारत र पाकिस्तानले सलहविरुद्ध गरेका तयारीबारे जानकारी लिइरहेका छौं,’ हुमागाइँले भने,’बाहिर चर्चा गरिएजस्तो तुरुन्तै नेपालमा सलह आइहाल्ने अवस्था देखिँदैन । तर पनि सचेत भएर पूर्वातयारी गर्नुपर्छ ।’

हावाको बहावको दिशा र गतिले पनि सलह आउने/नआउने तय गर्ने भएकाले यसलाई निरन्तर निगरानी गरिरहेको उनको दावी छ ।

भारतमा सलहको प्रकोप आउन सक्ने भन्दै केही प्रदेशले गाउँ तथा नगरहरुमा पूर्वतयारीका लागि ‘अलर्ट’ जारी गरिसकेका छन् । भारत र पाकिस्तानले प्रभावकारी नियन्त्रण गर्न सकेमा नेपालमा सलह आइनपुग्ने अनुमान गरिएको छ ।

तर, सरकारी अधिकारीले नआउने दावी गर्दागर्दै ६० वर्षपछि २०७७ असार १३ गते नेपालमा सलह किरा प्रवेश गरेको थियो । राजस्थानमा सलहको संख्या वृद्धि भइरहेको भन्दै कीट विज्ञ डा. समुन्द्रलाद जोशी अहिले एकीन गरेर नेपाल आउन सक्छ वा सक्दैन भन्न नसकिने बताउँछन् ।

सलहको वंश कति वृद्धि हुन्छ, मौसम कस्तो हुन्छ र हावाको वहाव कुन दिशामा बहन्छ भन्ने आधारमा मात्रै नेपालमा आउने/नआउने तय हुने उनी बताउँछन् ।

‘अहिलेसम्मको अवस्था हेर्दा त नेपालमा सलह आइपुग्ने देखिँदैन,’ उनी भन्छन्,’तर, हावा बहने दिशा एक्कासी परिवर्तन नेपालमा आइपुग्न असम्भव पनि हैन ।’

एक किलोमिटरमा फैलिने सलहको एक दिनमा ३५ हजारलाई पुग्ने खाना सकाउने क्षमता राख्ने अध्ययनले देखाएको छ । कृषिबालीमा बसेर त्यसलाई खाने र नष्ट गर्ने भएकाले यो कृषकका लागि हानिकारक कीट मान्छि ।

विज्ञ डा. जोशीले गत वर्ष पनि हावाको दिशाका आधारमा विश्व खाद्य कार्यक्रमले नै नेपालमा सलह नआउने प्रक्षेपण गरेपनि मौसमी फेरबदलले एक्कासी सलह नेपाल छिरेको स्मरण गरे । नेपालबाट छिरेको सलह मनाङ, मुस्ताङ हुँदै तिब्बतसम्म पुगको भन्दै उनले अहिले पनि आउँदैन भनेर ठोकुवा गर्न नसकिने बताए ।

‘आउनसक्ने सम्भावनालाई हेरेर पूर्वतयारी गर्दा केही बिग्रन्न,’ उनी भन्छन्,’यसले कति संख्यमा वंश बढाउँछ र हावाको बहाव कता हुन्छ भन्ने कुराको पूर्वानुमान कठीन हुन्छ ।’

नेपालमा गत वर्ष २० लाख वटासम्मको सलहको झुण्ड आएको थियो । अन्य थुप्रै साना-साना झुण्डहरु पनि आएका थिए । जसले विभिन्न कृषिबालीमा ठूलो क्षति पुर्‍याएका थियो ।

रासायनिक र भौतिक गरी दुई तरिकाले सलह नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन् । करेसाबारी, नर्सरी लगायतका सानो क्षेत्रमा झुल/जालीको प्रयोग, ठूलो आवाज, धुँवा आदिको प्रयोगबाट सलहको झुण्डलाई बालीमा बस्नबाट रोक्ने सकिन्छ । सलहलाई पासोमा पारेर संकलन गर्नु पनि नियन्त्रणको अर्को उपाय हुन सक्छ । गत वर्ष पनि धेरै स्थानमा त्यस्तो अभ्यास भएको थियो ।

विषादिको प्रयोग सलह नियन्त्रणको प्रभावकारी उपाय भएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार मालाथिन, ल्याम्डा साइहेलोथ्रिन, क्लोरपाइरिफोस, डेल्टामेथिन लगायतका रसायन छर्केर यसको नियन्त्रण गर्न सकिन्छ । तर, एकैपटक ठूलो क्षेत्रमा छर्नुपर्ने भएकाले यूएलभी (अल्ट्रा लो भोल्युम) को प्रयोग सबैभन्दा प्रभावकारी मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment