Comments Add Comment

अत्यावश्यक वस्तुको ओसारपसारमा दिनभर अवरोध

१४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाइ गरिएपछि शुक्रबार अत्यावश्यक वस्तुको ढुवानीमा प्रहरीले अवरोध गरेको ढुवानीकर्ताले बताएका छन् । प्रहरीले बिहीबार रातिदेखि नै इन्धन र कुखुरा बोकेको सवारी साधन सञ्चालनमा अवरोध गरेको सम्बन्धित व्यवसायी र ढुवानीकर्ताले बताएका छन् ।

काठमाडौं उपत्यकामा मासुका लागि ल्याएको जिउँदो कुखुरा बोकेको गाडी थानकोट नाकामै बिहीबार रातिदेखि बिहान अबेरसम्म रोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । यस्तै खाना पकाउने ग्यासको ढुवानी र वितरणमा पनि प्रहरीले अवरोध पुर्‍याएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।

कुखुरा बोकेको ६० वटा भन्दा धेरै गाडीलाई प्रहरीले नागढुंगा भन्दा तल झ्याप्ले खोलामा रोकेको संघले जनाएको छ । बिहीबार बेलुकीदेखि रोकिएको गाडी बिहान ७ बजेपछि मात्रै प्रहरीले काठमाडौं छिर्न दिएको संघका सचिव देवकुमार गिरीले जानकारी दिए । ‘बिहानै कोल्ड स्टोरमा मासु पुर्‍याउन राति नै गाडीहरु उपत्यका छिर्नुपथ्र्यो तर हार गुहार गरेपछि प्रहरीले बल्ल विहान छिर्न दियो,’ उनले भने ।

प्रहरीले माथिको आदेश भन्दै कुखुरा बोकेको गाडी रोकेपछि व्यवसायीले विभिन्न निकायमा भनसुन गरेका थिए । ‘काठमाडौंका सिडियो र ट्राफिकका एसपीलाई भनेर आज गाडी काठमाडौं भित्रिए पनि भोलि फेरि के हुने हो अन्यौल छ । यो पाराले किसान मर्छन,’ गिरीले भने ।

जिउँदो कुखुरा बोकेको एउटा गाडी दिनभरको घाममा रोकिन परे किसानले ४ लाख रुपैयाँसम्म क्षति ब्यहोर्नुर्निे सचिव गिरीले बताए ।

ग्यास ओसारपसारमा पनि अवरोध

प्रहरीले काठमाडौं भित्रिन लागेका एलपी ग्यासको बुलेट र उपत्यकाको ग्यास वितरणलाई पनि बिहीबार रातिदेखि नै अवरोध गरेको व्यवसायीले बताएका छन् । ग्यास बोकेर काठमाडौं प्रवेश गर्दै गरेका दर्जनौं बुलेट नौबिसेमै रोकिएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए ।

राति ९ बजेपछि मात्रै छोड्ने भन्दै बुलेटहरुलाई रोकिएको भन्दै उनले सरकारको यो पाराले ग्यासको वितरणमा समस्या हुने बताए । ‘दर्जनौं गाडी धादिङमा रोकिएका छन्, ती गाडी नौ बजे आएर उद्योगमा ग्यास अनलोड गर्न नै समस्या हुन्छ यसले ग्यासको अभाव हुनलाई बल पुर्‍याउँछ,’ अध्यक्ष भण्डारीले भने ।

प्रहरीले माथिको आदेश भन्दै उपत्यकाभित्र पनि ग्यास वितरणमा अवरोध गरेको छ । उद्योग र वितरकका कर्मचारीले परिचय पत्र देखाउँदा पनि होल्ड गरिएको भण्डारीले बताए । ‘राजमार्गमा बुलेट रोक्ने, उद्योगमा जाने कर्मचारीलाई दिनभरी पानीमा भिजाएर बाटोमा रोक्ने प्रहरीको रबैयाले उद्योग चलाउनै नसक्ने अवस्था सिर्जना भएको छ,’ अध्यक्ष भण्डारीले भने ।

काठमाडौंमा दैनिक ५० हजार सिलिण्डर ग्यास रिफिल गर्नुपर्ने र त्यसका लागि दैनिक ४० बुलेट उपत्यकामा भित्रिनुपर्ने संघले जनाएको छ ।

निगमका कर्मचारी पनि बाटोमै रोकिए

प्रहरीको अवरोधका कारण अत्यावश्यक इन्धनको वितरणको नियमनकारी निकाय नेपाल आयाल निगमको दैनिक कार्य सञ्चालनमा पनि अवरोध पुगेको छ । शुक्रबार मात्रै उपत्यकाका विभिन्न कार्यालयमा जान हिँडेका ४० भन्दा धेरै कर्मचरीलाई प्रहरीले बाटोमै होल्ड गरेको निगमका प्रवक्ता विनितमणि उपध्ययले बताए ।

‘हाम्रो सेवा प्रवाह अत्यावश्यक हो, हामीलाई कहिल्यै अवरोध हुनु नपर्ने हो, तर फिल्डका प्रहरीले रोके । प्रहरीले दिनभर ४० जना भन्दा बढी कर्मचारीलाई बाटोमा होल्ड गरेको विवरण हामीलाई प्राप्त भएको छ’ प्रवक्ता उपाध्यायले भने ।

दिनभरीको प्रहरी धरपकडले सेवा प्रवाहमै अवरोध भएपछि सहजीकरणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई अनुरोध गरिएको उनको भनाइ छ । ग्यास आयात तथा वितरण गर्ने उद्योगहरुलाई पनि प्रहरीबाट अवरोध भएको गुनासो निगममा आएको उपाध्यायले बताए ।

उद्योग मन्त्रालयले गृहलाई भन्यो : अवरोध नहोस्

अत्यावश्यक वस्तुको आपूर्तिमा असहज अवस्था आएको गुनासो पछि गृह मन्त्रालयलाई सहजीकरण गरिदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार पत्राचार गरेको छ । इन्धन, खाद्य वस्तु ढुवानी तथा अक्सिजन उद्योगका कर्मचारी एवं आयाल निगमको पासको कार्यन्वयन गराउन गृह मन्त्रालयलाई पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीले बताए ।

‘अत्यावश्यक उद्योगको सेवा प्रवाह र ढुवानीमा समस्या आएको गुनासो मन्त्रालयमा आएपछि सहजीकरण गर्न पत्राचार गरेका छौं,’ प्रवक्ता रेग्मीले भने । खाद्य वस्तुको ढुवानीको पास, कर्मचारीको आवागमन, आयल निगमको पासलगायतमा सहजीकरण गर्न गृहलाई भनिएको उनले बताए ।

सिडिओ भन्छन् : अवरोध गरेका छैनौं

अत्यावश्यक सेवा प्रवाहमा कतै पनि अवरोध नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलले दाबी गरे । बिहान देखिएको केही अन्यौल हटाइसकिएको र अत्यावश्यक सेवामा अवरोध नगर्न प्रहरीलाई निर्देशन भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

‘खाद्य वस्तु, इन्धन, ग्यास, पानी, फलफूल तरकारी र मासुको आयातमा अवरोध गरिएको छैन, गरिदैन पनि,’ प्रजिअ पराजुलीले भने । थानकोट नआइपुग्दै रोकिएको ग्यासको बुलेट भने पहिरोका कारण रोकिएको हुन सक्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment