+
+
Shares

विराटनगरमा उद्योगीलाई सुटुक्क खोप, स्थानीय पुगेपछि भागाभाग

हरि अधिकारी हरि अधिकारी
२०७८ जेठ १४ गते १९:२३

१४ जेठ, विराटनगर । शुक्रबार दिउँसो विराटनगर महानगरपालिका– २ तीनपैनी चोकमा रहेको सिटी सिनेमा हल अगाडि निजी सवारी साधनको लाइन थियो । निषेधाज्ञाको समयमा पनि सिनेमा हलभित्र चहलपहल थियो ।

मान्छेको आउजाउ बढेपछि स्थानीयले सोधीखाजी गरे । सोधिखोजी गर्दा पत्ता लाग्यो हल भित्र कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्डको दोस्रो डोज लगाइदैछ । तर सार्वजनिक जानकारी नदिई उद्योगीलाई मात्र बोलाइएको थियो । महामारीमा उद्योगीलाई लुकाएर दोस्रो डोज लगाएपछि स्थानीय वासिन्दा पनि आए । भित्र पुगेर अवरोध गर्न खोजेपछि भागाभाग भयो ।

अवरोध भएपछि मात्रै खोप अभियान चलेको जानकारी पाएको प्रहरीले खोप माग्दै पुगेका स्थानीयलाई सम्झाएर स्वास्थ्यकर्मी र उद्योगीलाई घर पठायो ।

शुक्रबार प्रदेश १ सरकारले एक सय जना उद्योगीका लागि कोभिसिल्डको दोस्रो डोज उपलब्ध गराएको थियो । उद्योगीलाई मात्र सुटुक्क कोरोनाविरुद्धको खोप दिएपछिस्थानीयले अवरोध पनि गरेका हुन् ।

‘जनता उपचार नपाएर मरिरहेका छन्, सरकार सुटुक्क उद्योगीलाई खोप लगाउँदै हिँड्छ,’ सिनेमा हल पुगेका विद्यार्थी नेता ताजिम अन्सारीले भने, ‘ढोका थुनेर पहुँचवालालाई खोप दिएपछि हामीले अवरोध गर्‍यौं ।’

‘सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनरलाई लगाएको भए हामी सरकारलाई धन्यवाद दिन्थ्यौं,’ उनले अघि भने,‘ चुनाव घोषणा गरेर सहयोग गर्ने उद्योगीलाई मात्रै खोप दिएपछि विरोध गर्‍यौं ।’

दोस्रो डोज माग्दै स्थानीय पुग्दा धेरेजसो उद्योगीले खोप लगाइसकेका थिए । पहुँचवालालाई खोप दिएपछिको सिटी सिनेमामा घेराउ गरेको परिवर्तनका लागि हातेमालो संस्थाका अध्यक्ष विनोद चहारले बताए । ‘पहुँच वालालाई पैसाको आधारमा खोप दिइयो,’ उनले भने,‘ गरिब पनि जनता हुन् । सरकारले खोपमा भेदभाव नगरोस् ।’

सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार शुुक्रबार उद्योगी व्यावसायीलाई मुख्यमन्त्री निवासमा खोप लगाउने योजना थियो । तर मुख्यमन्त्री कार्यालयमा पनि शुक्रबार नै दोस्रो डोज खोप लगाइने भएपछि उद्योग संगठनका अध्यक्ष सुयस प्याकुरेलले सिनेमा हल उपलब्ध गराए ।

सिटी सिनेमा हल सञ्चालकमध्ये प्याकुरेल पनि एक हुन् । उनले नै विराटनगरका उद्योगीलाई हल्ला नगरी दोस्रो डोज लगाउन बोलाएका थिए । तर अवरोध भएपछि उनले अनविज्ञता प्रकट गरे ।

‘सिटी सिनेममा भिडभाड थियो भन्ने जानकारी मलाई पनि आयो तर के भयो थाहा भएन,’ उनले भने,‘मैले पनि खोप लगाएको छैन, अरुलाई लगाएको बारे जानकारी भएन ।’

सिटी सिनेमा हलमा खोप अभियान चलेको जानकारी आफूहरुलाई पनि नभएको प्रहरी बताउँछ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्का सर्वसाधारणले हल घेरेपछि मात्र जानकारी पाएको बताउँछन् । उनले भने, ‘सर्वसाधारणले घेरेपछि हामीलाई जानकारी आयो, खोप माग्ने सर्वसाधारणलाई छैन रहेछ भन्दै सम्झाएर पठायौं ।’

मान्छे छानिछानी खोप

नेपाली कांग्रेस प्रदेश १ प्रमुख सचेतक केदार कार्की प्रदेश सरकारले आफ्ना गुटका र सहयोग गर्नेलाई छानीछानी खोप लगाएको बताए ।

‘जनतालाई घरघरमा थुनेर आफ्ना गुटकालाई सरकारले खोप लगाउँदैछ,’ उनले भने,‘जनता उपचार नपाएर मर्दैछन्, सरकार चुनावमा चन्दा दिनेहरुलाई खोप लगाउदैछ ।’ शुक्रबार मुख्यमन्त्री कार्यालयमा एमाले ओली समूहका मान्छेलाई खोप लगाइएको उनले बताए ।

‘आज तीन ठाउँमा खोप लगाइएछ, सबै पहुँचका भरमा मात्रै,’ उनले भने,‘ सरकार भ्रष्ट छ भन्ने अर्काे प्रमाण खोपमा गरेको विभेद पनि हो ।’

 

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?