+
+

डोटी र डडेल्धुरामा एक साता निषेधाज्ञा थपियो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १४ गते १९:३०

१४ जेठ, डोटी । डोटी र डडेल्धुरा जिल्लामा जेठ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि दुवै जिल्लामा शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको शुक्रबार बसेको बैठकले एक साताका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारी सुनिल खनालले कोभिड– १९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार आदेश जारी गरेका छन् ।

दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै डोटी जिल्लामा वैशाख २२ गतेबाट एक ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । अवस्थामा सुधार नआएपछि जेठ १ गतेदेखि लागु हुने १५ दिन थप गरिएको थियो ।

यस्तै डडेल्धुरा जिल्ला प्रशासन कार्यालयबाट पनि जेठ २२ गतेसम्मका लागि आदेश जारी भएको छ । ‘भोलि (शनिबार) सम्मका लागि यसअघि निषेधाज्ञा तोकिएको थियो, आज थप एक साता लम्ब्याउने निर्णय भयो’ डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भने ‘अब जेठ २२ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम रहनेछ ।’ कोरोनाको दोस्रो लहर फैलिन थालेपछि डडेल्धुरामा वैशाख १७ गतेबाट निषेधाज्ञा जारी भएको थियो ।

कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा

सुदूरपश्चिममा नौवटै जिल्लामा निषेधाज्ञा थपिँदै गएको छ । अछाम जिल्ला प्रशासन कार्यालयले जेठ २२ गतेसम्म निषेधाज्ञा थप गरेको छ । वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म पहिलो पटक निषेधाज्ञा जारी भएकोमा जेठ १२ गतेसम्म थप गरिएको थियो । जेठ ११ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको बैठकले २२ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको थियो ।

यस्तै दार्चुला जेठ जेठ ९ गतेदेखि २० गतेसम्म निषेधाज्ञा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जानकारी दिएको छ । स्थानीय तहको अवस्था हेरी निषेधाज्ञा जारी गरेको दार्चुलाले संक्रमितको संख्या बढ्दै गएपछि जिल्लाभरीनै निषेधाज्ञा जारी गरेको थियो ।

बैतडीमा जेठ १७ गते राति १२ वजेसम्म निषेधाज्ञा रहनेछ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको जेठ २ गतेको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले उक्त आदेश जारी गरेका हुन् ।

यस्तै बझाङ जिल्लामा पनि जेठ १७ गतेसम्म निषेधाज्ञा रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद सुवेदीका अनुसार जिल्लामा संक्रमणको अवस्थामा खासै सुधार आउन नसकेको हुँदा निषेधाज्ञा लम्विन सक्नेछ । उनले आइतबार कोभिड–१९ व्यवस्थापन सञ्चालन केन्द्रको बैठक बस्ने र सोही बैठकले निर्णय लिने वताए ।

बाजुरामा जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा छ । जिल्ला बैशाख २२ गते पहिलो पटक निषेधाज्ञा जारी गरेको बाजुरा प्रशासनले जेठ १३ गते फेरी लम्व्याएको हो ।

प्रदेशकै सबैभन्दा बढी जनघनत्व भएको जिल्ला कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा छ । गत वैशाख १६ गते पहिलो पटक स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको थियो । यस्तै कञ्चनपुरमा पनि जेठ २२ गतेसम्म निषेधाज्ञा छ । कञ्चनपुरमा पनि पहिलो पटक वैशाख १६ गते निषेधाज्ञा जारी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?