Comments Add Comment

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा

१६ जेठ, बुटवल । राष्ट्रिय सभाअन्तर्गत लुम्बिनी प्रदेशतर्फ रिक्त सदस्य पदका लागि सोमबार (भोलि) हुने उपनिर्वाचनको तयारी पूरा भएको छ ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुंवरले बताए । माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त हुन गएको पदमा निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा प्रदेश सभातर्फका ७९ जना सांसद र स्थानीय तहका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्ष गरी २१७ मतदाता छन् ।

मतदानका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा तीनवटा मतदान केन्द्र बनाइएको छ । बिहान ९ बजेबाट ३ बजेसम्म मतदान हुने छ । मतदान सकिए लगत्तै मत गणना सुरु हुने छ ।

प्रत्येक मतदान केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित ८ जनाका दरले कर्मचारी खटाउने गरी तयारी पूरा भएको कुंवरले बताए । मतगणना सुरु भएको एक घण्टामै परिणाम आउने कुंवरले बताए ।

निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ गणना हुन्छ । प्रदेशका ७९ प्रदेशसभा सदस्यको तीन हजार ७९२ र स्थानीय तहका २१७ जनप्रतिनिधिको ३ हजार ९ सय ६ गरी जम्मा ७ हजार ६९८ मत छ ।

प्रदेशका १०९ स्थानीय तहमध्ये पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा परेर मृत्यु भएपछि रिक्त छ ।

राष्ट्रिय सभामा दुई जना मात्र उम्मेदवार भएकाले ३ हजार ८ सय ५० मत ल्याउने उम्मेदवार निर्वाचित हुनेछन् ।

कारबाहीमा परेका चार मन्त्रीसहित ८ सांसद मतदानबाट बञ्चित

८७ सदस्यीय प्रदेशसभाका ७९ जनाले मात्रै मतदान गर्न पाउनेछन् । अन्य ८ जना भने विभिन्न दलबाट कारबाहीमा परेकाले मतदानमा सहभागी हुन पाउने छैनन् ।
प्रदेशसभामा एमालेका ३८, कांग्रेसका १९, माओवादीका १९ (सभामुखसहित), जसपाका २ र राजमोका १ जना सांसद छन् ।

पार्टीको निर्णय विपरीत मन्त्री बनेका जसपाका सांसद सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डेय र सुमन शर्मा रायमाझीलाई पार्टीले कारवाही गरेपछि उनीहरु पदमुक्त भएका छन् ।

यस्तै माओवादी केन्द्रबाट निर्वाचित दधिराम न्यौपाने र दिनेश पन्थी पनि पार्टीको कारबाहीमा परेर पदमुक्त भएका छन् । एमालेकै सांसद अमरबहादुर डांगीले पदबाट राजीनामा दिएका छन् भने राष्ट्रिय सभाका उम्मेदवार पाण्डे स्वयं प्रदेशसभा सदस्यबाट राजीनामा दिएर कांग्रेसमा प्रवेश गरेका हुन् ।

निर्वाचनमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । उनलाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन छ । विपक्षी गठबन्धनले कपिलवस्तुका दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ । उनी हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिंदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए । पाण्डेलाई माओवादी केन्द्र,जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन छ।

स्थानीय तहतर्फका २१७ मध्ये एमालेका ९४, कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राष्ट्रिय जनमोर्चाका ५, राप्रपाका २ र स्वतन्त्र ४ जना छन् । तर एमाले विभाजित अवस्थामा छ ।

गठबन्धनका तर्फबाट निर्वाचन संयोजन गरिरहेका माओवादी केन्द्रका प्रदेश कार्यालय सचिव सुदर्शन बरालले गठबन्धनमा स्पष्ट बहुमत रहेकाले पाण्डेले सजिलै जित्ने दाबी गरे । उनका अनुसार प्रदेशमा कांग्रेसको ९ सय १२, माओवादी केन्ऽको ९ सय १२, जसपा उपेन्द्र यादव समूहको ९६ र राष्ट्रिय जनमोर्चाका ४८ गरी एक हजार ९६८ मत छ । त्यस्तै स्थानीय तहमा पनि गठबन्धनको एक हजार ९९८ गरी जम्मा ३ हजार ९ सय ८४ मत देखिन्छ । यो मत जितका लागि सहज हो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले आफ्नो गठबन्धनले फराकिलो अन्तरले जित्ने दाबी गर्छन् ।

प्रदेशमा एमालेको १ हजार ८ सय २४ मतभार छ । जसपाको ठाकुर पक्षका चार जना मन्त्री भए पनि उनीहरूले मतदान गर्न पाउने छैनन् ।

त्यस्तै स्थानीय तहमा एमालेका ९४ प्रमुख र उपप्रमुख छन् । तिनको मतभार १ हजार ६ सय ९२ हुन्छ । यसमा माधव नेपाल पक्षमा करिब ६ सय मतभार बराबर जनप्रतिनिधि छन् । उनीहरुको मत कता जान्छ भन्ने प्रष्ट छैन । तर बागमती जस्तै फ्लोर क्रस भयो भने एमालेको मत झनै घट्ने निश्चित छ ।

स्थानीय तहमा ६ जना जनप्रतिनिधि रहेको ठाकुर पक्षको दाबी छ । यस्तै राप्रपाका २, स्वतन्त्रका ४ र नयाँ शक्तिका एकजना जनप्रतिनिधि छन् ।  । एमाले उम्मेदवार खड्काका पक्षमा एमाले र जसपाको ठाकुर पक्षको गरी ३ हजार ६ सय ६० मत हुन आउँछ । तर यो जितका लागि त्यो पर्याप्त हुँदैन । राप्रपा र स्वतन्त्रको मत जोड्दा पनि एमाले उम्मेदवारलाई बहुमत पुग्दैन । यद्यपि राप्रपा र स्वतन्त्र उम्मेदवारको मत बाँडिनसक्छ ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले भने आफ्नो उम्मेदवारले जित्ने दाबी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment