
१६ जेठ, बुटवल । थाइल्याण्डमा बस्दै आएका नेपाली भिक्षु सुगन्धको पहलमा थाई राजपरिवारले नेपाललाई एक जहाज स्वास्थ्य सामग्री पठाएका छन् । थाइल्यान्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातीले व्यक्तिगत रुपमा कोरोना संक्रमणविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री पठाएका हुन् ।
थाई राजपरिवारले १० लाख थान सर्जिकल मास्क, ११ हजार ५२० थान पीपीई गाउन, १० हजार जोडि लेग कभर, १० हजार थान सर्जिकल क्याप, ५ हजार थान फेसशिल्ड, २० हजार युनिट रेपिड एन्टिजेन युनिट, ६ सय थान अक्सिमिटर, १५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बोडिब्याग, ३० थान अक्सिजन नाजल र ८ थान अक्सिजन कसन्ट्रेन्टर नेपाल सरकारलाई सहयोग स्वरुप पठाएका हुन् ।
उक्त सामग्री थाई एयरमार्फत आइतबार त्रिभुवन विमानस्थलमा आइपुगेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
भिक्षु सुगन्धले सुझाव दिएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले थाई नरेशलाई सहयोगको लागि पत्राचार गरेको र उक्त पत्रपछि थाई नरेशले खुशीसाथ नेपाललाई सहयोग गरेको सदस्य सचिव शाक्यले बताए । ‘भिक्षु सुगन्ध थाइल्यान्डको राजपरिवारको अत्यन्तै निकट भएकाले पत्राचार गरे लगत्तै स्वास्थ्य सामग्री आएको हो,’ शाक्यले भने ।
थाइल्याण्डबाट आएको स्वास्थ्य सामग्री आइतबार नै नेपालका लागि थाई राजदूत भासिता भोरासाफले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले थाई राजपरिवारलाई धन्यवाद दिए ।
प्रतिक्रिया 4