Comments Add Comment

एसईई परीक्षा वैकल्पिक विधिबाट गर्न परीक्षा बोर्डले माग्यो अनुमति

१६ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति मागेको छ ।

जेठ १३ का लागि पूर्व निर्धारित परीक्षा कोरोना महामारीका कारण हुन नसकेपछि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न अनुमति मागिएको बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले बताए । ‘सुझाव समितिको प्रतिवेदनको आधारमा अनुमति माग गरिएको हो’ उनले भने, ‘अनुमति पाउने अपेक्षा छ ।’

बोर्डले एसईई र कक्षा १२ को परीक्षा सञ्चालनबारे सुझाव दिन शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा समिति गठन गरेको थियो । समिति एसईई र कक्षा १२ दुबैको परीक्षा सञ्चालनबारे विभिन्न विकल्प सुझाएको थियो ।

आइतबार बसेको परीक्षा बोर्डको बैठकले समितिको प्रतिवेदन शिक्षा मन्त्रालयमा पठाउने र मन्त्रालयले उपयुक्त विधि छनोट गरी मन्त्रिपरिषदमा लैजान आग्रह गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । ‘हामीले यही विधि भनेर किटान गरिएको छैन । प्रतिवेदनमा विभिन्न विधि सुझाइएको छ । सोही प्रतिवेदन मन्त्रालय पठाएका छौं’ उनले भने, ‘अब मन्त्रालयले उपयुक्त विधि छनोट गरी मन्त्रिपरिषद लैजाला ।’

परीक्षा बोर्डले अहिले एसईईका लागि अनुमति माग गरिएको छ । ‘कक्षा १२ का लागि केही समय पर्खने र आवश्यकता परेको खण्डमा अनुमति माग्छौं’ बोर्ड अध्यक्ष प्रा. डा. पौडेलले बताए ।

जेठ १३ गतेदेखि परीक्षा सुरु गर्ने गरी एसईईको प्रश्नपत्र छपाइको काम यसअघि नै सकिएको थियो । तर महामारीका कारण परीक्षा रोकिएपछि ५ लाख १७ हजार विद्यार्थी तनावमा छन् ।

कक्षा १२ मा करिब ४ लाख विद्यार्थी परीक्षाको तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment