+
+

लक्ष्मीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १७ गते १६:४३

१७ जेठ, डोटी । आफ्नै श्रीमानले आगो लगाउँदा जलेर घाइते भएकी डोटी आदर्श गाउँपालिका–४ रोडिङ्गकी २८ वर्षीया लक्ष्मी भाटलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत लक्ष्मीलाई सोमबार काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । ‘माननीय वन तथा बातावरण मन्त्री प्रेमवहादुर आलेमगरज्यूले समन्वय गरेर सरकारले हेलिकप्टरमार्फत लक्ष्मीको उद्धार गरेको हो,’ प्रहरी उपरीक्षक मल्लले भने, ‘उहाँको थप उपचार काठमाडौंको कीर्तिपुरस्थित क्लेफ्ट एण्ड बर्निङ सेन्टरमा हुनेछ ।’

जेठ १२ गते राति १२ बजेतिर पसलमा सुतिरहेका बेला लक्ष्मीमाथि ज्वलनशील पदार्थ छर्किएर आगो लगाइएको थियो । आगोले आधाभन्दा बढी जलेकी लक्ष्मीलाई उपचारका लागि दिपायल राजपुरस्थित सुजंग अस्पतालमा ल्याइएको थियो । अस्पतालले सोही दिन उनको उपचार सम्भव नभएको भन्दै बाहिर लैजान भनेको थियो । तर आर्थिक अभावका कारण आफन्तहरुले उनलाई अन्यत्र लैजान सकेका थिएनन् ।

लक्ष्मीको अवस्थाबारे बुझ्न मन्त्री आलेले आफूलाई फोन गरेको प्रहरी उपरीक्षक मल्लले बताए । ‘मन्त्रीज्यूले लक्ष्मीलाई लिन हेलिकप्टर आउँदैछ, पठाउन सहयोग गर्नुहोला भन्नुभयो,’ मल्लले भने, ‘सोही अनुसार उनलाई पठाइएको हो ।’

घटनापछि फरार रहेका लक्ष्मीका श्रीमान सन्तोष भाट हालसम्म पनि सम्पर्कमा आएका छैनन् । उनीविरुद्ध लक्ष्मीका दाइले आइतबार प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?