Comments Add Comment

विना लाइसेन्स सञ्चालित विराटनगरका दुई फार्मेसी सिल

१७ जेठ, विराटनगर । विना लाइसेन्स सञ्चालन गरेको पाइएपछि औषधि व्यवस्था विभागले विराटनगरका दुईवटा औषधि पसल सिल गरेको छ ।

एउटा व्यक्तिको नाममा दर्ता गरी अर्कैले सञ्चालन गरेको पाइएपछि विराटनगर महानगरपालिका–९ अस्पताल चोकमा रहेका टाइम्स फर्मा र रियाङ्शी मेडिको बन्द गरेको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरका निमित्त प्रमुख सञ्जीव कट्टेलले जानकारी दिए ।

‘एउटा व्यक्तिको नाममा दर्ता गर्ने र अर्कैले सञ्चालन गरेर ठगी गर्ने काम हुन्छ,’ उनले भने, ‘धेरै ठाउँमा एम्बुलेन्स चालकसँग मिलेर बिरामीलाई ठगी गरेको भेटियो ।’

अस्पताल चोकको एउटा फार्मेसीले ठगी गरेको उजुरी परेपछि सोमबार दिउँसो औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरको टोली अनुगमनका लागि पुगेको थियो । अनुगमन टोली आउने सुइको पाएका सञ्चालक भने अगाडि नै भागेका थिए । प्रहरी र औषधि व्यवस्था विभागको टोली पुग्दा दर्ता विना सञ्चालन भएको फार्मेसीको सटर बन्द थियो ।

उजुरी परेको फार्मेसी बन्द भएपछि अनुगमन टोलीले छेउछाउका चार पसल अनुगमन गर्दा दुईवटा पसल बन्द गरेको छ । एउटा पसलमा भने दर्ता विनाको सेनिटाइजर भेटिएपछि परीक्षणका लागि जफत गरेको छ ।

अनुगमन टोली आउने जानकारी पाएपछि अस्पताल चोकदेखि दक्षिणतर्फ जाने सडकमा दर्ता विना सञ्चालनमा रहेको फार्मेसी बन्द गरेर सञ्चालक शंकर यादव फरार भएका थिए । फरार रहेका यादवको खोजी सुरु गरी बन्द गरिएका दुईवटा फार्मेसी सञ्चालकलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विना दर्ता सञ्चालित फार्मेसीले विराटनगर कन्चनबारीमा रहेको हेल्थकेर फार्मेसीको बिल प्रयोग गर्दै आएका थिए । कट्टेलका अनुसार यादवले नोबेल मेडिकल कलेज अगाडि हेल्थकेयर फार्मेसी सञ्चालन गरेका छन् । ‘अस्पताल चोकको बन्द भएपछि हामी नोबेल पुग्यौं, त्यहाँ पनि बन्द रहेछ,’ उनले भने, ‘फरार व्यक्तिको खोजी कार्य जारी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment