+
+
Shares

एमालेमा फेरि ओली र नेपाल समूहको वार्ता प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १८ गते १५:१७

१८ जेठ, काठमाडौं । सत्तारुढ नेकपा एमालेमा फेरि औपचारिक वार्ता गर्ने प्रयास सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध माधवकुमार नेपाल समूहका सांसदहरु पनि सर्वोच्च अदालत गएपछि कार्यदल स्तरको वार्ता समेत अवरुद्ध भएको थियो ।

लगत्तै अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र भएको स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निस्कासन गरेको छ भने थप १२ जनालाई स्पष्टीकरण सोधिएको छ । तर उनीहरुले स्पष्टीकरण दिएका छैनन् ।

सोमबार साँझ अध्यक्ष ओली र नेता नेपाल समूहका नेताहरुबीच वार्ता भएको छ । दुबै पक्षका दोस्रो तहका नेताहरुबीच भएको कुराकानी पुनः एकता वार्ता सुरु गर्ने प्रयास भएको बताइएको छ ।

‘व्यक्तिगत तहमा कुराकानी भएको हो । औपचारिक कार्यदल बसेको होइन,’ एक नेताले भने ।

उनका अनुसार पार्टीलाई फुटबाट जोगाउनुपर्छ भन्नेमा छलफलमा सहभागी नेताहरु सहमत देखिएका छन् । ‘जेठ २ को वरिपरि कुरा भएको छ, तर कुनै ठोस कुराकानी भएको छैन,’ भेटमा सहभागी अर्का नेताले बताए ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र नेता नेपालबीच ३० वैशाखमा भेटवार्ता भएपछि विभाजन उन्मुख रहेको एमालेका एकता प्रयास सुरु भएको थियो ।

२ जेठ २०७५ मा फर्किनुपर्ने नेपाल समूहको मागमा अध्यक्ष ओली सहमत भएपछि दुवै पक्षका ५–५ जना रहेको कार्यदल समेत बनाएको थियो । तर प्रतिनिधिसभा भंग गर्ने प्रक्रिया सुरु भएसँगै एकता वार्ता विथोलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?