Comments Add Comment

कोरोनाको दोस्रो लहर : सुदूरपश्चिममा संक्रमण दोब्बर कम

१९ जेठ, धनगढी । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै बैशाख २० देखि २७ गतेसम्म सुदूरपश्चिम प्रदेशमा परीक्षणको ३७ दशमलव २ प्रतिशतमा संक्रमण पुष्टि भयो ।

कैलालीसहित प्रदेशका विभिन्न प्रयोगशालामार्फत उक्त एक हप्ताको अवधीमा १३ हजार २२२ जनाको परीक्षण गर्दा ५ हजार १८१ जनामा संक्रमण पुष्टि भयो । त्यो साता सबैभन्दा धेरै बैशाख २६ गते २ हजार ५६४ जनाको नमूना परीक्षण गर्दा १ हजार ६७ जनामा संक्रमण देखिएको थियो ।

दोस्रो लहरको संक्रमण फैलिएयता प्रदेशमा एकैदिन यति धेरै संक्रमित सोही दिन पुष्टि भएको थियो । त्यतिबेला यहाँ कुल संक्रमितको २ दशमलव १८ प्रतिशत मृत्युदर थियो । २०–२७ बैशाखको ७ दिनको अवधीमा ११३ जनाको मृत्यु भएको तथ्यांक स्वास्थ्य निर्देशनालय डोटीसँग छ ।

बैशाख २८ देखि जेठ ३ गतेसम्मको एक हप्ता प्रदेशमा संक्रमण र मृत्युदर ह्वात्तै बढ्यो । जेठ १७ गतेसम्म आइपुग्दा संक्रमण दर परीक्षण गरिएका मध्ये २२ प्रतिशतमा देखिएको छ भने २.२४ प्रतिशत पुगेको मृत्युदर घटेर ०.०९ प्रतिशतमा झरेको छ ।

बैशाख २८ देखि जेठ ३ गते बढी संक्रमण

बैशाख २८ देखि जेठ ३ गतेसम्मको एक हप्ता प्रदेशमा संक्रमण र मृत्युदर ह्वात्तै बढ्यो । अघिल्लो साता ३७ प्रतिशत रहेको संक्रमण दर बढेर ४५ प्रतिशत पुग्यो । मृत्युदर पनि २.१८ बाट बढेर २.२४ प्रतिशत पुगेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । २८ देखि जेठ ३ गतेसम्म १२ हजार ९७० जनाको परीक्षण गरिएकोमा ५ हजार ८४३ जनामा संक्रमण पुष्टि भयो । उनीहरूमध्ये १४३ जनाको मृत्यु भएको थियो । यो अवधीमा एकैदिन २८ बैशाखमा एकै दिन ३१ जनाको मृत्यु र २ जेठमा एकै दिन १ हजार ५७ जनामा संक्रमण पुष्टि भएको रेकर्ड छ ।

जेठ ४ देखि १० गतेको अवस्था

यो एक साताको अवधीमा माथि उल्लेखति दुई साताको तुलनामा कोरोना भाइरसको संक्रमण र मृत्युदर घटेको देखिन्छ । बैशाख २० देखि २७ गतेसम्म ३७.२ प्रतिशत बृद्धि भएर बैशाख २८ देखि जेठ ३ गतेसम्म ४५.०५ प्रतिशतमा पुगेको संक्रमण जेठ ४ देखि १० गतेसम्म ओरोला लागेर  यो साता कुल परीक्षणको ३६.७९ प्रतिशत मात्रै संत्रमण देखिएको थियो ।

७ दिनको अवधीमा १३ हजार ८२२ जनाको परीक्षण गर्दा ५ हजार ८० जनामा संक्रमण पुष्टि भएको देखिन्छ । मृत्युदर पनि घटेर १.६९ प्रतिशतमा कायम भएको पाइएको छ । यो अवधीमा ५ हजार ८० जनामा संक्रमण पुष्टि हुँदा ८६ जनाको मात्रै मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जेठ ११ देखि १७ गतेसम्मको अवस्था

जेठ १७ गतेसम्म आइपुग्दा संक्रमण दर झण्डै २३ प्रतिशत र मृत्युदर २.१५ प्रतिशतले कम भएको निर्देशनालयले जनाएको छ ।  अघिल्ला तीन हप्ताको तुलनामा सबैभन्दा धेरै १४ हजार ९१४ जनाको परीक्षण गर्दा यो हप्ता सबैभन्दा कम ३ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका मध्ये २२ प्रतिशतमा संक्रमण देखिएको छ । यो साता ३३ जनाको मात्रै मृत्यु भएको छ ।

२.२४ प्रतिशत पुगेको मृत्युदर घटेर ०.०९ प्रतिशतमा झरेको छ । जेठ ११ गतेदेखि प्रदेशमा संक्रमण कम हुँदै गएको देखिन्छ ।

आईसीयू र भेन्टिलेटरमा उपचार गराउने घटेनन्

प्रदेशमा संक्रमणदर घटेपनि आईसीयू र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या भने तुलनात्मक रुपले कम देखिएपनि घट्न सकेको छैन । बैशाख २० देखि २७ गतेसम्म आर्ईसीयूमा २७७ र भेन्टिलेटरमा ९३ जनाको उपचार गरिएकोमा पछिल्लो साता ३३८ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा उपचाररत थिए । यद्यपी अहिले आईसीयूमा ४७ र भेन्टिलेटरमा १० जनाको मात्र उपचार भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

‘निषेधाज्ञाको परिणाम देखियो’

कैलाली र कञ्चनपुरमा स्थानीय प्रशासनले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरेका थिए । पटक पटक गरेर निषेधाज्ञा लम्ब्याएकै कारण अहिलेको अवस्था सिर्जना भएको चिकित्सकहरूले बताएका छन् ।

कोरोना संक्रमण कम हुनुको प्रमुख कारण निषेधाज्ञा नै भएको सेती प्रादेशिक अस्पतालका डाक्टर निराजनदत्त शर्मा पौडेल बताउँछन् । ‘मलाई स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको रिजल्ट अहिले देखिएको जस्तो लाग्छ । मानिसहरूको आवतजावत भएन, एकै ठाउँमा बस्नुपर्यो,’ डा. पौडेलले भने, ‘यसले दुईवटा कुरामा सहयोग पुग्यो, पहिलो मानिस बसेको ठाउँमा के कति केसहरू छन् भनेर पहिचान गर्न सजिलो भयो । दोस्रो आवतजावत नै नभएपछि संक्रमण समुदाय स्तरमा तीव्र रुपमा फैलिन पाएन ।’

तर संक्रमण कम हुँदैमा जोखिम घटेको र अगामी दिनमा नफैलिने भन्ने कुरामा ढुक्क हुनुपर्ने अवस्था नरहेको उनी बताउँछन् ।

‘अब अगामी दिनहरू कस्ता हुन्छन भन्ने कुरा अहिले भन्न त सकिदैन,’ उनले भने, ‘तर यदि अहिले जारी निषेधाज्ञा खोल्ने नै हो भने व्यवस्थित र वैज्ञानिक रुपले खोल्नुपर्छ । तत्कालै एक अर्का जिल्लाबीच सम्पर्क नगराउने र आन्तरिक रुपमा खोल्नसके राम्रो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment