Comments Add Comment

कस्तो छ दक्षिण एसियामा कोरोना संक्रमणको अवस्था ?

१९ जेठ, काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो मुलुक भारत अहिले कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहरको सामना गरिरहेको छ । यद्यपि पछिल्लो केही समययता भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यामा निरन्तर कमी आइरहेको छ ।

कोरोनाको दोस्रो लहरको क्रममा भारतमा एकै दिन ४ लाख १४ हजारभन्दा बढी नयाँ संक्रमित पनि थपिएका थिए भने एकै दिन ४ हजार ५०० भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

भारतमा कोरोनाको दोस्रो लहर फैलिन थालेसँगै त्यसको असर नेपालमा पनि देखिएको थियो । जुन अहिले पनि जारी छ । नेपालमा पनि एकै दिन ९ हजार ४८३ नयाँ संक्रमित भेटिएका थिए भने एकै दिन २४६ जनासम्मको मृत्यु भएको थियो ।

दक्षिण एसियामा कोरोना संक्रमणको यो लहरबाट नेपाल र भारत मात्र प्रभावित भएका भने होइनन् । पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्समा समेत कोरोना संक्रमणको यो लहरको असर देखिएको छ । यद्यपि कोरोनाको यो लहर सुरु हुने र विस्तारै कम हुने समय भने सबै मुलुकमा फरक–फरक छ । फेब्रुअरीको अन्तिमबाट सुरु भएको दोस्रो लहरपछि अहिले दक्षिण एसियाका सबै मुलुकमा कोरोनाका नयाँ संक्रमितको संख्या जनसंख्याको आधारमा घट्दो क्रममा छ ।

आवर वर्ल्ड इन डेटाका अनुसार मंगलबारको तथ्यांकलाई हेर्ने हो भने जनसंख्याको आधारमा एक हप्ताको औसतमा माल्दिभ्समा प्रति १० लाखमा नयाँ संक्रमितको संख्या १ हजार ८०० भन्दा बढी छ । गत मे २४ मा यो संख्या तीन हजारभन्दा धेरै थियो । त्यस्तै नेपालमा औसत प्रति १० लाखमा मंगलबार १८५ थियो । मे १२ मा यो संख्या ३०७ सम्म पुगेको थियो ।

प्रति १० लाख मानिसमा सात दिने औसतमा नयाँ संक्रमितको संख्या भारतमा मंगलबार १०५ थियो । यो संख्या गत मे ९ मा भने २८७ थियो । यो औसत मंगलबार पाकिस्तानमा १० तथा बंगलादेशमा ८ थियो । पाकिस्तानमा संक्रमण उत्कर्षमा पुग्दा गत अप्रिल २५ मा उक्त औसत २५ थियो । बंगलादेशमा गत अप्रिल ९ मा यो औसत ४२ थियो ।

कोरोनाका नयाँ संक्रमित मात्र होइन, संक्रमणका कारण मृत्यु हुनेको संख्यामा पनि केही समय यता निरन्तर कमी आइरहेको छ । पछिल्ला दिनमा दक्षिण एसियाका सबै मुलुकमा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा कमी आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment