Comments Add Comment

निषेधाज्ञामा पनि गीत रेकर्डिङ्ग

काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा एक महिनादेखि निषेधाज्ञा छ । उपत्यकामा जेठ २० गतेसम्म रहेको निषेधाज्ञालाई पुनः ११ दिन थप गरेर जेठ ३१ गतेसम्म पुर्याइएको छ । निषेधाज्ञाका कारण मनोरञ्जनका अधिकांश क्षेत्र ठप्प छन् । तर, मानिसको जमघटविना गर्न सकिने गीत रेर्कडिङ्ग भने फाट्टफुट्ट रुपमा भएका छन् ।

गायक प्रकाश सपूतले निषेधाज्ञाको समयमा एउटा गीत रेकर्ड गराएका छन् । उनले उच्च सतकर्ता अपनाएर गीत रेकर्ड गराएको बताएका छन् । अशोक शेरचनको शब्द, प्रकाशको संगीत, प्रकाश र मेलिना राईको युगल स्वरमा रहेको गीत ‘प्रार्थना’ शुक्रबार सार्वजनिक गर्ने तयारीमा प्रकाश छन् । कोरोनाको विषम परिस्थितिमा सांगीतिक शुभेच्छा स्वरुप उक्त गीत ल्याउन लागेको प्रकाशले बताएका छन् ।

गायक खुमन अधिकारीले निषेधाज्ञाको समयमा एउटा गीत रेकर्डिङ्ग गरेर सार्वजनिक गरिसकेका छन् । गायक राजु ढकालले निषेधाज्ञामा दुईवटा सचेतना सम्बन्धीसहित तीनवटा गीत रेकर्डिङ्ग गरिसकेका छन् । जसमध्ये सचेतना सम्बन्धी गीत ‘आफै सचेत बनौं’ र ‘समयको खेल’ सार्वजनिक भैसकेका छन् ।

‘आफै सचेत बनौं’मा राजु र दुर्गा मगरको स्वर छ भने ‘समयको खेल’मा राजु र देवी घर्ती मगरको स्वर छ । ‘स्टुडियोमा निकै सुरक्षा सावधानी अपनाएर गीत रेकर्ड गराएका हौं । दुवै गीत एकैदिन रेकर्ड गर्यौ’ गायक राजुले अनलाइनखबरसँग भने, –‘दुवै गीतको स्टुडियोमै सुटिङ गर्यौं । बाहिरी केही फुटेजहरु जोड्यौं र भिडियो सार्वजनिक गर्यौ ।’ अर्को दोहोरी गीत भने अहिले छायांकन गर्ने अवस्था नरहेकाले अवस्था सहज भएपछि मात्र छायांकन हुने राजुले बताए ।

गायिका देवीले निषेधाज्ञाको समयमा जनचेतनामूलक बाहेक अन्य दुई लोकदोहोरी गीत रेकर्डिङ्ग गराएकी छिन् । जसमध्ये एउटा गीत सार्वजनिक भैसकेको छ ।
गायिका एलिना चौहानले पनि निषेधाज्ञामा दुई–तीनवटा गीत रेकर्डिङ्ग गराएकी छिन् ।

‘केही दिन अगाडि केही सहज हुँदा नजिकको स्टुडियोमा गएर दुई–तीनवटा गीत रेकर्डिङ्ग गरेकी थिएँ । अहिले थप कडाई भएपछि गरेकी छैन’ उनले भनिन् ।
निषेधाज्ञाको समयमा अन्य थुप्रै गायक–गायिकाहरुले गीत रेकर्डिङ गराएका छन् । अहिले रेकर्डिङ्ग गरेर तयारी अवस्थामा राख्ने र अवस्था सामान्य भएपछि भिडियो छायांकन गर्ने योजना कतिपयको छ । कतिपयले भने विषम परिस्थिति भएकाले लिरिकल भिडियो मात्र सार्वजनिक गरेका छन् ।

मालश्री रेकर्डिङ्ग स्टुडियोका संचालक बिनोद बाजुराली निषेधाज्ञाको समयमा सुरक्षा सावधानी अपनाउँदै जनचेतनामूलक गीतहरु रेकर्डिङ्ग गर्न दिइएको बताउँछन् ।
‘समसामयिक वा जनचेतनामूलक गीत छ, रेकर्डिङ्गको वातावरण मिलाउनुपर्यो भन्ने साथीहरुलाई रेकर्डिङ्ग गर्न दिएका छौं’ उनले भने, ‘स्टुडियोभित्र माइक–हेडफोनमा सेनिटाइज गर्ने, एकजनालाई मात्र स्टुडियोमा जान दिने गरेर केही गीत रेकर्डिङ्ग गराएका थियौं ।’ यद्यपी, रेकर्डिङ्ग कार्य नगन्य रुपमा भएको उनले बताए ।

‘स्टुडियो वान डिबी एचडी’की संचालक जमुना सनम पनि निषेधाज्ञामा फाट्टफुट्ट गीत रेकर्डिङ्ग र मिक्सिङ्ग भईरहेको बताउँछिन् ।

उनले भनिन्, ‘बाजाको काम सबैले घरबाटै गरिरहनुभएको छ । स्टुडियोमा रेकर्डिङ्ग र मिक्सिङ्गको काम भईरहेको छ । दिनमा एक–दुईवटा रेकर्डिङ्ग भईरहेको छ ।’ सुरक्षा सावधानी भने अपनाइएको उनले बताईन् ।

भिडियो पनि
केही कलाकारहरुले भने निषेधाज्ञाको समयमा म्युजिक भिडियो पनि छायांकन गरेका छन् । गायिका रिता रावत र सविन आचार्यको स्वरमा रहेको ‘माया गरौंला’ बोलको गीत निषेधाज्ञामै छायांकन गरेर भिडियो सार्वजनिक गरिएको हो । कुनै एक घरको छतमा सो गीतको भिडियो छायांकन गरिएको छ ।

सो गीतको भिडियो छायांकन टिममा १० जनाभन्दा बढीको सहभागीता देखिन्छ । यद्यपी, भिडियो निर्माण टिमले छायांकन हुनुअघि सबैको पीसीआर परीक्षण गरेको र रिपोर्ट नेगेटिभ आएपछि छायांकन गरेको दाबी गरेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष गायक बद्री पंगेनी अहिलेको परिस्थितिमा गीत रेकर्डिङ्ग र छायांकन गर्नु गलत भएको बताउँछन् । ‘फाट्टफुट्ट रेकर्डिङ भएका हुन् । यद्यपी यस्तो बेलामा रेकर्डिङ र छायांकन गर्नु गलत हो’– पंगेनीले संक्षिप्त प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment