Comments Add Comment

कोरोना निको भएपछि पूर्वराजाको भिडियो सन्देश, यसरी सम्झिए शुभचिन्तकलाई

२० जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहले आफ्नो स्वास्थ्यलाई लिएर चासो र चिन्ता लिने सबैलाई धन्‍यवाद दिएका छन् ।

सामाजिक सञ्‍जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘हाम्रो स्वास्थ्यबारे चिन्ता र चासोका साथ शुभकामना दिनुहुने देशभित्र र बाहिर रहेका सबै नेपालीहरुप्रति हामी आभार व्‍यक्त गर्दछौं ।’

पूर्वराजा शाहले महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई समेतलाई धन्यवाद दिएका छन् । उनले आफूहरु पूर्ण स्वास्थ्य लाभ लिइरहेको र देश बाहिर र भित्रको अवस्थाप्रति निकै चिन्तित रहेको बताएका छन् ।

पूर्वराजा शाहले भने, ‘अहिले हामी दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा छौं । तर देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौं ।’

कोरोना महामारीलाई नियन्त्रण गर्नको लागि हाम्रो आफ्नै संकल्प र बाह्य सहयोगको खाँचो पर्ने उनको भनाइ छ । पूर्वराजा शाहले सबैलाई सुरक्षित, सावधान र स्वस्थ रहन आग्रह गर्दै उपचारको क्रममा रहेका सबै नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्, महामारीबाट जीवन गुमाउनेहरुप्रति चीर शान्तिको कामना गरेका छन् ।

गत अप्रिलमा भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएपछि पूर्वराजा र पूर्वरानीलाई कोरोना संक्रमण भएको थियो । तीन साताको उपचारपछि उनीहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment