Comments Add Comment

इन्डोनेसियामा नेपाली युवक अलपत्र, नेपाल झिकाइदिन आग्रह

इण्डोनेसियामा अलपत्र परेका अशोक साह तुराहा

२० जेठ, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीका ३० वर्षीय अशोक साह तुराहा इन्डोनेसियामा अलपत्र परेका छन् । उनले आफूलाई नेपाल आउने वातावरण मिलाइदिन सरोकारवालासँग आग्रह गरेका छन् ।

उनी अहिले इन्डोनेसियाको आप्रवासनसम्बन्धी कार्यालयको नियन्त्रणमा छन् । १० वर्षअघि रोजगारीका लागि मलेसिया गएका उनी इन्डोनेसियाकी युवतीसँग प्रेममा परेर इन्डोनेसिया पुगेका थिए ।

९० दिनको पर्यटन भिसामा इन्डोनेसिया पुगेका उनको भिसाको म्याद ५ फेब्रुअरी २०१३ सम्म मात्रै थियो । गैरकानुनी रुपमा इन्डोनेसियामा बस्दै आएका उनलाई १६ मे २०२१ देखि इमिग्रेसनले नियन्त्रणमा राखेको छ ।

‘इमिग्रेसनले बोलाएपछि यहाँ आएको थिएँ । १६ मेदेखि यहाँ थुनेर राखेका छन् । मोबाइलबाहेक घडी, जुत्ता, पैसा लिएर राखेका छन्,’ उनले भने, ‘२ लाख १० हजार रुपैयाँ दिनु अनि मात्रै जान पाइन्छ भनेका छन् । साथमा पैसा पनि छैन । धेरै अप्ठेरो अवस्थामा परेको छु ।’

आमा भागरथी देवीले छोरा अशोकलाई नेपाल झिकाउन सहयोग गरिदिन आग्रह गरिरहेकी छन् । ‘२ लाख १० हजार रुपैयाँ पठाइदिनुस्, नत्र मलाई मार्छन् भन्छ, कहाँबाट ल्याएर दिने ?’ उनले भनिन् ‘घर धितो राखेर लिएको ऋण तिर्न सकेको छैन, ऋण सापटी पनि कसैले पत्याउँदैनन् । छोरालाई घरमा ल्याउन पाए मागेरै भएपनि खान्थ्यौं ।’

बुवा ताराचन्द पनि घर धितो राखेर लिएको ऋण तिरिनसकेकाले पैसाको बन्दोबस्त गर्न नसक्ने अवस्थामा रहेको बताउँछन् । ‘छोरा अप्ठेरोमा परेको छु भन्छ, तर गरिबी र पहुँचको अभावमा निरीह बस्नु परेको छ,’ उनले भने, ‘छोरालाई कसरी नेपाल झिकाउन सकिन्छ पहल गरिदिनुस् न है ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सुरेश बिडारी

ट्रेन्डिङ

Advertisment