Comments Add Comment

निषेधाज्ञामा बि.बिले तयार पारे तीन दर्जन गीत

कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा गरिएको एक महिना बढी भएको छ । निषेधाज्ञासँगै अधिकांश मानिसहरु घरभित्र बसिरहेका छन् । कलाकारहरु पनि निषेधाज्ञाको प्रत्यक्ष मारमा परिरहेका छन् । सधै व्यस्त हुने कलाकारहरु यतिबेला फुर्सदिला बनेका छन् । तर, कतिपय कलाकारहरुले भने यो समयलाई पनि रचनात्मक काममा सदुपयोग गरिरहेका छन् । कतिपय कलाकारहरु निषेधाज्ञामा पनि फुर्सदमा छैनन् ।

संगीत संयोजक, गीतकार एवं गायक बि.बि. अनुरागीलाई निषेधाज्ञामा पनि फुर्सद मिलेको छैन । निषेधाज्ञामा पनि उनको दैनिकी गीत सिर्जना र संगीतको काममै बित्ने गरेको छ ।

निषेधाज्ञाको एक महिनाको अवधिमा उनले घरमै बसेर तीन दर्जन बढी गीत तयार गरिसकेका छन् । ‘केही नगरी बस्न सकिदैन । गीत सिर्जना, भाका एवं संगीतको काम गरिरहेको छु’ उनले अनलाइनखबरसँग भने, ‘निषेधाज्ञाको अवधिमा झण्डै तीन दर्जन बढी गीतको काम गरेँ ।’ तीमध्ये अधिकांश लोकदोहोरी र केही आधुनिक गीतहरु रहेको उनले बताए । ‘अधिकांश आफ्नै सिर्जना छन् । अरु गीतकारहरुको गीतको कामपनि गरिरहेको छु’ उनले सुनाए । कालिप्रसाद रिजाल, डा. कृष्णहरी बराल लगायतका गीतकारहरुको गीत कम्पोज गरेको उनले बताए । कतिपय पहिल्यैदेखि नभ्याएर रहिरहेका गीतका काम पनि गरिरहेको उनले बताए ।

प्रिज्म रेकर्डिङ स्टुडियोका संचालक समेत रहेका बि.बि. गीत रेकर्डिङ भने अहिले ठप्प रहेको बताउँछन् । अवस्था सहज भएपछि आफूले तयार पारेका गीतहरु रेकर्डिङ गर्ने उनले बताए ।

‘निषेधाज्ञामा क्रियशनकै कामहरु बढी गरिरहेको छु । त्यो बाहेक अध्ययनमा समेत समय बित्ने गरेको छ’ उनी सुनाउँछन् । गीतसंगीतको काम बाहेक अन्य समयमा चाहेर पनि नभ्याएका कामहरु अहिलेको समयमा गरिरहेको बि.बि.ले बताए ।

‘महाभारत पुरा हेरेको थिइनँ । अहिले पुरा गरेँ’ उनले भने, ‘व्यस्तताका कारण मन लागेका उपन्यासहरु पनि पढ्न पाएको थिइन । अहिले उपन्यासहरु पनि पढिरहेको छु ।’ अहिले उपन्यास योगमाया पढिरहेको उनले बताए ।

चलचित्र उनको अर्को रुचि हो । हेर्न नपाएका चलचित्रहरु पनि अहिले हेरिरहेको बि.बि. बताउँछन् । त्यस्तै निषेधाज्ञामा योगालाई निरन्तरता दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment