Comments Add Comment

सरकारले भन्यो : दोस्रो डोज खोप आउँछ, धैर्य गर्नुस्

२३ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएका नागरिकलाई दोस्रो डोज खोप आउनेमा ढुक्क हुन आग्रह गरेको छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा.तारानाथ पोखरेलले आइतबार एक विज्ञप्ति जारी गर्दै ढिलै भए पनि दोस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाइने बताएका छन् ।

भारतीय कम्पनी सेरम इन्ष्टिच्यूटले सम्झौता अनुसारको खोप उपलब्ध नगराएका कारण समयमा खोप दिन नसकेको स्वीकार गर्दै विज्ञप्तिमा अब एस्ट्राजेनेकाको खोप प्राप्त भएपछि दोस्रो मात्रा दिइने उल्लेख गरिएको छ ।

सरकारले गत फागुन २३ गतेदेखि चैत १० गतेसम्म सञ्चालन गरेको खोप अभियानमा करिब १३ लाख नागरिकले कोभिशिल्ड खोपको पहिलो डोज लगाएका थिए । दोस्रो डोज खोप १२ हप्ताभित्र लगाउनुपर्ने भए पनि सरकारले खोप ल्याउन सकेको छैन ।

महाशाखाका प्रमुख पोखरेलले सेरम इन्ष्टिच्युट अफ इन्डिया र कोभ्याक्स सुविधा दुबैले खोप उपलब्ध गराउन असमर्थ भएकाले दोस्रो मात्राको खोप दिन नसकेको उल्लेख गरेका छन् ।

सरकारले खोपको पहिलो मात्राले पनि कोभिड–१९ को रोगबाट बचाउन मद्दत पुर्‍याउने भन्दै जनस्वास्थ्यका मापदण्ड भने अनिवार्य पालना गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment