Comments Add Comment

विदेश भ्रमणमा जानेका लागि ‘खोप पासपोर्ट’ दिने तयारीमा जापान

२४ जेठ, काठमाडौं । जापानले कोरोनाविरुद्धको खोप लगाएर विदेश भ्रमणमा जाने नागरिकलाई ‘खोप पासपोर्ट’ दिने तयारी गरेको छ । जापानी स्थानीय सञ्चारमाध्यमहरुका अनुसार व्यावसायिक भ्रमण तथा अन्य आर्थिक गतिविधिमा यो योजनाले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

कोरोना खोप लगाएको प्रमाणपत्र दिने र त्यसको आधारमा भ्रमणको अनुमति दिने ‘खोप पासपोर्ट’को सुरुआत धेरै मुलुकले गरिसकेका छन् । युरोपेली संघले आगामी जुलाईबाट यो योजना कार्यान्वयनमा ल्याउँदैछ ।

जापानका अधिकारीहरुले यस वर्षको अन्तिमसम्ममा स्मार्टफोन एपको माध्यमबाट आफ्नो खोप पासपोर्ट देखाउन सकिने गरी तयारी भइरहेको बताएका छन् । यद्यपि यस वर्षको लागि भने कागजी प्रमाणपत्र नै आवश्यक पर्ने उनीहरुको भनाइ छ । विशेषगरी व्यापारीहरुलाई लक्षित गरी यस्तो योजना ल्याइएको जनाइएको छ । जापान फर्किने व्यक्ति र बाहिर अध्ययन तथा व्यावसायिक प्रयोजनका लागि जानेहरुले उक्त पासपोर्ट देखाउनुपर्नेछ ।

आलोचकहरुले भने खोप पासपोर्टको नीतिले खोप लगाएका र नलगाएकाबीचको विभेद बढाउन सक्ने बताउँदै आएका छन् । अमेरिकामा पनि खोप पासपोर्टको विषयमा मतभेद छ । अमेरिकाको न्युयोर्कमा खोप पासपोर्टको लागि एक स्मार्टफोन एप सार्वजनिक गरिएको छ र यो एप अहिले १० लाखभन्दा बढीले डाउनलोड गरिसकेका छन् । तर, जर्जियाले भने यस किसिमको एपमा प्रतिबन्ध लगाएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment