Comments Add Comment

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिंदै

मुख्यमन्त्री त्रिलोचन भट्ट

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिंदैछन् ।

प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार मंगलबार बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने छन् ।

मुख्यमन्त्रीले प्रदेशसभामा पेश गरेको विश्वासको प्रस्तावको पक्ष, विपक्ष र तटस्थ बस्ने प्रदेशसभा सदस्यका लागि समेत छुट्टाछुट्दै मत खसाल्ने व्यवस्था गरिएको धामीले बताए ।

मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।

सुदूरपश्चिममा हाल नेकपा एमालेमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ । ५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् ।

विश्वासको मतका लागि मुख्यमन्त्री भट्टलाई २७ मत चाहिन्छ । प्रदेशसभामा एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना र ओली पक्षका ६ जना छन् । अहिले त्यो संख्या तल–माथि भएको बताइएको छ ।

मुख्यमन्त्रीलाई विश्वासको मत नदिन एमालेको निर्देशन

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिन निर्देशन दिएको छ ।

सोमबार पार्टी केन्द्रीय कमिटीको निर्देशन बमोजिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले एमालेका सबै प्रदेशसभा सदस्यहरुलाई निर्देशनात्मक पत्र बुझाउँदै विक्षमा मतदान गर्न निर्देशन दिएका हुन् ।

प्रदेश कमिटीले दलका नेता प्रकाशबहादुर शाह र सचेतक दुर्गाकुमारी विकलाई पनि पत्र लेखी पार्टीको स्थायी कमिटीको निर्णयअनुसार मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न निर्देशनसमेत दिएका छन् ।

१० जेठमा बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर प्रदेश संसदीय दलको १२ जेठमा बसेको बैठकले तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि मुख्यमन्त्री भट्टले सरकारमा रहेका एमालेका ३ जना मन्त्रीलाई राजीनामा दिन लगाएर एमालेकै ४ मन्त्री र ३ जना राज्यमन्त्री नियुक्त गरेका थिए । उनीहरु सबै एमालेको माधव नेपाल पक्षका हुन् ।

स्थायी कमिटीको निर्णयको अवज्ञा गरेको भन्दै एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टीकरण सोधेका थिए । शाहले ओलीलाई स्पष्टीकरणको जवाफ पेश गरिसकेका छन् । यस्तै सरकारमा सहभागी अन्य मन्त्रीलाई समेत कारवाहीका लागि एमालेले प्रक्रिया अगाडि बढाइसकेको छ ।

कांग्रेसले बोलायो संसदीय दलको बैठक

मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदा पक्ष वा विपक्षमा मत दिने भन्नेबारेमा निर्णय गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । प्रमुख प्रतिपक्षी दल समेत रहेको कांग्रेसले उक्त विषयमा छलफल गर्न अहिले विहान ७ बजे दलको बैठक बोलाएको हो ।

बैठकबाट मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्ने संसदीय दलका नेता डा. रणबहादुर रावलले जानकारी दिए ।

यसअघि छलफल गर्नुपर्ने भन्दै कांग्रेसले सोमबारको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीलाई विश्वासको मतको प्रस्ताव लैजान दिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment