Comments Add Comment

आगामी वर्ष ३.९ प्रतिशत मात्र आर्थिक वृद्धिदर : विश्व बैंक

२६ जेठ, काठमाडौं । विश्व बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ मा ३.९ प्रतिशत मात्र आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व अर्थतन्त्र सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यस्तो अनुमान गरेको हो ।

सन् २०२१ को दोस्रो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले सरकारले गरेको अनुमानभन्दा करीव आधा कम मात्र आर्थिक वृद्धिदर प्राप्त हुने बताएको हो । सरकारले आगामी आव २०७८/७९ को बजेटमा ६.५ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको छ ।

विश्व बैंकको पछिल्लो अनुमानअनुसार चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक वृद्धिदर समेत सरकारले गरेको अनुमानको तुलनामा कम हुने छ ।

चालु आवमा सरकारले चार प्रतिशत हाराहारी आर्थिक वृद्धि प्राप्त हुने संशोधित अनुमान गरेको छ । तर, विश्व बैंकले भने मात्र २.७ प्रतिशत सम्मको वृद्धिको अनुमान गरेको छ ।

सरकारले चालु आवको बजेटबाट ७ प्रतिशत हाराहारी आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । तर, यो लक्ष्यलाई गत वैशाखमा केन्द्रीय तथ्यांक विभागले ४ प्रतिशतमा झारेर संशोधन गरेको थियो ।

माल्दिभ्सले फड्को मार्ने अनुमान

विश्व बैंकले गरेको अनुमान अनुसार माल्दिभ्सले २०२२ मा सबैभन्दा उच्च दरको आर्थिक वृद्धिदर कायम गर्नेछ । माल्दिभ्सले चालु वर्ष २०२१ मा १७.१ प्रतिशतको वृद्धिदर प्राप्त गर्दैछ । आगामी आवमा यो ११.५ प्रतिशत रहने छ । यो वर्ष भारत सबैभन्दा कम आर्थिक वृद्धि (-७.३) प्रतिशत) गर्ने मुलुकमा रहने छ ।

तर, आगामी आवमा भने भारतले समेत उच्च आर्थिक वृद्धि कायम गर्ने विश्वबैंकको रिर्पोटमा उल्लेख छ ।  सन् २०२२ मा भारतको आर्थिक वृद्धि ८.३ प्रतिशत आगामी आवमा सबैभन्दा कम पाकिस्तान र श्रीलंकाको आर्थिक वृद्धिदर (२ प्रतिशत) हुने अनुमान विश्व बैंकले गरेको छ ।

अफगानिस्तानले २.६ प्रतिशतको वृद्धिदर भेट्ने देखिएको छ । कोरोना भाइरसको दोस्रो लहरले दक्षिण एसियाली मुलुक नराम्रोसँग प्रभावित भएका छन् । सोहीकारण अर्थतन्त्रमा जोखिम समेत यो क्षेत्रमा उत्तिकै रहेको विश्व बैंकको भनाइ छ ।

विश्व अर्थतन्त्र सुधारोन्मुख

कोरोना भाइरसको चपेटमा परेको विश्व अर्थतन्त्र क्रमशः चलायमान हुने क्रममा छ । यसले समग्र विश्व अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव भने पारिरहेको छ । विश्व अर्थतन्त्रलाई विश्वका ठूला अर्थतन्त्र भएका मुलुकको वृद्धिले राम्रैसँग नेतृत्व गर्ने देखिएको छ ।

विश्व बैंकका अनुसार सन् २०२२ मा विश्वको अर्थतन्त्र ४.३ प्रतिशतले वृद्धि हुनेछ । सन् २०२१ मा ५.६ प्रतिशत रहने प्रक्षेपण रहेको छ । सन् २०२० मा भने अर्थतन्त्र -३.५ प्रतिशत रहेको छ ।

सन् २०२१ मा चीनको ८.५ र सन् २०२२ मा ५.४ प्रतिशत रहने छ । अमेरिकाको अर्थतन्त्रमा समेत सन् २०२१ र २२ मात्र क्रमशः ६.८ र ४.२ प्रतिशतको वृद्धिदर रहने छ । सन् २०२० मा अमेरिकाको वृद्धिदर नकारात्मक थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment