Comments Add Comment

नारायणकाजी श्रेष्ठको कोभिड-१९ स्वयंसेवाले के-के गर्‍यो गोरखामा ?

२६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निजी सचिवालयअन्तर्गतको कोभिड–१९ स्वयंसेवाले गोरखाका विभिन्न स्थानमा कोरोना परीक्षण उपचार तथा परामर्श शिविर सञ्चालन गरेको छ । गोरखा नेता श्रेष्ठको गृहजिल्ला पनि हो ।

तीन चिकित्सक, ६ ल्याब प्राविधिक र अन्य स्वास्थ्यकर्मीसहित १९ जनाको कोभिड–१९ स्वयंसेवाको टोलीले जेठ महिनाभर दुई चरणमा गरी गोरखाका दुई नगरपालिका र ६ गाउँपालिकाका १८ स्थानमा कोरोना परीक्षण, उपचार तथा परामर्श शिविर सञ्चालन गरेको हो । गोरखामा कोरोना संक्रमण उच्च रहेका बस्ती र स्वास्थ्य केन्द्रमा पुगेर सञ्चालन गरिएको शिविरमा एन्टिजेन विधिबाट कोरोना परीक्षण, तत्काल सम्भव हुने उपचार तथा आवश्यक परामर्श प्रदान गरिएको स्वयंसेवाका संयोजक इन्द्रराज भट्टराई जानकारी दिए ।

शिविर सञ्चालन गरिएका स्थानमा ९६८ जनाको एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुलाई तत्काल सम्भव भएका उपचार र परामर्श सेवा प्रदान गरिएको र जटिल अवस्थाका बिरामीलाई अन्य अस्पतालमा रिफर गरिएको भट्टराईको भनाइ छ ।

कोरोना परीक्षण, उपचार र परामर्शका सेवा सञ्चालनका लागि आवश्यक केही औषधि र स्वास्थ्य उपकरण स्वास्थ्य सेवा विभागबाट प्राप्त भएका हुन् भने बाँकी प्रवक्ता श्रेष्ठ आफैंले खरिद गरेको जनाइएको छ ।

यस्तै गोरखामा नागरिकका लागि आवश्यक परेमा तेस्रो चरणको कार्यक्रम पनि सञ्चालन गर्न सकिने श्रेष्ठको निजी सचिवालय अन्तर्गतको कोभिड–१९ स्वयंसेवाले जनाएको छ ।

यसैगरी जिल्ला अस्पताल गोरखालाई १० थान र गोरखाका अन्य स्थानीय तहलाई १० थान गरी २० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभागसँग समन्वय गरी प्राप्त अक्सिजन कन्सनट्रेटर आँपपिपल अस्पताललाई ३ तथा जौवारी स्वास्थ्य केन्द्र, बारपाक सुलकिोट गाउँपालिका, शहीद लखन गाउँपालिका र भीमसेन थापा गाउँपालिकालाई १/१ थान हस्तान्तरण गरिएको छ ।

स्वयंसेवाले जिल्लाका १० स्थानीय तह र २२ स्वास्थ्य संस्थालाई पीपीई सेट, सर्जिकल मास्क, सेनिटाइजर, सर्जिकल पन्जा लगायत पनि सहयोग गरेको छ ।

टोलीमा चिकित्सकहरु डा. शिशिर देवकोटा, डा. नवीन सापकोटा र डा. राकेश परियार तथा ल्याब टेक्निसियन तथा सहायकहरु खेमराज सापकोटा, शैलेश थपलिया, अभिषेक मंग्राती, अमृत सुनार, सविनकुमार खड्का, लक्ष्मी थापालगायतले कोरोना परीक्षण, उपचार तथा परामर्श दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment