Comments Add Comment

हाम्रो पूजाकोठाका भगवान पनि अछुत हुन र ?

पहिलो लेखमा मैले आफ्नो बाल्यकालदेखि युवा अवस्थासम्मको भोगाईलाई समेटेको थिएँ । केही सकारात्मक र केही नकारात्मक प्रतिक्रिया आए । पहिलो लेख विगत थियो र यो लेख वर्तमान हो । धेरैले भन्नुभयो ‘अहिले यस्तो छैन’ तर म भन्छु अहिले पनि केही परिवर्तन भएको छैन । मेरो समाज आज पनि उस्तै छ । छिमेकी आन्टीहरू उस्तै छन अनि म कसरी परिवर्तनको आशा गरुँ ।

मेरो टोलमा हामी थोरै मात्र घर दलित छौँ । गाउँ छिमेकमा बिहे–ब्रतमा हाम्रो २-३ घरलाई छोडेर निम्तो दिने गरिन्छ । ४-५ महिना अगाडिको कुरा हो, मेरो ममीलाई उपल्लो जातिको बिहेको निम्तो आएछ, ममी खुसी भएर मलाई भन्दै हुनुहुन्थ्यो ‘यसपाली हाम्रो घरलाई पनि निम्तो दिए ।’

मेरो प्रश्न थियो, ‘तपाई जानुहुन्छ त ?’

ममीले भन्नुभयो– ‘छोरीको बिहे हो गदुर्वा दिएर फरकिन्छु, खाना चै खान्न, कोई साथी भएपो सँगै लिएर बस्नु, त्याँ छुट्टै बसेर त के खाई भयो र !’

अब निम्तो दिए भनेर खुसी हुने कि बरु नदिएको भए हुने भनेर सम्झने ।

मेरो भाइको साथी राई थरको भाइ सानैदेखि हामीसँगै बस्थ्यो । तर हरेक वर्ष उसलाई चोख्यौन लग्थे उसका परिवारले । मार्गा थानमा बैशाखी पुर्णेको दिन चोखिन्थ्यो ऊ । त्यो सबै कुरालाई हामी हसीमजाक मा उडाउँथ्यौँ, किनकि ऊ हाम्रो परिवारको एक हिस्सा थियो ।

धनकुटामा के चलन छ भने दलितको पुरेत दलित नै हुन्छ । ब्राह्मण जातिको पुरेतले हाम्रो मा पूजाआजा गर्दैनन् । गत वर्ष हाम्रो एकमात्र पुरेतको अल्पायुमैै निधन भयो । अब हाम्रो समुदायलाई ठूलो पीर यही छ कि पुरेत खोज्न कहाँ जाने ?

मेरो गाउँका पण्डितहरूलाई मेरो प्रश्न छ कि हामीले मान्ने भगवान र तपाईँहरूले मान्ने भगवान के बेग्लै हुन र ? कि हाम्रो पूजा कोठामा भएका भगवान पनि अछूत हुन ?

यो बिषयलाई एकपटक कानुनले हेरिदेओस, मेरो आग्रह यही छ । कि त पण्डितहरूले जजमानी काम नै छोड़नुपर्‍यो, कि त यसरी दलित–गैरदलित छुट्याउँदा जजमानी गर्न बन्द गर्नुपर्‍यो ।

आज पनि मेरो एक जना मिल्ने साथी काठमाडौंमा जात ढाँटेर डेरा बसेकी छे । किनकि उसलाई कोठाबाट निकालिने डर छ । एक दिन भेट हुँदा तपाईँ भनेर बोलिरहेका एक जना भलादमीले मेरो थर सोध्नुभयो । अनि वहाँ तपाईँबाट तिमीमा झर्नुभयो । मेरो थरलाई इज्जत दिँदा के तपाईंको इज्जत जान्छ र ? वा तपार्इँसरह म भएको हेर्न चाहनुहुन्न ?

आजका दिनसम्म पनि मेरो समाज उस्तै छ । मेरो बाबा जीवित हुँदाकै कुरा हो, सिलाई पसल खोल्ने कुरा भयो, हामीले भन्यौँ कपडा पनि राखेर खोलौँ न त । बाबाले मान्नु भएन । किनकि वहाँलाई डर थियो कपडा पसलका साहुजीहरुले त्यो मन पराउँदैनन् । अनि आफ्ना ग्राहकलाई पनि हामीकहाँ पठाउँदैनन् । यो कस्तो डर हो, जुन यति गहिरो गरी गडेर बसेको छ-मन मस्तिस्कमा ।

हाम्रो समुदायले आजको दिनमा पनि आफ्नो जातिअनुसारको कामबाहेक अरु काम गर्न हजार चोटी सोच्नुपर्छ, किन ? होटेल, रेष्टुरेन्ट खोल्ने त कल्पनासम्म गर्न सक्दैनौँ हामी । किनकि हामीलाई कुनै साथ र सहयोग कतैबाट पाइँदैन भन्ने थाहा छ ।

उपल्लो जातकी बुहारीलाई हामी हाँसीखुसी घर भित्र्याउँछौँ । तर हाम्रो समुदायकी छोरी उनीहरुकी बुहारी कदापी बन्न सक्दैनौ । आँखिर उनीहरूकी छोरी र हामीमा फरक के छ ? मेरो समाज, मेरो देश आज पनि उस्तै छ, आज पनि केही परिवर्तन भएको छैन ।

मेरो भनाइ

म धनकुटामा जन्मिए पनि बाल्यकाल काठमाडौंमा बित्यो। काठमाडौंमा हुँदा मेरो परिचय बेग्लै थियो, नाम थरनै बेग्लै । म सम्झन्छु, दशैंमा घर र मामाघर गएको बेला हुने विभेद । बिस्टको छोराछोरीलाई ‘तँ’ भनेर सम्बोधन गर्नुहुँदैन भन्नुहुँथ्यो हजुरआमा । तर, उनीहरूले ‘तँ’ भन्दा पनि फरक पर्दैन थियो । थाहा थिएन, किन हो ?

होटेलमा खाएपछि चियाको ग्लास हजूरमाले पानीले पखाले र ढोकामा राखिदिनुहुँथ्यो, थाहा थिएन, त्यति बुढ़ी हजुरमालाई पनि भरखरको केटोले दमेनी भनेर किन बोलाउथ्यो ? सानैदेखि हेपाई सहन नसक्ने म, तीं ठूलाबडा भनौदालाई पनि प्रश्न गर्थेँ, आफूभन्दा ठूलो मान्छेलाई दमिनी भन्ने हो ? तिमी भन्ने हो ? भनेर ।

मेरो कुरा हाँसेरै उड़ाइदिन्थे हजुरमा र तीं ठूला मान्छे पनि । सायद कलिलो दिमागकी भएकाले होला रमाइलो पनि लाग्थ्यो । खेल्न गएका बेला अरू जातका केटाकेटीले खानेकुरा ल्याएका छन भने जानीजानी छोइदिन्थेँ । अनि उनीहरू तीं सबै खानेकुरा हामीलाई नै दिन्थे ।

जब ११ वर्षको भएँ, तब बाबाले धनकुटा लिएर आउनुभयो । अनि सुरु भयो मेरो असली भोगाई । नाम थर सबै फरक, त्‍यति मात्र कहाँ हो र ? सबैले गर्ने व्यवहार नै फरक । कोठा भाड़ामा बसे पनि पानी सार्वजनिक धारामै प्युथ्यौँ । छिमेकीहरू राई, लिम्बु र मगर जातिका थिए । त्‍यसो त पानी भर्न मम्मी नै जानुहुँथ्यो तर कहिलेकाही गाग्री राख्न जाँदा यदि कोइ छिमेकी आन्टीहरू छन भने ‘.. उता जा, पर जा, या छोइएला’ भन्थे । तीं शब्दहरूले मन साह्रै दुख्थ्यो, अनि सोच्थेँ यदि छोइयो भने हुन्छ चै के ?

कतिचोटी त भरेको पानी धारामा छ भने कसैले नदेख्ने गरी छोएर भाग्थेँ । अनि विचार गर्थेँ केही हुन्छ कि भनेर, तर कहिल्‍यै केही भएन । बाबा विदेशमा काम गर्नुहुन्थ्यो। २-३ वर्षमा छुट्टिमा आउनुहुन्थ्यो। बाबासँगै विदेशी रक्सी आउँथ्यो घरमा । तिनै आन्टीहरू राती अँधेरोमा आएर रक्सी खाएर जान्थे । अनि मलाई लाग्थ्यो, रक्सी चै छोईदैन रै’छ ।

सानोमा त  मन्दिर जान पनि खूब रमाइलो लाग्ने । शनिबार-शनिबार भाइलाई लिएर निशान भगवतीको मन्दिर जान्थेँ । केटी मान्छेलाई त भित्र पसेर पूजा गर्न अनुमति थिएन तर केटा मान्छे चै जान पाउँथे । मेरो भाइलाई चै भित्र छिर्न दिँदैन थिए । त्यसपछि भाइ मन्दिर जान मन गर्न छोड्यो । एसरी नै बाल्यकाल बित्यो ।

छिमेकीले आफ्नो आगन बाहेक कहिल्यै सिकवासम्म टेक्ने अनुमति दिएनन । हामीले पनि त्यसैलाई सीमाना सम्झिएर स्वीकार्‍यौँ। बीए पहिलो बर्ष पढ़ाइ गर्दै थिएँ । धनकुटा एफएममा २-३ वटा कार्यक्रम चलाउँथे, त्यो बेला धनकुटा मा ३-४ वटा मात्रै स्कुटी आएको थियो । त्यसमा एक मेरो थियो ।

स्कुट किनेको भोलिपल्टकै कुरा हो, बजारमा मेरा काकाकाकीको सिलाई पसल छ । त्यही पसको छेउमा अर्को पनि राईको सिलाई पसल थियो । काकीलाई स्कुटरमा पुर्‍याएर फर्किने क्रममा अर्को पसलका ग्राहकले तीं राई दिदीलाई भने ‘भरे घर आउँदा मेरो लुगा सकाएर ल्याइदिनू ।’

ती दिदीले जवाफ दिइन् ‘म दमिनी हुँ र, घर-घर लुगा पुर्‍याउन ?’ भनेको सुने ।

अनि मैले प्रतिप्रश्न गरेँ, दमिनीले मात्रै घरमा लुगा पुर्‍याउन जान्छन् र दिदी ? तपाइँ पनि दमाईकै काम गरेर खाईराख्नु भएको छ त ।’ उनी भित्रबाट तथानाम गालीगलौच गर्दै बाहिर आइन् ।

उनले भनेको शब्द थियो ‘तँ आज स्कुटर चढेर हिँडिस भन्दैमा, तँ दमिनी होइनस् ?’ म सुन्न नसक्ने भएँ । उनको जस्तो गाली मलाई गर्न आउँदैन थियो । मलाई एकदम बेइजत महसूस भयो । म त्यहाँबाट एफएम स्टेशन गएँ र सोच्न थालेँ, म जतिको मान्छेलाई त बीच बजारमा कसैले जातीयताकै आधारमा यस्तो गर्नसक्छ भने अरुको अवस्था त झन के होला ?

मलाई लाग्यो मैले केही त गर्नैपर्छ । म प्रहरी चौकी पुगेर उजुरी दिएँ । इनस्पेक्टर आफ्नै मान्छे हुनभएका कारण तिनीहरूलाई समातेर पनि ल्याइयो । त्यसमा पनि सबै प्रहरीहरू अगाड़ी ममाथि हातपात समेत भयो । २ दिनपछि मेरो परीक्षा थियो । शारीरिक र मानसिक तनावले मैले परीक्षा पनि दिन सकिन । माफी माग्न लगाएर, कागज गराएर उनीहरूलाई छोडि़यो । आफैसँग घिन लागेर आयो– किन म यो जात मा जन्मिन पुगेछु ।

अर्को विषय हो प्रेमको । मैले पनि माया गरेकी थिएँ, मथिल्लो जातको युवासँग । उसले भन्थ्यो मलाई जातसँग मतलब छैन, म अन्तर्जातीय बिहे नै गर्ने हो । मलाई आफ्नो जातको केटी मन पर्दैन । मैले पनि सोचेँ, सायद मायामा जात हेरिँदैन होला । सायद मेरो सबैभन्दा ठूलो भूल नै त्यही थियो ।

४ वर्ष सम्बन्धमा र एक वर्ष रोएर खेर फालेँ । बिहे त उसले अन्तर्जातीय नै गर्‍यो तर म भन्दा ठूलो जातकोसँग गर्‍यो । त्यसपछि मायामा विश्वास रहेन । म विदेशी भूमिमा छु तर नेपाली साथी बनाउन मन लाग्दैन । घुमीफिरी जातकै कुरा आइहाल्छ ।

यी त सारांशका कुरा हुन् यस्ता अनगिन्ती भेदभावसँग रुमल्लिँदै छु अझै पनि । भोलिका दिनमा पनि त्यति धेरै परिवर्तन आउँछ भन्ने विश्वास गरिहाल्न सक्दिन । नाम पछाडिको शब्दको आधारमा कहिलेसम्म विभेद खप्‍ने ? कैलेसम्म ‘हामी पनि तिमीहरू जस्तै मान्छे हौँ, हामीलाई पनि मानिस सरहको व्यवहार गर ’ भनेर लडिरहने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment