Comments Add Comment

उद्घाटन भइसकेका आयोजनालाई २ अर्बभन्दा बढी बजेट

२७ जेठ, काठमाडौं । उद्घाटन भइसकेका आयोजनालाई आगामी वर्षका लागि सरकारले करिब २ अर्ब रुपैयाँ खर्चिनुपर्ने भएको छ । उद्घाटन भइसके पनि काम नसकिएका कारण सरकारले मेलम्ची खानेपानी आयोजना र धरहरा पुनर्निर्माणमा आगामी आर्थिक वर्षमा करिब २ अर्ब रुपैयाँभन्दा बढी खर्चिनुपर्ने देखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पद धरापमा परेपछि काम नसकिए पनि यी परियोजनाहरु उद्घाटन गरेका थिए ।

निर्माण सकेर हस्तान्तरण नहुन्जेल निर्मित र निर्माणाधीन संरचना ठेकेदार कम्पनीकै जिम्मेवारीमा हुन्छ । निर्माण नसकिंदै उद्घाटन गरेपछि आयोजनाको गुणस्तरमा समस्या देखिएमा सरकारले ती परियोजना ग्रहण गर्ने कि नगर्ने भन्ने समस्या हुने विज्ञले बताउँदै आएका छन् ।

सार्वजनिक खरीद तथा परियोजना व्यवस्थापन मामिलाका जानकार डा. राजेन्द्रप्रसाद अधिकारीका अनुसार ‘ठेकेदारबाट हस्तान्तरण नभएका आयोजना उद्घाटन गर्दा करार प्रक्रिया पूरा भएको अर्थ लाग्छ । उद्घाटन भएको संरचनाको गुणस्तरबारे प्रश्न उठ्दा ठेकेदार पन्छिए समस्या हुने विज्ञ अधिकारी बताउँछन् ।

करार नसकिँदै उद्घाटन भएका परियोजनामा अहिले पनि सरकारले करोडौं लगानी गर्न बाँकी रहेको देखिन्छ ।

मेलम्चीलाई ५७ करोड

काम नसकिँदै विभिन्न चरणमा उद्घान भएको मेलम्चीको काम सकिने समयसीमा अझै निश्चित भएको छैन ।

तत्कालीन खानेपानी मन्त्री मणि थापाले १० फागुनमा सिन्धुपाल्चोकको अम्बाथानमा स्विच थिचेर सुरुङमा पानी भर्न शुरू गरेका थिए भने २२ फागुनमा प्रधानमन्त्रीले सुन्दरीजल आइपुगेको पानी वाग्मतीमा खसाल्न स्वीच थिचेका थिए । १५ चैतमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारीहरूले पानी वितरण गर्न थालेका थिए ।

मेलम्ची खानेपानी आयोजनाको गत चैत १७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट पानी वितरणको शुभारम्भ गरेकी थिइन् । तर, मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको काम सकिएको थिएन ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार आगामी आर्थिक वर्षका लागि मेलम्ची आयोजनाको काम सकाउने गरी ५७ करोड रुपैयाँ विनियोजन भएको छ । मेलम्ची खानेपानी आयोजनाको स्थायी बाँध (ड्याम) र पानी छान्ने संयन्त्र (डिसेन्डर) भर्खरै तयार भएको छ ।

‘आगामी–साउन भदौभित्र ठेकेदारले आयोजना हस्तान्तरण गर्ने गरी काम गरिरहेको छ,’ उनले भने, ‘संरचना निर्माणको काम सबै सकिए पनि केही मेकानिकल गेट र त्यससम्बद्ध उपकरण जडानका केही काम बाँकी नै छन् ।’ अहिले ती कतिपय गेटहरु भन्सार नाकाहरुमा आइपुगेका छन् ।

काम नसकी आयोजना उद्घाटनको लागि हतार गर्दा एकपटक पानी हालेपछि खाली गराएर आयोजनाको सुरुङको सपरीवेक्षण गर्ने काम पनि हुन सकेको छैन । आगामी असार १ गतेबाट मेलम्चीको पानी सुरुङमा हाल्न बन्द गने योजना बनेको छ ।

त्यसअनुसार २ महिनाभित्र २७ किलोमिटर सुरुङको सुपरीवेक्षण सक्ने सरकारी योजना छ । तर, सुरुङमा ठूलो समस्या देखिएमा अझै बढी समय लाग्न सक्छ । त्यसपछि मात्रै मेलम्चीबाट नियमित पानी आएर उद्घाटनको लागि योग्य अवस्थामा पुग्नेछ ।

उद्घाटन गरिएको धरहरालाई पनि ठूलो बजेट

गत वैशाख ११ गते प्रधानमन्त्रीले उद्घाटन गरेको धरहराको पुनर्निर्माण परियोजना पनि आगामी आर्थिक वर्षभित्र सकाउने लक्ष्य छ । लक्ष्यअनुसार काम भयो भने आगामी वर्ष धरहरामा मात्रै डेढ अर्ब रुपैयाँभन्दा बढी खर्चिनुपर्नेछ ।

पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धर धरहराको ठेकदार कम्पनीलाई १ अर्ब ६४ करोडको भुक्तानी दिइसकेको बताउँछन् । ‘बाँकी काम आगामी आर्थिक वर्षभित्र सक्नुपर्ने हुन्छ,’ उनले भने, ‘महामारीका कारण म्याद थपिए पनि अर्को आर्थिक वर्षमा काम सकाउनुपर्ने हुन्छ ।’

बजेट पनि त्यसअनुसार नै व्यवस्था गरिएको उनले बताए । धरहराको परियोजना कुल ३ अर्ब ४५ करोडमा ठेक्का लागेको हो । सरकारले हतार–हतार टावर मात्रै उद्घाटन गरेपछि अहिले महामारीको कारण देखाएर धरहराको काम सुस्त भएको छ ।

काम नसकिएका कारण उद्घाटन गर्ने दिनमा धरहराको फेदको असरल्ल भागलाई कपडाले छोपेर ढोकातर्फको भागलाई भव्य रूपमा सजाएर रातो कार्पेट बिछ्याउनु परेको थियो ।

अहिले धरहराको बेसमेन्टसहित पार्किङ, बगैंचा, संग्रहालय लगायतका संरचना निर्माणको काम भइरहेको छ । छेउको सुन्धारालाई समेत समेटेर २९ रोपनीमा विस्तारित धरहरा क्षेत्रमा पार्क बनाउने सरकारी योजनाअनुसार काम हुँदैछ । धरहराको ठुटोलाई सिसाले छोपेर राख्ने काम पूरै बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रवीन्द्र घिमिरे

ट्रेन्डिङ

Advertisment