Comments Add Comment

निषेधाज्ञाका समयमा देशभर २०० लैङ्गिक हिंसा

२७ जेठ, काठमाडौँ । कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको अवधिमा देशभर २०० लैङ्गिक हिंसाका घटना भएका छन् ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको समयमा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २०० लैङ्गिक हिंसाका घटना घटेका हुन् ।

केन्द्रका अनुसार लैङ्गिक हिंसाका २०० घटनामध्ये २४ प्रतिशत अर्थात (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना भएका छन् । केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित भइरहँदा महिला तथा बालबालिकामाथि हत्या, यौनशोषण र बलात्कारजस्ता घटना भैरहेको बताए ।

केन्द्रका अनुसार यसै सातामात्र तीनवटा यौनजन्य हिंसाका घटना घटेका छन् । सुर्खेतको गुर्भाकोट गाउँपालिका-९ मा एक किशोरीमाथि मञ्जुरीविना मदिरा सेवन गरी यौन दुर्व्यवहार गरेको, बाँकेकी २२ वर्षीया महिलाको दाइजोमा मोटरसाइकल नपाएको निहुँमा परिवारकै सदस्यबाट हत्या भएको घटना छन् ।

यस्तै लमजुङको राइनास नगरपालिका-९ मोहोरियास्थित विद्यालयमा अध्यापन गर्ने शिक्षकले १४ वर्षीय एक किशोरीलाई पटकपटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

उक्त घटनालाई कमजोर बनाउन किशोरीलाई नै विभिन्न लाञ्छना लगाएर दोषी देखाई प्रहरीमा समेत उजुरी दर्ता गर्न अवरोध आएको केन्द्रले जनाएको छ ।

महिला र बालबालिकामाथि विभिन्न समयमा लैङ्गिक तथा यौन हिंसा भए पनि घटनालाई लुकाउनका लागि अनेक बहाना देखाउँदा न्याय प्राप्तिमा समस्या देखिएको सो केन्द्रले जनाएको छ ।

गम्भीर प्रकृतिका मानव अधिकार हननका घटना दर्ता, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाई महिलाको मानव अधिकारको सम्मान र संरक्षण गर्दै हिंसा प्रभावितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न ओरेकले सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment