Comments Add Comment

…अनि कसरी हुन्छ ‘सुखी नेपाली, समृद्ध नेपाल ?’

हरेक उदाउँदो बिहानीमा यो मनले सोच्छ, ओहो ! अब त मैले पनि पढाइ सकेर राम्रो जागिर गर्नुछ । खुशी बाँड्दै खुशीसँग जीवन जिउनु छ ।

मैले पनि मेरो देशका लागि केही गर्नुपर्छ । मसँगै मेरो देश पनि समृद्ध हुँदैछ । विगतमा दैनिक हजारौंको संख्यामा विदेशिएका दाजुभाइहरू अब आफ्ना परिवारसँगै यही माटोमा पसिना बगाएर खुशीसाथ जीवन जिउन पाइरहेका छन् ।

देशका कुना-कुनामा आधारभूत विकास र पूर्वाधारहरू बनिसकेका छन् । गरीबी र भोकमरीबाट कोही पीडित हुनुपरेको छैन । स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी सरकारले गरिसकेको छ । विकासले कोल्टे फेरेको छ । देश समृद्ध नेपाल बनिसकेको छ ।

सामाजिक एकता र सद्भाव उदाहरणीय बनेको छ । देशका युवालाई विश्वका अन्य विकसित देशहरू जस्तै आफ्नो छुट्टै नेपाली पहिचान सहितको खुशी नेपालीको देश बनाउन भ्याईनभ्याई छ ।

हरेक आमाबुवामा आफ्नी छोरीहरूमाथि केही हुने पो हो कि भन्ने भय छैन । हरेक क्षेत्रमा छोरीहरू शिर ठाडो पारेर ढुक्कका साथ अब्बल बनेर अघि बढिरहेका छन् । नेपाली हुनुमा गर्व गरिरहेका छन् ।

देशका नेताहरू गुट, क्षेत्र, वर्ग र पार्टी होइन अब राष्ट्र र जनताप्रति समर्पित छन् । अभिभावकत्व ग्रहण गरिरहेका छन्, वाह ! क्या गर्व छ, म नेपाली हुनुमा !

यही परिकल्पनामा खुशीले रमाइरहेकी म एकाएक झस्किएँ ।

मोबाइलमा समाचारको नोटिफिकेशन आएको रहेछ । आजको समाचार के आयो होला भनेर हेरेकी मात्रै के थिएँ, मन्त्रिमण्डल फेरिएछ ।

ओहो ! कुन विषयका विज्ञ के मन्त्री भएछन् भनेर मन्त्रीहरूको लामो सूची हेर्दाहेर्दै फेरि निराशाले अनुहार नै छोपिदियो ।

त्यहाँबाट दुःखी भएको मन सुखद खबरको आशामा अर्को समाचारमा मात्रै के आँखा परेको थियो, मनै भक्कानियो । दाइजोको निहुँमा हत्या, आफन्त र छिमेकीबाटै अबोध बालिका बलात्कृत, सुरक्षित भनिएको घरमै दर्दनाक हालतमा छोरीहरू, पीडितले न्यायका लागि खेप्नुपरेको सास्ती, स–साना बालबालिकाले अपनाइरहेको कुलतको यात्रा, अवैध लागूऔषध ओसारपसार, मानव बेचबिखन जस्ता घटनाले निकै रन्थनिएँ ।

दिनानुदिन बढ्दै गइरहेको बेरोजगार युवा जनशक्ति, आफ्नै देशमा केही गर्छु भनेर बसेका तर हतोत्साहित शिक्षित युवा जमात, एउटा इमानदार कर्तव्यनिष्ठ कर्मचारीले कर्तव्य पालनका सिलसिलामा भोग्नुपरेको कठिनाइहरू, राष्ट्रिय गौरवका आयोजनाबाट गौरवान्वित केही भ्रष्टाचारी उफ्… !

कोरोना महामारीका समाचारहरू केही दिनयता कमै हेर्ने गरेकी मैले आज भने केही सकारात्मक सुधारको आशा राखेर मोबाइलको स्क्रिन स्क्रोल गर्न थालें ।

एउटा अक्सिजन सिलिण्डरको मूल्य २२ हजार रे ! ४० हजार रे ! सामान्य ३५ रुपैयाँ पर्ने मास्क ३०० रे ! १८० को खानेतेल ३०० रे ! यो कुन दुनियाँको न्याय हो ? कहाँ छ सरकारको अनुगमन ? कहाँ छ सरकारको अनुहार ?

आजको अपडेट करीब ३ हजार आसपासमा संक्रमित, करीब ७ हजार हाराहारीमा निको भएका थिए । यसले मनलाई केही राहत दियो । लाग्यो अरू थोक हाम्रो वशमा नभए पनि जनताको राहत र उपचारको तयारी विनै सरकारले लागू गरेको निषेधाज्ञा पालना गर्ने हो भने रोग लाग्नबाट त बच्न पो सकिने रहेछ कि !

यति हेर्दाहेर्दै अर्को शीर्षकले फेरि दुःखी बनायो, बिरामीले अस्पतालमा उपचार खर्च तिर्न नसकेकाले सहयोगका लागि अपील । एउटा मात्रै हैन, आजभोलि रोजगारी गुमेका, श्रम गर्नबाट वञ्चित, परिवारमा अभिभावक गुमाएर विचल्लीमा परेका बालबालिकाका पीडाले सामाजिक संजालका पानाहरू भरिभराउ देखिन्छन् ।

हिजो भर्खरै दृष्टिविहीनहरूको एउटा समूह आएर सहयोगका लागि अपील गरेको सम्झिएँ । मैले आफूसक्दो सहयोग गरे पनि मनमा प्रश्न बिझायो के देशका सबै वर्ग, क्षमता, लिंग, अवस्था भएकाहरूका लागि सरकारको उपस्थिति यही हो त ? ती पटकपटक फेरिएका मन्त्री जनताका लागि कि मन्त्री पद उनीहरूको जागिरका लागि ?

एउटा अक्सिजन सिलिण्डरको मूल्य २२ हजार रे ! ४० हजार रे ! सामान्य ३५ रुपैयाँ पर्ने मास्क ३०० रे ! १८० को खानेतेल ३०० रे ! यो कुन दुनियाँको न्याय हो ? कहाँ छ सरकारको अनुगमन ? कहाँ छ सरकारको अनुहार ?

यस्तो महामारीका बेलामा त एकले अर्कालाई सक्दो सहयोग गर्नुपर्ने हो । मानवता देखाउनुपर्ने हो । तर यस्तो बेला पनि कुनियत राखेर पैसा कमाइरहेका र स्वार्थपूर्ति गरिरहेका ती मानवता हराएका के मानव ?

यो सबैका बीच पनि केही आशालाग्दा मानवरूपी भगवानलाई देखें, दिन–रात, भोकप्यास केही नभनी बिरामीको सेवामा सेवारत ती डाक्टर, नर्स, स्वास्थ्यकर्मी र सरसफाइकर्मीहरू, ती मनकारीहरू जसले यो कठिन समयमा कैयौंको दुईछाकको भोक मेटाइरहेका छन् । सलाम छ ती सपुतहरूलाई !

विडम्बना, सरकार भनी गनिएकाहरूको चासो त सरकार फेर्ने, नयाँ सरकार बनाउने, नयाँ मन्त्री नियुक्ति गर्ने, फेरबदलमै व्यस्त रहने, पैसा र पावरको नाममा न्यायबाट पीडितलाई विचलित बनाउने भएको देखिन्छ ।

जसको परिणाम न्यायप्रति पनि सरकारले आशंका सिर्जना गरिदिएको छ । छोरी चेली आफ्नै घरपरिवार, समाजमा असुरक्षित बनेका छन् । सरकारकै उच्च ओहोदामा भएका नारी नै आम छोरीचेलीले भोगिराखेका पीडामा मौन छन् । सरकारी निकायमा मौलाइरहेको भ्रष्टाचार, जालझेल र ढिलासुस्तीमा रुमल्लिएको छ सरकारको दैनिकी ।

यसले गर्दा राजनीतिक अस्थिरता, महामारीसँगै मौलाइरहेको सामाजिक विकृतिले हरेक नेपालीको मन–मस्तिष्कमा असन्तुलित भय सिर्जना गरेको छ । त्यसले मानिसमा सिर्जनशीलता मार्दै लगेको छ, र विचलित मानसिकता सिर्जना गरेको छ । दुःखी मन, रुग्ण मानसिकता भएका नेपालीलाई लिएर अनि कसरी हुन्छ ‘सुखी नेपाली, समृद्ध नेपाल ?’

(जोशी, कीर्तिपुर, काठमाडौंमा स्नातकोत्तर अध्ययनरत छिन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment