८ मंसिर, काठमाडौं । लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । सातौं हिउँदे अधिवेशनको पहिलो बैठक आज दिउँसो एक बजे बस्ने छ ।
पूर्वनिर्धारित कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी सूचना पढेर सुनाउने छन् । यसैगरी मन्त्रिपरिषद् पुनर्गठन र छैठौं अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र पनि सभामा सुनाइने छ ।
त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने क्रम सुरु हुने छ ।
हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् ।
थप विधेयकहरु प्रदेशसभामा पेश गर्नका लागि मन्त्रिपरिषद बैठकले स्वीकृति पनि दिइसकेको छ । लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेश गर्न मन्त्रिपरिषद बैठकले स्वीकृत दिएको हो ।
त्यसैगरी विभिन्न समितिका प्रतिवेदनहरू र महालेखा परीक्षकको प्रतिवेदन पनि दर्ता भई हिउँदे अधिवेशनमा छलफलका लागि प्रस्तुत हुनेछन् ।
लुम्बिनीमा गत ३१ भदौमा वर्षे अधिवेशन अन्त्य भएको थियो । एउटा अधिवेशन र अर्को अधिवेशनबीच ६ महिनाभन्दा बढी ग्याप हुन नहुने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया 4