Comments Add Comment
बहसमा जनवाद  :

‘वर्गीय असमानता कहालीलाग्दो छ’

विमल निभा आफूलाई खुलमखुल्ला ‘मार्क्सवाद कवि’ दाबी गर्छन् । आफ्नो कवितासंग्रहको परिचयमा पनि उनले आफू मार्क्सवाद सम्बद्ध सर्जक बताएका छन् । विद्रोही स्वभावका निभा अहिलेको व्यवस्थाले ‘नफरत’ सृजना गरेको भन्दै यो व्यवस्थालाई ‘अंकुरण हुन नसक्ने बीज’को संज्ञा दिन्छन् ।

अनलाइनखबरसँग एक वर्षअघि गरेको कुराकानीमा उनले ‘आजको व्यवस्थामा कोही पनि कम्युनिष्ट नभएको’ बताएका थिए । नाम कम्युनिष्ट भए पनि पार्टी र नेता सबै सामन्ती व्यवस्थाका मतियार भएको उनको ठहर थियो । ७० वर्षीय कवि निभाको तीनवटा कवितासंग्रह र पाँच व्यंग्यसंग्रह प्रकाशित छन् । उनी यतिबेला नयाँ कविता संग्रहको तयारीमा छन् ।

कवि निभासँग राजनीतिक, वैचारिक विषयमाथि अनलाइनखबरका लागि सहकर्मी निर्भीकजंग रायमाझीले गरेको कुराकानीको संक्षेप :

एक वर्षअघिकै अन्तर्वार्तामा ‘यिनीहरू कम्युनिष्ट नै होइनन्’ भन्नुभएको थियो । वास्तवमा के रहेछन् यिनीहरू ?

सामान्य अर्थमा भन्नुपर्दा यिनीहरू ज्याला नदिने मालिक जस्ता देखिए । जसले जनतालाई सधैं भरिया बनाए तर ज्याला दिएनन् । यसर्थ यो संसदीय व्यवस्थाका नाइकेहरू ‘हिंस्रक प्रवृत्तिका विदूषकहरू’ हुन् भन्न कुनै अप्ठेरो लाग्दैन ।

संसदीय व्यवस्थाका नाइकेहरू ‘हिंस्रक प्रवृत्तिका विदूषकहरू’ हुन् भन्न कुनै अप्ठेरो लाग्दैन । यो व्यवस्था यस्तो बीज रहेछ जुन अंकुरण हुन नसक्ने खालको रहेछ । यस्तो बीजबाट हामीले छहारी र फलको आश गर्नु व्यर्थ छ !

यिनीहरूमाथि टिप्पणी गर्नु नै लाजमर्दो भएकाले व्यक्तिविशेषमा भन्दा पनि म समग्र व्यवस्थाभित्र बढी खोट देख्छु । यो व्यवस्था यस्तो बीज रहेछ जुन अंकुरण हुनै नसक्ने खालको रहेछ । समयले नै यो व्यवस्था अंकुरित हुन नसक्ने बीज साबित गराइसकेको छ । यस्तो बीजबाट हामीले छहारी र फलको आश गर्नु व्यर्थ छ !

यो पनि पढ्नुहोस यिनीहरू कम्युनिस्ट नै होइनन् : कवि विमल निभा

‘संसदीय लोकतन्त्र’ अंकुरण हुन नसक्ने बीज बन्यो भन्नुभएको हो ?

यसलाई लोकतन्त्र भन्दा ‘लोक’ शब्दकै गरिमा रहँदैन । यसलाई त संसदीय व्यवस्था भन्नुपर्छ, मात्र संसदीय खेल । र यो संसदीय व्यवस्था जहाँ पनि ‘फ्लप’ बनिरहेको छ ।

जस्तो, कुनै सामान्य व्यक्तिले यो व्यवस्थामा लडेर चुनाव जित्न सक्दैन । पार्टी पछाडि हुने नेपथ्यको खेलमा जनसाधारण सामेल हुन सक्दैन । यहाँ त ठूला–ठूला घरानाका महाजन, भ्रष्ट प्रशासक, भ्रष्ट न्यायदाताहरूको मिलेमतो हुन्छ । उनीहरूले गर्दा संसदीय व्यवस्था अझै विषाक्त बनेको हो । फेरि सही ‘विकल्प’ प्रस्तुत गर्न नसक्दा हामी सबै यसमै पिल्सिनुपरेको छ ।

त्यसो भए यो व्यवस्थाको विकल्प के हो ?

संविधानमा संसदीय व्यवस्थाबाटै समाजवादतर्फ जाने भनियो । तर समाजवादको बाटोमा पनि भ्रष्टहरू नै प्रवेश गरे । यसैले अहिलेको अवस्था अलमलको छ । अलमलको फाइदा फेरि पनि संसदीय व्यवस्थाले नै उठाइरहेको छ ।

समग्रमा भन्नुपर्दा तुँवालोले ढाकेको अवस्था छ । केही पनि कुरा प्रष्टसँग देखिएको छैन । चारै दिशामा अन्धकार व्याप्त छ । र पनि जनवादी व्यवस्था नै हामीले चाहेको व्यवस्था हो, जहाँ जनसर्वोच्चता केन्द्रमा हुन्छ ।

नयाँ व्यवस्थाको लागि कुनै आन्दोलनको उठान भएको वा जनलहर सृजना भएको त देखिंदैन नि !

जनलहर उठ्न प्रयासरत नभएको होइन तर कुनै पनि परिवर्तन एकैचोटि हुँदैन । अलमल तथा आफ्नो बाध्यताले गर्दा कतिपयले यो व्यवस्थालाई समर्थन गरेका छन् । विस्तारै त्यो चेतनाबाट मुक्त भएर मानिसहरू संगठित हुँदै आन्दोलनको लहर शुरू हुन्छ ।

मेरो पुस्ताको कुरा गर्दा आन्दोलनको ऊर्जा समाप्त भएर गएको महसूस हुन्छ । हाम्रो पुस्ता थकित योद्धा झैं भइसकेको छ । किनकि हाम्रो पुस्ताले नेतृत्वबाट बारम्बार धोका खाएको छ । हामीले गरेको संघर्ष आजको दिनको लागि थिएन नि ! अबको पुस्ताले पुराना कमजोरी र विफलतालाई चिरेर अगाडि बढ्यो भने मात्र परिवर्तन सम्भव हुन्छ । नत्र यो अन्धकारमा हामीले उज्यालोको गीत गाउन सक्दैनौं ।

तपाईं स्वयं पनि थाक्नुभएको हो ?

म एउटा व्यक्ति मात्र थाकेको होइन, मेरो पुस्ता र समयको कुरा गरेको । हाम्रो संघर्ष व्यर्थ गयो भन्न खोजेको हुँ । हामीले पञ्चायतकालदेखि गरेको आन्दोलन अहिलेको व्यवस्थाको लागि थिएन नि ! यसैले मेरो पुस्ताले जुन मुक्तिको सपना साँचेर आन्दोलनहरूमा होमियो त्यो सार्थक बन्न सकेन । आन्दोलनका उपलब्धि संस्थागत हुन सकेनन् । यसैले थकित योद्धा जस्तो हुन पुग्यौं भनेको मात्र हो । म विमल निभा थाकेको कुरा गरेको होइन । परिवर्तनको खातिर म सधैं ऊर्जावान् रहन्छु ।

अहिले मानिसको जीवन मूल्य पनि क्षीण हुँदै गएको अनुमान कति सही हो ?

तपाईं जता हेर्नुस् भत्केको अवस्था छ । जे छ सबै बिग्रेको छ । सीमित व्यक्तिहरूले असीमित लाभ लिइरहेका छन् । जो अवसरबाट वञ्चित छन् तिनको जीवन एकदम खाल्डोमा परिरहेको छ । उठ्नै नसक्ने गरी मानिसहरूलाई गिराइएको छ । वर्गीय असमानताको यो कहालीलाग्दो अवस्थामा मान्छेको जीवनको मूल्य नदेखिएको साँचो हो ।

हाम्रो साहित्यले पनि उज्यालोको गीत गाउन नसकेको हो ?

साहित्य र संस्कृतिको कुरा गर्दा एउटै कोणले मात्र हेर्न हुँदैन । समग्रतामा हेर्नुपर्छ । सबै आयामको मेल भयो भने परिवर्तन सम्भव हुन्छ ।

एउटा व्यक्तिले साहित्य लेखेर, बोलेर मात्र परिवर्तन सम्भव छैन । समाजवादी व्यवस्थाको लागि एउटा युगले नै निरन्तर संघर्ष गर्नुपर्ने हुन्छ । अघि हामीले कुरा गरेको विकल्प भनेको ‘जनवादी व्यवस्था’ नै हो । त्यो व्यवस्थाको लागि साहित्य र संस्कृतिको बलियो माध्यम बन्न सक्छ । साहित्यकारहरूले दिशाबोध गर्न सक्छन्, तर उनीहरूमा सत्निष्ठा हुन आवश्यक छ ।

तपाईंले भनेजस्तो जनसर्वोच्चता कहिले आउँछ ?

यसैको लागि त विकल्प खोज्नुपर्ने बेला आएको हो । यो विकृत व्यवस्थाको कल्पना हामी कसैले गरेका थिएनौं । हामीले उज्यालो दिशाको लागि संघर्ष गरेका थियौं । जनताको शासनको लागि लडेका थियौं ।

आज हामीमा निराशा छाएको छ । तर यो निराशा क्षणिक हो । मानिसको पक्षबाट हेर्‍यौं भने पनि हामी आशावादी हुनैपर्छ । ‘आशा’भित्र पनि शक्ति लुकेको हुन्छ । आखिर समय पनि सधैं अग्रगामी हुन्छ । हामीले निरन्तर संघर्ष गर्‍यौं भने एकदिन जनसर्वोच्चता स्थापना हुन्छ नै । झट्ट सुन्दा ठूलाठूला गफ जस्तो लागे पनि हाम्रो लक्ष्य यही हो ।

अन्त्यमा, विमल निभाको कविता ‘शब्दकोश’ सान्दर्भिक ठानेर पुनः प्रकाशित गरेका छौं :

शब्दकोश

हिजोआज शब्दहरूले
एउटै अर्थ दिन थालेका छन् ।
उदाहरणको लागि
तपाईं संसदलाई संसद भन्नोस्
अथवा सुपरमार्केट
आन्दोलनलाई आन्दोलन भन्नोस्
अथवा धोकामनीषीलाई मनीषी भन्नोस्
अथवा गड्यौला
संविधानलाई संविधान भन्नोस्
अथवा चुट्किला
साहुकारलाई साहुकार भन्नोस्
अथवा रक्तजीवी
विचारलाई विचार भन्नोस्
अथवा वीर्यपात
नायकलाई नायक भन्नोस्
अथवा भारदार
न्यायलाई न्याय भन्नोस्
अथवा गाली
भद्रजनलाई भद्रजन भन्नोस्
अथवा दलाल
झण्डालाई झण्डा भन्नोस्
अथवा मखुण्डो
सिंहदरबारलाई सिंहदरबार भन्नोस्
अथवा जुवाघर
व्यवस्थालाई व्यवस्था भन्नोस्
अथवा जङ्गल
रक्षकलाई रक्षक भन्नोस्
अथवा अपराधी
राजनीतिलाई राजनीति भन्नोस्
अथवा ठेकेदारी
देशलाई देश भन्नोस्
अथवा वधस्थल
कुनै फरक पर्ने छैन
चलाखी, महल, सिद्धान्त
जननायक, साइकल, लामखुट्टे
बहुमत, घुस, घाँस
ढुङ्गा, कर्फ्यू, फूल
पहलमान, वंशावली, रात
बारूद, लाइसेन्स, जय नेपाल
समीकरण, गमला, गीत
मन, कमरेड, दमकल
पासपोर्ट, मानिस, हिमाल
पार्टी, श्रीपेच, खेल
दलबदल, आलोचना, पैसा
अभियान, बल, समाजवाद
अमेरिका, भकारी, अविश्वास
इतिहास, कूटनीति, दलदल आदिमा
अब कुनै भेद छैन

म निरन्तर पाना पल्टाएर हेरिरहेछु
लोकतन्त्रको शब्दकोशमा
शब्दहरूले अर्थ हराएका छन् !
०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment