Comments Add Comment

मुख्यमन्त्री पोखरेलको दाबी : सरकारलाई ४५ सांसदको समर्थन छ

फाइल तस्वीर

३० जेठ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको बहुमत सदस्यको समर्थन आफू नेतृत्वको सरकारलाई रहेको दाबी गरेका छन् ।

विपक्षी दलहरुले मुख्यमन्त्रीले बहुमत गुमाएको भनी सिद्ध गर्न चुनौती दिइरहेका बेला आइतबार प्रदेशसभा बैठकमा बोल्दै उनले सरकारको पक्षमा नेकपा एमालेका ३९ जना र जनता समाजवादीका ६ जना गरी ४५ जना सांसदको समर्थन रहेको दाबी गरे ।

‘कतिपय माननीयहरुले सरकारलाई बहुमत छैन भन्नुभएको छ, यो सरकारका पक्षमा ४५ जना सांसद हुनुहुन्छ,’ मुख्यमन्त्रीले भने, ‘विमलाजीको दल परिवर्तन गर्न मिल्दैन । जनता समाजवादीका ४ जना सरकारमै हुनुहुन्छ । राजनीतिक बहुमत यही हो ।’

तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट उपनिर्वाचन जितेकी विमला खत्री वलीले वैशाख १८ गते नै माओवादी केन्द्र रोजेकी थिइन् । तर मुख्यमन्त्री पोखरेलले उनलाई एमाले सांसदकै रुपमा गणना गरेका छन् ।

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ ।

सभामुख संविधानको संरक्षणकारी भूमिकामा हुनुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका बारेमा प्रदेशसभा नै स्पष्ट नरहेको बताए । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीका ६ जना सांसद छन् । जसमध्ये महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका ४ जना हाल प्रदेश सरकारमा नै रहेका छन् । जसपाको उपेन्द्र यादव पक्ष भने विपक्षी गठबन्धनको साथमा छ ।

मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टी संसदीय दलमा बहुमतले निर्णय हुन दिनुपर्ने बताए । ‘बहुमतको निर्णय मान्नुपर्छ भन्ने हो, ४ जना सदस्यले मानेको कुरालाई मानेर जाउँ भन्ने हाम्रो कुरा हो,’ उनले भने, ‘दल विभाजित पनि नहुने, एक पनि नहुने हुँदा उपधारा २ कार्यान्वयन हुन सक्दैन, प्रदेशसभा सचिवालयले दलका विषयमा अन्योल प्रष्ट पार्नुपर्छ ।’

नीति तथा कार्यक्रम बहुमतले पारित

प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

जेठ २५ गते प्रदेश प्रमुख धर्मनाथ यादवले नीति तथा कार्यक्रम पेश गर्दा विपक्षी सांसदहरुले बहिष्कार गरे पनि छलफलमा भाग लिएका थिए । छलफलका क्रममा विपक्षी दलका सांसदहरुले सरकारको वैधानिकतामाथि नै प्रश्न उठाउँदै नीति तथा कार्यक्रमको आलोचना गरेका थिए ।

आइतबार मुख्यमन्त्री पोखरेलले संसदमा उठेका प्रश्नहरुको जवाफ दिएपछि निर्णयार्थ प्रेश हुँदा बहुमतले नीति तथा कार्यक्रम पारित भएको छ । विपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रम पारित होस् भन्ने मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मत जाहेर गरेका थिए । जनता समाजवादी पार्टीले विपक्षमा मतदान गर्न ह्वीप नै जारी गरेको थियो । मत विभाजन नगरिएकाले नीति तथा कार्यक्रमको पक्ष र विपक्षमा कति कति मत खस्यो भन्ने गणना भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
टोपराज शर्मा

ट्रेन्डिङ

Advertisment