+
+

गोड्से बन्ने र जंगबहादुर खोज्नेहरूले नदेखेको उपचार विधि

गणेश कार्की गणेश कार्की
२०७८ जेठ ३० गते १७:३९

‘देशमा सिर्जनशील निरंकुशता चाहियो’ शब्द खेलाउन सक्नेहरू यसो भन्छन् । ‘सबैलाई तह लाउन फेरि जंगबहादुर चाहियो’ शब्दको वास्ता नगर्नेहरू भन्ने गर्छन् ।

‘आर्मीले कर्‍याप्प पार्दिए हुन्थ्यो’ भन्ने पोस्टहरू सामाजिक सञ्जालमा धेरै जनाले लेखेको मैले पढेको छु । बर्मामा भएको सैनिक ‘कु’ देखेर नेपालमा पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ने कामना गर्नेहरू पनि मैले देखेको छु । यो सोचको सीमा त्यहाँसम्म पुग्यो जसको परिणाम ‘परिआए म गोड्से बन्छु’ भन्दै गरेको भाषण प्रदेश सभामा सुनियो ।

मानिसहरूको नकारात्मकतातिरको आकर्षण र उत्साहलाई थाती राखौं । सकारात्मक भएर सोच्दा तिनलाई अहिलेको लोकतन्त्र मन नपरेर वा आफ्नै स्वतन्त्रता र सम्भावना बोझ भएर आफैं गोड्से हुन वा जंगबहादुरहरूबाट शासित हुन खोजेका होइनन् । एकछिन ती तर्क साँच्चै कार्यान्वयन हुन्छ भने के होला भन्ने परिणामहरूलाई वास्ता नगरौं । दुरुस्तै उनीहरूले भने जस्तै भो भने हामी कहाँ पुग्छौं भन्ने बाटो पनि नसोचौं ।

उनीहरूले किन यस्तो धारणा बनाउँछन् र आवाज निकाल्छन् भन्ने खोजौं । मैले यो लेख्दै गर्दा पनि मैले तिनले किन त्यसो भन्छन् भन्ने बुझेको छु र तपाईंले माथि पढ्दै गर्दा पनि तिनले किन त्यस्तो सोच्छन् भन्ने बुझ्नुहुन्छ ।

राजनीति भद्रगोल छ । यस्तो भद्रगोल किन भयो भन्ने बहानाहरू अनि अरूप्रति आरोपित गर्न मिल्ने कारण प्रशस्त होलान् तर गणतन्त्रवादी, लोकतन्त्रवादी, राजतन्त्रवादी वा जुनसुकै वादी भए पनि वा नभए पनि कसैले पनि यो सत्यलाई नकार्न सक्दैन कि राजनीति नसोचेको भद्रगोल भएको छ ।

यसको प्रत्यक्ष असर देख्न सकिन्छ, संविधान लेखिएपछि देखिएका आशा निराशामा फेरिएका छन् । राजनीतिमा नैतिकता र लाज भन्ने केही बाँकी भएको जस्तो देखिंदैन । दुई दिन अगाडि विश्वासको मत नपाएको प्रधानमन्त्री, मुख्यमन्त्री दुई दिनमा मसँग बहुमत छ भन्दै दौडिन्छ ।

कोही आइदेला र गरिदेला भनेर जंगबहादुर पर्खिने वा अमूक व्यक्तिलाई हटाउन गोड्से बन्नुपर्ने व्यवस्था होइन, लोकतन्त्र । इतिहासले प्रमाणित गरिसकेको छ कि सुनौलो बिहानी न जंगबहादुरहरूले ल्याए, न गोड्सेहरूले ।

संविधानका निर्माताहरूले नै लोकतन्त्र र संविधानको यति हुर्मत लिइसकेका छन् कि दीपक मनाङेहरू लोकतन्त्र र संविधानको संरक्षक बन्न पुगेका छन् । उनीहरूका कर्म बरु नैतिक देखिन थालेका छन् ।

यी सबै कुरा किन भइरहेछन् ? नेताहरू खराब भएर भन्ने धेरैको तर्क हुन्छ । व्यवस्था नै गलत भएर भन्ने पनि छन् । अर्को पक्षलाई बेसमारी गाली गर्न पुग्ने तर्कहरू होलान् ।

देश/प्रदेश हाँकिरहेका नेताहरूकै प्रोफाइल, पेजमा पढ्नै नसकिने गालीहरू हुन्छन् तर फेरि तिनै गाली खाइरहेकाहरू नै हाम्रा नेता भइरहेछन् सधैं ।

यस्तो किन भइरहेछ ? गाली खाने पनि तिनै र जित्ने पनि तिनै ? यो विरोधाभास हामी किन भोगिरहेछौं ? हाम्रो बढ्दो निराशाको मुख्य कारण नै भएको छ कि हामी सत्तासीनबाट निराश छौं तर विकल्पमा उभिएकाहरूलाई हेरेर पनि आशा जाग्दैन । लाग्छ, हामी यस्तो भुलभुलैयामा फस्यौं, जहाँ घुमेको घुम्यै गर्नुको विकल्प छैन ।

‘सतीले सरापेको देश’ भन्ने पुरानो वाक्यले यी निराशाहरू छोप्दैन । राजनीतिक रूपमा हामी निराश र दुःखी छौं । बुद्धले २५०० वर्ष भन्दा अगाडि भनेका थिए, ‘दुःख छ ।

दुःखको कारण छ । दुःखको निवारण छ ।’ हामीले राजनीतिका दुःखहरू भोगिरहेका छौं । दुःखको कारण नेतालाई मानिरहेका छौं र निवारण स्वरुप हामी जंगबहादुर खोज्छौं, गोड्से हुन खोज्छौं ।

हाम्रो राजनीतिक दुःखको यही कारण र यही निवारण हो त ? इतिहासमा कहिल्यै प्रयोग नभएको विकल्प हो त त्यो ? पक्कै होइन । त्यसो भए उही कर्म गरेर हामी फरक परिणामको अपेक्षा कसरी गर्न सक्छौं ?

जान्नेहरूले भनेकै छन्– फरक परिणामको अपेक्षा गरेर उही कार्य पटक पटक गर्नु मूर्खता मात्रै हो । हामी मूर्ख नबन्ने हो र फरक परिणामको अपेक्षा गर्ने हो भने इतिहासमा गरे भन्दा भिन्न कार्य गर्नै पर्छ ।

गोड्से बन्ने र जंगबहादुर खोज्नेहरूले नजरअन्दाज गरेको कुरा हो, नेताहरूको अभद्रता र राजनीतिक भद्रगोल हाम्रो दुःखको लक्षण मात्रै हो, रोग अर्कै छ । लक्षणको मात्रै उपचार गरियो भने केही समय बिसेक भए जस्तो देखिएला तर रोग निवारण हुँदैन । बरु झन् ठूलो लक्षण बनेर प्रकट हुन्छ । झन् घातक बन्छ ।

अहिले मुलुकको राजनीतिमा कोही जंगबहादुर र गोड्से नभएर फोहोर भएको होइन । राजनीति फोहोर भएको यो जमेर हो । पानी जमिरह्यो भने फोहोर बढ्दै जान्छ र विषाक्त बन्छ । हाम्रो देशको राजनीति छोटो–छोटो समयमा चलायमान भएको देखिन्छ तर त्यसका कर्ताहरू फेरिएका छैनन् । कर्ताहरूको हिसाबले यो जमेको पानी जस्तै भएको छ ।

यसको अर्थ हो हामीले राजनीतिमा निकासको व्यवस्था राख्नमा गल्ती गरिरहेका छौं । अंग्रेजीमा एउटा भनाइ छ, जसको नेपाली रूपान्तरण यस्तो हुन पुग्छ, ‘शक्ति सधैं भ्रष्ट हुन खोज्छ ।’ यसैले लोकतन्त्रमा शक्तिपृथकीकरण मार्फत यसलाई सन्तुलनमा राख्न खोजिन्छ । त्यतिले मात्र नपुगेर आवधिक निर्वाचनमार्फत शक्तिलाई भ्रष्ट हुनुपूर्व अर्को शक्ति तयार पार्नतिर लागिन्छ ।

हाम्रो आवधिक निर्वाचनले त्यो परिवर्तन पनि केवल चाकाचुली जस्तो बनाइदियो । केही समय जो माथि जान्छ र केही समयमा उही माथि जाने गरी तल पुग्छ । हेर्दा परिवर्तन भए जस्तो देखिन्छ तर वास्तवमा एउटा चक्र मात्रै पूरा भइरहेको हुन्छ ।

उही मान्छे वा उही समूह स्थान फेर्छ र एउटा वृत्तमा घुमिरहन्छ, नमरुन्जेलसम्म । हामीले निकासको सही व्यवस्था नगर्नाले निर्वाचनको आवधिक सिद्धान्तको चुरो कुरालाई महसूस गर्नै पाएनौं ।

राजनीतिमा एकपल्ट प्रवेश गरेको मान्छे आजीवन राजनीतिलाई पेशा बनाएर बस्छ । कहिल्यै पदमा नपुगेको पदमा पुग्न भिडिरहन्छ । एक पटक पदमा पुगेको दोस्रो पल्ट पुग्नका लागि पालोमा छ । दोस्रो पल्ट पुगिसकेको त छोडौं, ज्योतिषी हेराएर पाँचौं पल्ट पदमा पुग्न पालो पर्खिनेहरू पनि अझै छन् ।

पटक–पटक परीक्षण भएर पटक–पटक असफल भए पनि ऊ नियमभित्रै बसेर पालोमा छ । पालोमा बस्न उसलाई नियमले फरक पारेको छैन । बरु राजनीतिबाट ऊ कहिले निस्किन्छ भन्ने उसको व्यक्तिगत विचार वा उसको शारीरिक अस्वस्थताको हद र मृत्युले मात्र फरक पर्छ ।

स्वेच्छा वा मृत्युको कारणले मात्रै हुने सत्ता परिवर्तन लोकतन्त्र हुनै सक्दैन । लोकतन्त्रको आधारभूत कुराको महसूस नभएको हामी लोकतन्त्रमा छौं कि छैनौं भन्नेमै लामो बहस गर्न सकिन्छ तर जति बहस गरे पनि उसको निष्कर्ष निस्किंदैन ।

देशमा सिर्जनशील निरंकुशता चाहने होस् वा जंगबहादुर चाहने होस्, उसले खासमा खोजेको समाधान र रोगको निवारण राजनीतिमा निकासको व्यवस्थाले मात्रै सम्भव हुन्छ । सो निकासको व्यवस्था लोकतन्त्रको आधारभूत सिद्धान्तको चुरो पछ्याएर मात्रै हुन्छ ।

निकासको व्यावहारिक साधन के ?

अहिलेका शीर्ष नेताहरूको उमेर हेरेर हामीलाई के भ्रम छ भने उमेरको हदबन्दीले राजनीतिले निकास पाउँछ । यसैले कतिपयको तर्क हुन्छ कि राजनीतिमा लाग्नेहरूको उमेर ६० गरियोस् । कति दलहरूले त उमेर हदबन्दी पनि राखेका छन् ।

तर यो समाधान अहिलेका नेताहरूलाई हेरेर मात्रै सोचिएको हो । त्यसबाट आउने समाधानले लक्षणको मात्रै निदान गर्छ । दीर्घकालीन समस्याको निवारणको आधार यी नेताहरूको उमेर मात्रै होइन ।

उमेर हदबन्दीको सोचाइले वृद्धहरूमाथि हाम्रो समस्याको कारण थुपार्छ र युवाहरूलाई निरपेक्ष योग्य पात्रका रूपमा उभ्याउँछ । सैद्धान्तिक रूपमा युवा हुनुको अर्थ नयाँ सोच राख्नु हो भन्न सकिएला तर त्यसलाई कानूनी रूपमा मापन गर्न सकिंदैन । युवा हुनुको व्यावहारिक अर्थ सोच वा कर्मसँग होइन, जन्मसँग मात्रै हुन्छ । र, ढिलो जन्मिंदैमा कोही पनि योग्य बन्दैन ।

एउटा कल्पना गरौं । युवा मात्रै राजनीतिमा हुनेछन् भनेर उमेर हद राखियो भने के अवस्था बन्ला ? उमेरको हदबन्दी ५५ वा ६० वर्ष राखौं । एउटा युवा २०–२५ वर्षमा राजनीतिमा प्रवेश गर्ला । उमेरको हदबन्दी अनुसार उसले ५०–६० वर्षसम्म राजनीति गर्न पाउँछ । यसरी हेर्दा उसले ३५ देखि ४० वर्ष राजनीति गर्छ । अहिले हामीले कामै नलाग्ने बुढा भए भनेर फ्याल्नुपर्ने धेरै नेताले लगभग त्यति नै वर्ष राजनीतिमा बिताएका छन् । यसैले उमेर हदको व्यवस्थाले यो समस्या समाधान गर्दैन । हामीले सोचे जस्तै राजनीतिबाट निस्किने ढोकाको काम गर्दैन ।

यसैले उमेर हद भन्दा राजनीतिलाई मूल पेशा बनाउनबाट रोक्न अन्य उपयुक्त साधन र नियम बनाउनुपर्छ । यसका लागि उमेरलाई भन्दा पनि कार्यकाललाई आधार बनाउनु उपयुक्त हुन्छ । जस्तै कुनै पनि तहको कुनै पनि राजनीतिक पदमा बसेको व्यक्तिले उही तहका कुनै पनि राजनीतिक पदमा दुई वा तीन पटक भन्दा बढी उम्मेदवार हुन वा पदमा बस्न योग्न नहुने भन्न सकिन्छ ।

यस्तो भन्ने हो भने उही व्यक्ति पुनः भर्ना गरेर वर्षौंसम्म एउटै कलेजको स्ववियुको नेता भइरहने जस्तो अवस्था राजनीतिमा रहँदैन । सके दुई वा तीन पटकसम्ममा पदमा पुगिसक्छ र आफ्नो ल्याकतले भ्याएसम्म योगदान दिइसक्छ । नसके बाटो लाग्छ । नयाँ प्रवेशीले मौका पाउँछन् ।

यो हदबन्दीको सबैभन्दा राम्रो पक्ष के हुन्छ भने जीवनभर राजनीतिलाई पेशा बनाउने परिपाटीको अन्त्य हुनेछ । राजनीतिक पूर्णकालिक पेशा नभएर अल्पकालिक हुनेछ । कसैले निर्वाचन घोषणा भएपछि राजनीतिमा सक्रिय भएर जितेमा बढीमा तोकिएको कार्यकालभरि र हारेमा तत्कालै आफ्नो पेशामा फर्किन पर्नेछ ।

समस्याको पहिचान र समाधानका लागि प्रयोग गर्न सकिने साधनको यो एउटा उदाहरण मात्रै हो । यस्ता साधनहरू अरू पनि प्रशस्त हुन सक्दछन् । बुझ्नुपर्ने कुरा के हो भने लोकतन्त्र घर जस्तै हो । घर बनाइसकेर मात्रै हुन्न । सरसफाइ गरिराख्नुपर्छ । मर्मतसम्भार गरिराख्नुपर्छ ।

कुन कुनामा वा कहाँ सफा गर्नु छ र कहाँ मर्मतसम्भार गर्नु छ भन्ने थाहा पाउनुपर्दछ र आवश्यकता अनुसारका साधनहरू प्रयोग गर्नुपर्दछ । अनि मात्रै घर सफा र सुरक्षित हुन्छ । त्यो गर्ने हामीले नै हो । त्यसका लागि साधन खोज्ने हामीले नै हो ।

कोही आइदेला र गरिदेला भनेर जंगबहादुर पर्खिने वा अमूक व्यक्तिलाई हटाउन गोड्से बन्नुपर्ने व्यवस्था होइन लोकतन्त्र । यसले चमत्कारमा होइन, एकतामा विश्वास गर्छ । र, इतिहासले प्रमाणित गरिसकेको छ कि सुनौलो बिहानी न जंगबहादुरहरूले ल्याए, न गोड्सेहरूले । उनीहरूको कर्म झन् ठूलो विस्फोटको तयारी जस्तो मात्रै बन्यो ।

लेखकको बारेमा
गणेश कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?