Comments Add Comment

प्रजातन्त्रको सुदृढीकरणमा प्रशासनको भूमिका

प्रजातन्त्र जनमुखी शासन प्रणालीको प्रतिरूप हो । यो व्यक्तिगत स्वतन्त्रता, न्याय, शान्ति तथा अग्रगमनको आधारशिला हो । यसैले प्रजातन्त्र आम मानव समुदायको प्राथमिक चाहनाको विषय पनि हो । प्रजातन्त्र सैद्धान्तिक विषय मात्र नभएर उपरोक्त विषयको व्यावहारिक प्रयोगको अवस्था पनि हो ।

बहुलवाद, प्रतिस्पर्धा, संवैधानिक सर्वोच्चता, कानूनको शासन, शक्तिपृथकीकरण, समता, मौलिक हक र अधिकारको प्रत्याभूति प्रजातन्त्रका आधारभूत पक्ष हुन् । शान्ति, आर्थिक–सामाजिक–सांस्कृतिक विकास, मानव अधिकार प्रजातन्त्रका सकारात्मक उपज हुन् ।

प्रजातन्त्रले राजनीतिक आयामको सशक्तिकरण गर्दै आर्थिक र सामाजिक आयाममा समेत परिवर्तन ल्याउने सामर्थ्य राख्दछ । यसैले प्रजातन्त्र आदर्श शासकीय पाटोको सुन्दर र अपरिहार्य पक्ष हो । जनताले वास्तविक प्रजातन्त्रको अनुभूति मूलतः दुई तहबाट गर्ने गर्दछन् । पहिलो राजनीतिक परिपाटीले अँगालेको समग्र शासकीय परिपाटी र दोस्रो जनताले सेवा प्राप्ति गर्ने विन्दुमा रहेका प्रशासनिक संयन्त्रको उपस्थिति र प्रभावकारिता ।

प्रजातान्त्रिक सरकार सधैं असल, प्रभावकारी, जनमैत्री र जनसरोकारको शीघ्र सम्बोधन गर्ने कार्यमा तल्लीन रहेको हुन्छ । सार्वजनिक प्रशासकहरू सेवा प्रवाहका प्रभावकारी मध्यस्थकर्ता हुन् । सरकार सार्वजनिक सेवाको आपूर्तिकर्ता हो भने जनता सार्वजनिक सेवाको मागकर्ता । सरकार र जनताको सम्बन्ध सेवाको वितरक र प्रापकको रूपमा रहेको हुन्छ ।

सरकार र जनताको बीचमा सेवा प्रवाहको जिम्मा लिएर बसेको प्रशासनयन्त्र वा सार्वजनिक प्रशासन जति प्रभावकारी भयो त्यति नै जनताको सरकारप्रति सन्तुष्टि र अपनत्वबोध हुन जान्छ । प्रजातान्त्रिक सरकारको कार्यशैलीलाई प्रभावकारी बनाई प्रजातन्त्रको सम्बद्र्धन गर्ने कार्यमा प्रशासनको भूमिका विभिन्न आयाममा महत्वपूर्ण रहने गर्दछ ।

सार्वजनिक प्रशासन राज्यद्वारा जनता समक्ष प्रतिबद्धता गरिएका उद्देश्यहरूको परिपूर्तिको लागि निरन्तर रूपमा दत्तचित्त, तयारी अवस्थामा रहनुपर्ने र सक्रिय रहनुपर्ने अंग हो । सार्वजनिक प्रशासन सेवा प्रवाहको विषयसँग अति नजीकबाट परिचित हुनुपर्ने, विज्ञ र व्यावसायिक समेत हुनुपर्दछ । यही विज्ञता र व्यावसायिकताबाट सेवा प्रवाहको सुनिश्चितता र सेवाको गुणस्तरको प्रत्याभूति गर्ने कार्यमा प्रशासनको भूमिका महत्वपूर्ण हुने गर्दछ । सेवा प्रवाहको सुनिश्चितता र सेवाको गुणस्तरको प्रत्याभूतिबाट नै प्रजातान्त्रिक शासन संयन्त्रप्रति जनताको विश्वास वृद्धि हुन जान्छ ।

राजनीतिज्ञ बसका चालक हुन् भने प्रशासनयन्त्र इन्जिन । चालकले आफ्नो भूमिका सही रूपमा सम्पादन गर्ने र इन्जिन सधैं चलायमान रहने हो भने यात्रा सदा सुखद र सुरक्षित रहन्छ । यदि यी दुवैले आफ्नो भूमिका सही रूपमा सम्पादन गरेनन् वा आफ्नो स्थान परिवर्तन गरे भने यात्रा असहज बन्न सक्दछ । यसर्थ यी दुवैबीच कायम लक्ष्मणरेखाको मर्यादा भित्र रही सहयोगी र परिपूरक अंगको रूपमा प्रशासन रहनु आवश्यक छ ।

राज्यले जनता समक्ष पुर्‍याउनुपर्ने सेवा–सुविधालाई विषयगत विज्ञताको आधारमा जनताको निकटतम दूरीमा रहेर सेवा प्रवाह गर्ने उद्देश्यका साथ नीतिगत विषय र विकासात्मक कार्यको लागि क्षेत्रगत मन्त्रालय अन्तर्गत आवश्यकता अनुसार विभाग र सेवा प्रवाहको लागि स्थानीय तहहरूमा विभिन्न कार्यालयको व्यवस्था गरिएको हुन्छ ।

दूरदराजसम्म फैलिएको यो विशाल संयन्त्रले जनतालाई सेवा प्रवाह गर्ने आधारशिला प्रदान गरेको मात्र होइन कि राज्यको उपस्थिति समेत जनाइरहेका हुन्छन् । जनताको निकटतम दूरीमा रहेको प्रशासनको उपस्थितिले जनताले आफ्नो चाहना र आवाजलाई  प्रशासनिक संयन्त्रमार्फत सरकारसम्म पुर्‍याउने अवसर पाउँछ, जुन कुरा जनताले प्रजातन्त्रको अनुभूति गर्न सक्ने एउटा आधार हो ।

प्रशासन विज्ञ, व्यावसायिक, क्षमतावान व्यक्तिहरूको समूह तथा राज्यको स्थायी संयन्त्र हो । यसै कारणले सरकारी नीतिनिर्माण कार्यान्वयनमा प्रशासनिक संयन्त्रको महत्वपूर्ण भूमिका रहेको हुन्छ । प्रशासकीय सक्रियताको सन्दर्भलाई पनि यसै परिवेशमा हेर्न सकिन्छ । प्रशासन निर्वाचित सरकार (राजनीति) र सेवाग्राही (जनता) बीचको सम्बन्ध सेतु हो । यसर्थ प्रशासनिक संयन्त्र जति प्रभावकारी हुन्छ त्यति नै सरकार र जनताबीचको सम्बन्ध असल हुने गर्दछ । यही असल सम्बन्धले नै सरकारको दिगोपनाको सुनिश्चितता गर्ने गर्दछ ।

प्रशासनयन्त्रको सकारात्मक पूर्व सक्रियता (प्रो–एक्टिभनेस) ले एकातर्फ राजनीतिज्ञले आफूले परिकल्पना गरेको दीर्घकालीन सोचलाई नीतिनियम र प्रक्रियामा आबद्ध गराएर जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न सक्छन् भने कार्यान्वयनको क्रममा जनअपेक्षाको सम्बोधन भयो भएन र त्यसमा के कस्ता सुधारको आवश्यकता छ भन्ने कुराको पृष्ठपोषण प्राप्त भई त्यसलाई आगामी दिनको कार्ययोजनामा परिमार्जन वा समाहित गर्न सकिन्छ । सकारात्मकता सहितको निष्पक्ष र सक्रिय प्रशासनिक संयन्त्र शासकीय प्रणालीको संवाहक तथा प्रजातान्त्रिक शासन प्रणालीको लागि आवश्यकीय पक्ष हो ।

प्रशासन र राजनीति शासकीय प्रणालीका अभिन्न र परिपूरक अंग हुन् । राजनीति सधैं भविष्यद्रष्टा, महत्वाकांक्षी, शीघ्र परिणाम खोज्ने, जोखिम लिने, परिणामको उपलब्धताबाट सरकारको लोकप्रियता खोज्ने र यसै आधारमा सरकार वा आफ्नो दलविशेषको दिगोपना कायम राख्ने चाहनाबाट अभिप्रेरित भएको हुन्छ । तर राजनीतिज्ञको यो चाहना परिपूर्ति राजनीतिज्ञले आफैं गर्न सक्दैन यसमा कानूनी र प्रक्रियागत प्रयोगको अधिकारको हैसियतले प्रशासनयन्त्रको निरन्तर सहयोगको आवश्यकता पर्दछ ।

प्रशासन यन्त्र विज्ञ, दक्ष, विषयको ज्ञान, कुनै कामको सकारात्मक र नकारात्मक अन्तरसम्बन्धसँग परिचित हुन्छन् । राजनीतिज्ञले भविष्यको अमूर्त चित्रको परिकल्पना गर्दछ भने प्रशासनयन्त्रले त्यसलाई मूर्तरूप दिने गर्दछ ।

राजनीतिज्ञ बसका चालक हुन् भने प्रशासनयन्त्र बसका इन्जिन । चालकले आफ्नो भूमिका सही रूपमा सम्पादन गर्ने र इन्जिन सधैं चलायमान रहने हो भने यात्रा सदा सुखद र सुरक्षित रहन्छ । यदि यी दुवैले आफ्नो भूमिका सही रूपमा सम्पादन गरेनन् वा आफ्नो स्थान परिवर्तन गरे भने यात्रा असहज बन्न सक्दछ । यसर्थ यी दुवैबीच कायम लक्ष्मणरेखाको मर्यादा भित्र रही सहयोगी र परिपूरक अंगको रूपमा प्रशासन रहनु आवश्यक छ ।

प्रजातान्त्रिक शासन प्रणालीमा सरोकारवालाहरूको उपस्थिति र सम्बन्ध महत्वपूर्ण विषय मानिने गर्दछ । सार्वजनिक सेवा विविध सरोकारवालाहरूको अन्तरसम्बन्धको सम्मिश्रण भएको हुँदा यी सरोकारवालाहरूको बीचमा धेरै आवश्यकता रहेका हुन्छन् । आवश्यकताको सम्बोधनको आधारमा नै सरोकारवालाहरूको सम्बन्धको निर्धारण हुने गर्दछ । यस्ता आवश्यकताको एकल वा सामूहिक प्रयत्नद्वारा समाधानको निमित्त गरिने प्रयास नै सार्वजनिक मामिलाहरूको व्यवस्थापन हो ।

सार्वजनिक आवश्यकताको माग र आपूर्तिमा धेरै सरोकारवालाको उपस्थिति र सहकार्यले एउटा अन्तरसम्बन्ध स्थापित गरेको हुन्छ । सबै सरोकारवालाको सुमधुर सम्बन्धले सार्वजनिक मामिलाहरूको व्यवस्थापनलाई प्रभावकारी बनाइदिन्छ । यो नै सार्वजनिक मामिलाको व्यवस्थापनको सुन्दर पक्ष हो । नागरिक समाज, सामुदायिक संस्था, निजी क्षेत्र, व्यापारिक र व्यावसायिक समुदाय सार्वजनिक मामिलाका सरोकारवाला हुन् ।

सरकार आफैंमा एउटा महत्वपूर्ण सरोकारवाला हो । यी सरोकारवालाहरू भिन्न–भिन्न परिस्थितिमा भिन्न–भिन्न भूमिकामा देखिने गर्दछन् । सार्वजनिक मामिलाहरूको व्यवस्थापनमा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहने तथा यी सरोकारवालाको भूमिका भिन्न–भिन्न हुने र यी भूमिकाहरूको सकारात्मक अन्तरसम्बन्धले सार्वजनिक मामिलाको व्यवस्थापनलाई प्रभावकारी बनाइदिन्छ । यसर्थ प्रजातान्त्रिक शासकीय प्रणालीमा सरोकारवालाहरूसँग सहकार्य र समन्वय क्षमताबाट सार्वजनिक मामिलाको व्यवस्थापनमा सार्वजनिक प्रशासनले प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछन् ।

सार्वजनिक प्रशासन सरकारको सेवा प्रवाहको एक महत्वपूर्ण र आवश्यकीय संयन्त्र हो । सरकार र जनताबीचको दरिलो र स्थायी सम्पर्क सूत्रको रूपमा रहेको सार्वजनिक प्रशासन सरकारको स्थायी संयन्त्र विषयगत विज्ञता, कार्यगत विशिष्टताले युक्त हुन्छ । प्रजातान्त्रिक वातावरणमा समय, शिक्षा, प्रविधिको परिवर्तनसँगै राजनीतिक र शासकीय आयाममा धेरै परिवर्तन आउँछन् र यी परिवर्तनले स्वभावतः सार्वजनिक प्रशासनमा पनि परिवर्तनका धेरै आयाम सिर्जना गर्दछन् । यस्ता परिवर्तित परिवेशहरूले सार्वजनिक प्रशासनको भूमिका अझै प्रभावकारी हुनुपर्ने विषयमा जोड दिने गर्दछ ।

सार्वजनिक प्रशासन राज्यद्वारा जनतासमक्ष प्रतिबद्धता गरिएका उद्देश्य परिपूर्तिको लागि निरन्तर रूपमा दत्तचित्त, तयारी अवस्थामा र सक्रिय रहनुपर्ने अंग हो । जसरी समयको परिवर्तन भएको छ तदनुरूप जनताको व्यक्तिगत तहमा आशा र अपेक्षा वृद्धि भएको हुन्छ र त्यो आशा र भरोसा सरकारतर्फ लक्षित रहेको हुन्छ । अन्ततः सरकारतर्फ लक्षित जनताको आशा र अपेक्षा पूरा गर्नुपर्ने दायित्व सार्वजनिक प्रशासनमा सर्न पुग्दछ ।

त्यसैले शासकीय पक्षमा देखिने परिवर्तित परिवेशले सार्वजनिक प्रशासनको कार्यशैली, व्यवहार, प्रक्रिया, सेवा प्रवाहको सुनिश्चितता र सेवाको गुणस्तरको प्रत्याभूति जस्ता क्षेत्रहरूमा पनि सकारात्मक परिवर्तनको अपेक्षा राखेको हुन्छ । यस्ता आवश्यकताको परिपूर्ति गर्न सक्ने प्रशासन नै अहिलेको सामयिक आवश्यकता हो ।

निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक प्रशासनका मूलभूत न्यूनतम विशेषता हुन् । यी विशेषताको सक्षम उपस्थितिले नै सक्षम प्रशासनको कल्पना गर्न सकिन्छ । यी विशेषताको न्यून उपस्थिति वा क्षयीकरणले प्रशासन मात्र होइन समग्र शासकीय संयन्त्र नै व्यापक आलोचनाको पात्र बन्न पुग्दछ । राज्य संयन्त्रप्रति जनताको अपनत्वबोध कायम गर्न प्रशासनयन्त्रको सकारात्मक भूमिकाले सरकारप्रति जनमानसमा विश्वसनीयता वृद्धि भै जनअपनत्वयुक्त दिगो सरकार बन्न सक्दछ । यस्तो सरकारले शासन प्रणालीलाई प्रभावकारी बनाउनमा सहयोग गर्दछ भने यस कार्यमा पनि प्रशासनयन्त्रको भूमिका महत्वपूर्ण नै रहने गर्दछ ।

व्यावसायिक प्रशासन प्रजातन्त्रको अर्को अपरिहार्य पक्ष हो । व्यावसायिकता सार्वजनिक प्रशासनको त्यो चरित्र हो जसले कम साधनस्रोतको अत्यधिक उपयोग गरी उत्पादकत्वमा वृद्धि ल्याउने सामथ्र्य राख्दछ । साधनस्रोतको उपयोगमा मितव्ययिता, प्राप्त समयको भरपूर उपयोग र निर्धारित समयावधि भित्र गुणस्तरयुक्त सेवा दिन सक्नु व्यावसायिक प्रशासनको गुण हो । आफ्नो कामप्रति पूर्ण प्रतिबद्ध, लगावयुक्त, नैतिकता, निष्ठा, इमानदारी, विश्वास र लक्ष्यप्रति प्रतिबद्ध जनशक्तिले नै व्यावसायिक प्रशासनको प्रत्याभूति दिन सक्दछन् । व्यावसायिक प्रशासन नै प्रजातन्त्रको सुदृढीकरणको आधारशिला हो ।

(डा. रेग्मी स्वास्थ्य मन्त्रालयका सहसचिव हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment