Comments Add Comment

पहिरोसहितको बाढीले बडिगाड गाउँपालिकाका आठ परिवार विस्थापित

३० जेठ, बागलुङ । अविरल वर्षापछि आएको बाढीले बडिगाड गाउँपालिकाका आठ परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका-७ स्थित टुनिबोटमा पहिरोसहितको बाढीले आठ घरपरिवार विस्थापित भएपछि उनीहरु अहिले आफन्त र गोठमा आश्रय लिएर बस्न बाध्य भएका छन् ।

अव्यवस्थित रुपमा खनिएको सडकले घर माथिदेखि भलसहित आएको बाढीले स्थानीय मनबहादुर दमाई, नरबहादुर दमाई, खिमबहादुर दमाई, नवीन दमाई, गम्मरसिं गुरुङ, भूपाल गुरुङ, शेरबहादुर रोका र नरबहादुर गुरुङको घर बाढीले बस्नै नमिल्ने गरी क्षति पुर्‍याएको छ ।

विस्थापित भएका गम्मरसिं, भूपाल, शेरबहादुर र नरबहादुर आफन्तको घरमा आश्रय लिएका छन् भने चार दलित परिवार गाउँको खाली गोठमा बस्न बाध्य छन् । उनीहरुको अन्य कुनै जायजेथा नभएको बडिगाड गाउँपालिका-७ का अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए । बुधबार राति आएको पहिरोसहितको बाढीले ती परिवारहरु विस्थापित हुनुपरेको हो ।

आफूहरुको घरबाहेक अरु सम्पत्ति नभएकाले अब के गर्ने भन्ने समस्या र चिन्तामा रहेका नरबहादुर दमाइले बताए । वडाध्यक्ष गुरुङले हाललाई गाउँमा छिमेकीहरुसँग सरसल्लाह गरेर खाली गोठ तथा घरमा व्यवस्थापन गरिएको भएपनि उनीहरुको दीर्घकालीन व्यवस्थापनका लागि प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment