Comments Add Comment

नयनराज पाण्डेको नयाँ कृति जियरा सार्वजनिक

३१ जेठ, काठमाडौं । लेखक नयनराज पाण्डेको कथासंग्रह ‘जियरा’ सोमबारदेखि बजारमा आएको छ । यस सङ्ग्रहमा पाण्डेले पछिल्लो समय लेखेका १३ ओटा लामा कथा समावेश छन् ।

लेखक पाण्डेले यो संग्रहमा पाठकको प्रतिक्रिया जान्न आतुर रहेको बताए । ‘मैले एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले आख्यानको एउटा बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको छु’ उनले भनेका छन् ।

मधेसको पृष्ठभूमिमा लेखिएका कथाको संग्रह ‘जियरा’मा लेखक पाण्डेले आफ्नै पूर्ववर्ती लेखन पद्धति भत्काउँदै कथावाचनको पृथक र प्रयोगमूलक शिल्प अनि शैली अपनाएका छन् ।

पाण्डेको सङ्ग्रह पुँजीवाद, भ्रष्ट राजनीति र राजनीतिक संस्थापन, लोभ अनि पितृसत्ताको बलियो आलोचना रहेको प्रकाशन गृह फाइनप्रिन्टका अजित बरालले बताए ।

‘मलाई लाग्छ, पाण्डेका पूर्वप्रकाशित कृति ‘उलार’ र ‘लू’ले जसरी ‘जियरा’ले पनि नेपाली आख्यानमा दरिलो उपस्थिति जनाउनेछ,’ उनले भने ।

गत चैतमै बजारमा पठाउने तयारी गरिए पनि कोभिड सङ्क्रमितको सङ्ख्या बढेको, मृत्युदर पनि उकालो लागेको र लगत्तै निषेधाज्ञाका कारण प्रकाशनमा ढिला भएको प्रकाशक फाइन प्रिन्टले जनाएको छ ।

यसबीचमा नयाँ कृति सार्वजनिक नभएकाले पाठकले नयाँ पुस्तक पढ्न पाऊन्, उनीहरूलाई नयाँ खुराक मिलोस् भनेर नयाँ कृति बजारमा ल्याएको प्रकाशकको भनाइ छ । यो पुस्तकको मूल्य ४७५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment