Comments Add Comment

फुटबलमा प्रशिक्षक अलमुताइरीले देखाएको आशा

३१ जेठ, काठमाडौं । कुवेतमा विश्वकप र एसिया कप छनोटको दोस्रो चरणका बाँकी खेल खेलेर नेपाली फुटबल टिमका सदस्य आइतबार स्वदेश फर्किएका छन् ।

खेल सकिएपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरी केही समयपछि फर्किने गरी कुवेतमा नै छन् भने रोहित चन्द क्लब ड्युटीका लागि इन्डोनेसिया गए ।

कुवेती प्रशिक्षक अलमुताइरीको चर्चा विश्वकप छनोट खेलका लागि बन्द प्रशिक्षणमा खेलाडी छनोट गर्दादेखि नै भएको हो । अन्तिम टोली छनोट र खेलाडी मैदान उतार्दासमेत उनी चर्चामा रहे । कुवेतमा भएको छनोट खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गर्‍यो भने जोर्डन र अष्ट्रेलियासंग समान ३–० को हार बेहोर्‍यो । त्यसअघि मैत्रीपूर्ण खेलमा इराकसंग ६–२ ले पराजित भयो ।

विश्वकप र एसिया कपको छनोटको कुल ८ खेलमा नेपालले २ खेल जित्यो भने अरुमा हार ब्यहोर्‍यो । त्यस्ते २२ गोल खायो भने ४ गोल गर्न सक्यो । यसअघि नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको थियो भने जोर्डनसंग ३–० ले पराजित गरेको थियो । २०१९ मा अष्ट्रेलियासंग क्यानबेरामा ५–० ले हारेको नेपालले यसपटक गोलअन्तर घटायो ।

यस पटक नेपालको टिममा युवा खेलाडी छनोट गरेका प्रशिक्षक अलमुताइरीले धेरै प्रयोग पनि गरे । नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल कोरोना महामारीका कारण ‘न्युट्रल भेन्यू’ कुवेतमा खेल्नुपरेको थियो ।

तैपनि नेपालमा नयाँ प्रशिक्षकको रणनीति र खेलाडीको आत्मविश्वासले प्रशंसा पायो । नेपालले पनि ठूला टिमविरुद्ध आक्रामक फुटबल खेल्न सक्छ भन्ने देखाएको खेल विश्लेषकहरु बताउँछन् ।

विपक्षी टिमका प्रशिक्षकहरुले पनि नेपालको खेल्ने शैली परिवर्तन भएको स्वीकार गरे । नेपालका प्रशिक्षक अलमुताइरीले पनि बारम्बार नेपालको खेल  मानसिकतामा परिवर्तन भएको बताए र त्यो योजनामा आफू सफल भएकामा खुशी देखिए ।

गोलकिपर किरण चेम्जोङको कप्तानीमा रहेको २३ सदस्यीय टोलीमा यस पटक ६ नयाँ अनुहार थिए । जसमध्ये ५ खेलाडीले यो टुरमा डेब्यु गर्ने अवसर पाए ।

विंगर मनिष डाँगी र डिफेण्डर गौतम श्रेष्ठले इराकविरुद्ध पहिलो रोजाईँमा खेल्दै डेब्यु गरे । त्यसपछि उनीहरु राम्रो प्रभाव पनि देखाए । अन्य तीन मिडफिल्डर आयुष घलान, सुरजज्यू ठकुरी र कमल थापाले अष्ट्रेलियाविरुद्ध अन्तिम खेलमा मैदान प्रवेश गर्ने मौका पाए ।

उनीहरुसंगै पहिलो पटक टिममा परेका गोलकिपर विशाल सुनार, गत नोभेम्बरमा बंगलादेशसंगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा परेका अर्का गोलकिपर दीप कार्कीले भने डेब्यु गर्न बाँकी रह्यो ।

अलमुताइरीले खेलको नतिजाको जिम्मा आफैं लिएर पनि प्रशंसा पाए । खेलअघि र पछि पनि खेलाडीलाई दोष र दबाब नदिन सार्वजनिक आह्वान गरे ।

अब नेपालले सेप्टेम्बरमा साफ च्याम्पियनसिप खेल्दैछ । दक्षिण एसियाको यो ठूलो प्रतियोगितामा नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन । त्यसैले प्रशिक्षकले साफलाई ध्यानमा राख्दै यस पटक युवा खेलाडीहरुलाई टिममा राखेर तयारीको संकेत देखाए । उनले खेलाडी छनोट गर्दा नै त्यसै भनेका थिए ।

यस्तै विश्वकप छनोटबाट बाहिरिएको नेपालले अब एसियन कप छनोटको तेस्रो चरण पुग्न प्लेअफ खेल्नुपर्नेछ । त्यो खेल सेप्टेम्बरमै हुने सम्भावना छ ।

त्यसअघि नेपालले जुलाईमा अफ्रिकन र युरोपियन टिमसंग मैत्रीपूर्ण खेल खेल्ने प्रशिक्षक अलमुताइरीले बताएका थिए । उनले इराक जानुअघि तीन महिना पर्खनुस् नतिजा देखिनेछ भनेका थिए । त्यसका लागि उनले खेलाडी तयार पारेका छन् । नतिजा भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment