Comments Add Comment

एमालेको दुवै समूहका नेताहरू आन्तरिक छलफलमा

३१ जेठ, काठमाडौं । पार्टीमा एकता कायम गर्न सम्वादमा रहेका नेकपा एमालेको दुवै समूहका दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

सोमबार अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायत नेताहरु बालुवाटारमा छलफलमा जुटेका थिए ।  पार्टी एकताको अन्तिम गृहकार्यका निम्ति छलफलमा बसेको बालुवाटार निकट स्रोतले जनाएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुबीच पनि सोमबार लामै समय छलफल भएको छ । गोकर्ण बिष्टको निवासमा भएको छलफलमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य लगायत नेताहरू सहभागी थिए ।

एमालेको दुई समूहबीच पछिल्लो समय बाक्लो भेटवार्ता भएको छ, तर सहमति जुटिसकेको छैन । एक नेताका अनुसार सम्वाद भने सकारात्मक बन्दै गएको छ । ‘ठोस सहमति नभएसम्म भन्न सकिन्न । तर सकारात्मक वातावरण बनेको छ’, ती नेताले भने ।

अध्यक्ष ओलीले बनाएको दशौं महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्च अदालतले मान्यता नदिएपछि छलफल झनै सघन बनेको छ । कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसदलाई एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले मात्रै कारबाही गर्नसक्ने भनी २७ जेठमा सर्वोच्च अदालतले आदेश दिएको थियो ।

त्यसपछि नै प्रदेश १ र वाग्मतीमा एमालेको दुवै समूह एकठाउँ उभिएर नीति तथा कार्यक्रम पारित भएको छ । गण्डकीमा पृथ्वीसुब्बा गुरुङ विश्वासको मत गुमाउँदै मुख्यमन्त्रीबाट पदमुक्त भएपनि एमाले सांसदहरु एक ठाउँ उभिएका थिए । त्यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशमा माधव समूहका सांसदहरुले विपक्षीसँग गठबन्धन गरेका थिए ।

‘हेल्लो (कुराकानी) भएको हो, तर त्यस्तो उल्लेख्य केही भएको छैन’, ओली समूहका नेता नेम्वाङले भने ।

एमाले अध्यक्ष ओलीले एकताका लागि राखेको ६ बुँदे प्रस्तावमा नेता नेपालले पनि ६ बुँदे जवाफ फर्काएका छन् । यो प्रस्तावपछि औपचारिक वार्ता भने हुन सकेको छैन ।

ओलीको प्रस्तावमा राखिएको संसद् विघटन विरुद्धको सर्वोच्चमा पेश गरिएको २३ सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने विषयमा नेता नेपाल समूह सहमत हुन सकेको छैन । यसबाहेक सम्पूर्ण रुपमा २ जेठ २०७५ अगाडिकै एमालेमा फर्कनुपर्ने नेपाल समूहको अडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment