+
+
Shares

भेरी अस्पतालको ओपीडी सेवा भोलिदेखि सञ्चालनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३१ गते २०:१२

३१ जेठ, काठमाडौं । बाँकेको भेरी अस्पतालले मंगलबारदेखि बहिरङ्ग (ओपीडी) सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पतालमा संक्रमितको चाप घट्दै गएपछि ओपीडी सेवा सञ्चालन गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए ।

उनले अनलाइनखबरसँग भने, ‘अस्पतालमा सोमबार ७३ जना मात्रै बिरामी उपचाररत छन् । अस्पतालमा संक्रमितको चाप घट्दै गएका कारण ओपीडी सेवा सञ्चालन गर्न लागेका हौं ।’

एक सातासम्म दैनिक १ बजेसम्म ओपीडी सेवा सञ्चालन गर्ने र त्यसपछि अवस्था हेरेर निर्णय गरिने उनले बताए । कोरोना महामारी उत्कर्षमा पुग्दा अस्पतालले प्राङ्गणमा टेन्ट राखेर संक्रमितको उपचार गराएको थियो ।

अस्पतालको प्रयोगशालाको तथ्यांक र कोभिड वार्डमा भर्ना भएका बिरामीको अवस्थालाई हेर्दा बाँकेमा कोरोनाको दोस्रो लहर क्रमिक रुपमा नियन्त्रण उन्मुख हुँदै गएको डा.थापाले बताए ।

संक्रमण तीव्र गतिमा फैलिएपछि नेपालगञ्जमा वैशाख ९ गतेदेखि निषेधाज्ञा जारी भएको थियो । अस्पतालको तथ्यांक अनुसार संख्यात्मक हिसाबले वैशाखको तेस्रो हप्ता सबैभन्दा बढी संक्रमित देखिएको र भर्ना भएको देखिन्छ ।

वैशाख १ देखि १० गते २१७ जना , ११देखि२० सम्म २९४ जना र २१ देखि ३१ गते ३०९ जना नयाँ संक्रमित भर्ना भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार जेठ महिनामा ३७६ बिरामी भर्ना भएका छन् ।

जेठ १० गतेपछि भने परीक्षणको संख्या, संक्रमितको संख्या र नयाँ बिरामी भर्ना हुने संख्या क्रमशः घट्दै गएको अस्पतालले जनाएको छ । एकैदिन अस्पतालमा भर्ना हुने बिरामीको संख्या ३२६ सम्म पुगेकोमा हाल यो संख्या ७३ मा पुगेको अस्पतालले जनाएको छ ।

नेपालगञ्ज मेडिकल कलेजमा पनि ओपीडी सेवा सञ्चालन

संक्रमितको चाप घट्दै गएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जेठ २३ गतेदेखि नै ओपीडी सेवा सुरु गरिसकेको अस्पतालका डा. नितेश कुमार कनौडियाले जानकारी दिए ।

बाँकेमा कोरोनाको ‘हटस्पट’ बन्दा भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज संक्रमितको उपचार गर्ने हब नै बन्न पुगेको थियो ।

डा. कनौडियाका अनुसार अस्पतालमा हाल १७ जना मात्रै संक्रमित उपचाररत छन् ।

सोमबार ९ जनामा संक्रमण पुष्टि

बाँकेमा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार ४ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार एकजना मात्रै कोरोना संक्रमितको मृत्यु भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?