News Summary
Generated by OK AI. Editorially reviewed.- भेरी अस्पतालले कुकुर, सर्प तथा अन्य विषालु जीवजन्तुको टोकाइबाट उपचारका लागि आउने बिरामीको विवरण व्यवस्थित गर्न डिजिटल प्रणाली सुरु गरेको छ।
- डा. बद्री चापागाईंको नेतृत्वमा रहेको ११ सदस्यीय चिकित्सकको टोलीले एक वर्षसम्म बिरामीको उपचार अवस्था र औषधि प्रभावकारितामाथि गहन अध्ययन गर्ने भएको छ।
- डिजिटल अभिलेखबाट प्राप्त तथ्यांकले उपचार प्रणाली सुधार गर्न, जोखिमयुक्त क्षेत्र पहिचान गर्न र आगामी दिनमा स्वास्थ्य नीति निर्माणमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
१७ साउन, नेपालगञ्ज । भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ ।
पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् ।
डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको यकिन संख्या अस्पतालसँग नहुने र बिरामीलाई प्रदान गरिने उपचार सेवा नै प्रभावित हुँदै आएको थियो ।
विषालु सर्प तथा जनावरले टोकेका कति बिरामी अस्पतालमा आए, ती बिरामी उपचारका क्रममा कति दिन अस्पतालको इमरजेन्सी, जनरल बेड र आईसीयूमा बसे, उपचारमा के कस्ता औषधिहरू कति परिमाणमा प्रयोग भयो, औषधि कति प्रभावकारी भए र उपचारका क्रममा के कस्ता कमजोरी भए भन्ने विषयमा अध्ययन–अनुसन्धान गर्न सहज होस् भन्ने उद्देश्यले डिजिटल प्रणालीमा व्यवस्थित अभिलेख राख्न सुरु गरिएको अध्ययन टिमका संयोजक भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट डा. बद्री चापागाईंले बताए ।
डा चापागाईंको नेतृत्वमा ११ जना चिकित्सको टिमले १६ साउन २०८३ देखि एक वर्ष सर्प तथा जनावरले टोकेर उपचारका लागि अस्पताल आउने बिरामीहरूको विवरण डिजिटल प्रणालीमा राख्नेदेखि उपचार प्रणालीका समग्र पक्षहरूमा अध्ययन–अनुसन्धान गर्नेछ । उक्त टिममा भेरी अस्पतालका मेडिसिन, मिर्गौला, बालरोग, एनेस्थेसिया, आईसीयू र फरेन्सिक विभागका प्रमुखलगायत छन् ।
विभिन्न जीवजन्तुको टोकाइमा परेर अस्पताल आएका बिरामीहरूको उपचारमा अस्पतालबाट भएको खर्चदेखि बिरामीको तर्फबाट भएको खर्चको समग्र विवरण सहितको स्वास्थ्य अर्थशास्त्रका विविध पक्षको समेत अध्ययन र विश्लेषण गरिने संयोजक डा. चापागाईंले बताए ।
रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका साथै मध्यवर्ती क्षेत्रका वनजंगलमा रहेका वन्यजन्तुलगायत विषालु सर्पको टोकाइमा परेका बिरामी उपचारका लागि आउने गरेका छन् । तर के कस्ता जीवजन्तुको टोकाइमा परेर कतिको संख्यामा उपचारका लागि आए भन्ने सामान्य विवरणसमेत अस्पतालको तथ्यांक प्रणालीमा छैन ।
विगत वर्षहरूमा कुकुरले टोकका बाहेक अन्य जीवजन्तुको टोकाइमा परेर उपचारका लागि आएका बिरामीको तथ्यांक भेरी अस्पतालसँग छैन ।
आर्थिक वर्ष २०८२/०८३ मा भेरी अस्पतालमा कुकुरको टोकाइमा परेर ८ हजार ४०४ जना बिरामी आएको अस्पतालको अभिलेखमा देखिन्छ । त्यसैगरी विषालु सर्पले टोकेर अस्पतालमा भर्ना भएका बिरामीको संख्या ८० देखिएको छ । तर सर्पदंशमा परेका कति बिरामी अस्पतालमा आए भन्ने विवरण अस्पताल प्रशासनसँग नभएको अध्ययन टिमका संयोजक डा. चापागाईंले बताए ।
चार वर्ष पहिले गरिएको एक अध्ययनबाट भेरी अस्पतालमा हरेक वर्ष ४०० देखि ५०० को संख्यामा सर्पदंशका बिरामी आउने गरेको देखिएको थियो । तीमध्ये १० देखि २० प्रतिशत विषालु सर्पले टोकेका बिरामी थिए । विषालु सर्पले टोकेकामध्ये २ देखि ३ प्रतिशतको उपचारका क्रममा मृत्यु हुने गरेको अध्ययनबाट देखिएको थियो ।
विषालु सर्पको टोकाइमा परेर उपचारका लागि आउने बिरामीलाई हप्तौंसम्म आईसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर अस्पतालमा भएका १२ वटा आईसीयू बेडमा बिरामीहरू भरिभराउन हुँदा सर्पदंशका बिरामीले बेड नै नपाएर मृत्यु हुनेसम्मका घटना हुने गरेका छन् ।
डिजिटल प्रणालीबाट व्यवस्थित रूपमा संकलित तथ्यांकलाई अनुसन्धान, उपचार निर्देशिका परिमार्जन, कुकुर वा अन्य जनावरले टोकेपछि रेबिज संक्रमणबाट तुरुन्तै बचाउन दिइने रेबिज भ्याक्सिन तथा तथा विषालु सर्पले टोकेको बिरामीलाई दिइने एन्टी स्नेक भेनमको परिमाण र उपलब्धताको व्यवस्थापन साथै अध्ययन तथा अनुसन्धानबाट देखिएको प्रतिवेदनका आधारमा स्वास्थ्य नीति निर्माणका लागि उपयोग गरिने लक्ष्य राखिएको छ ।
डिजिटल अभिलेखबाट प्राप्त हुने तथ्यांकले जनावरको टोकाइ, सर्पदंश तथा अन्य विषालु जीवजन्तुसँग सम्बन्धित घटनाको वास्तविक अवस्था विश्लेषण गर्न, जोखिमयुक्त क्षेत्र पहिचान गर्न, उपचार प्रणालीलाई थप प्रभावकारी बनाउन तथा भविष्यमा अध्ययन प्रतिवेदनमा आधारित स्वास्थ्य नीति निर्माणमा सहयोग पुग्नेछ ।
उपचार प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक पर्ने जनशक्ति, स्रोत–साधनको योजना तथा नागरिकको स्वास्थ्य सुरक्षामा राज्यले गर्नुपर्ने लगानी निर्धारण गर्नसमेत यो अनुसन्धानबाट प्राप्त हुने विवरणहरू उपयोगी हुने भेरी अस्पतालका पूर्वप्रमुख समेत रहेका अध्ययन टिमका संयोजक डा. चापागाइैंले बताए ।
प्रतिक्रिया 4