+
+
Shares

भेरी अस्पतालका चिकित्सक आन्दोलनमा, इमर्जेन्सी बाहेकका सेवा ठप्प

मृतकका आफन्तहरुको समूहमाथि कारबाही र सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग चिकित्सकहरूले राखेका छन् ।

कृष्ण अधिकारी कृष्ण अधिकारी
२०८३ वैशाख १६ गते १२:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सकहरुले सुरक्षा माग गर्दै आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्।
  • ६२ वर्षीया दिलसरा विकको मृत्युपछि चिकित्सक र अस्पताल प्रमुखलाई ज्यान मार्ने धम्की दिँदा सेवा बन्द गरिएको हो।
  • नेपाल चिकित्सक संघले २४ घण्टाभित्र दोषीलाई नियन्त्रणमा लिएर कानुनी कारबाही र सुरक्षाको व्यवस्था गर्न माग गरेको छ।

१६ वैशाख, नेपालगन्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सकहरुले सुरक्षा माग गर्दै आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । ओपीडी लगायतका उपचार सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका छन् ।

उपचारका क्रममा बाँकेको बैजनाथ गाउँपालिका वडा नं ६ निवासी ६२ वर्षीया दिलसरा विकको १३ वैशाखमा मृत्युपछि मृतकका आफन्तले चिकित्सक र अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीलाई ज्यान मार्ने धम्की दिँदै दुर्व्यवहार गरेको भन्दै चिकित्सकहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

मृतकका आफन्तहरुको समूहमाथि कारबाही र सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग चिकित्सकहरुले राखेका छन् ।

भेरी पश्चिम नेपालकै सबैभन्दा ठूलो र विशिष्टकृत सेवा प्रदान गर्ने संघीय अस्पताल हो । भेरी अस्पतालमा दैनिक करिब एक हजार बिरामी उपचारका लागि पुग्ने गर्छन् ।

नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा. रुपानन्द अधिकारीले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र घटनामा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई कानुनी कारबारीको प्रक्रिया सुरु गर्न र चिकित्सकहरुको सुरक्षाको व्यवस्था मिलाउन माग गरेका छन् । दोषी माथि कारबाही र सुरक्षाको प्रत्याभूति नगरिए संघमा आवद्ध सम्पूर्ण सरकारी, निजी अस्पताल, क्लिनिकको इमरजेन्सीबाहेकका सेवाहरु बन्द गर्ने चेतावनी पनि दिएका छन् ।

दिलसराको मृत्युको विषयलाई लिएर मंगलबार बिहान साढे १० बजे तिर मृतकका आफन्त बताउने एउटा समूह प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट सुवेदीको कार्यकक्षमा पुगेर हातपातको प्रयास गर्नुका साथै तथानाम गाली बेइज्जती गरेको चिकित्सकहरुको भनाइ छ । त्यही समूहले अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे लगायतका चिकित्सकहरुलाई ज्यान मार्ने धम्की पनि दिएको आरोप छ ।

हातपातको प्रयास र ज्यानमार्ने धम्की दिने व्यक्तिहरुलाई कारवाही र सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म विरामीको सेवामा फर्किने अवस्था नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले बताए ।

‘उपचारका क्रममा विरामीको मृत्यु हुनु दुःखद घटना हो । उपचार प्रक्रियामा असहमत भए, चित्त नबुझे कानुनी प्रक्रियामा जाने ठाउँ हुँदाहुँदै चिकित्सकमाथि आक्रमणको प्रयास हुनु, ज्यान मार्ने धम्की दिनुले सम्पूर्ण चिकित्सकको मनोबल गिरेको छ । भय र त्रासको अवस्था र्सिजना भएको छ,’ उनले भने ।

अस्पतालका प्रमख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले उपचारमा लापरवाही नभएको भन्दै यदि चिकित्सकको दोष देखिए कानुनी कारबाही भोग्न तयार रहेको बताए ।

सहमति भइसकेपछि डाक्टरलाई धम्की र दुर्व्यवहार

प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार समेतको सहजीकरणमा सोमबार चिकित्सक र मृतकका आफन्तबीच भएको छलफलमा पीडित पक्षको तर्फबाट अस्पतालका चिकित्सकहरुसँग वार्ता गर्ने क्रममा पूर्वराज्य मन्त्री एवम् हालै रास्वपामा प्रवेश गरेका बाँकेका नेता दल बहादुर सुनारले बिगतका दिनमा यस्तै घटनामा नेपालगन्जकै एक अस्पतालले २२ लाख लाखसम्म पीडित परिवारलाई क्षतिपूर्ति दिएको भन्दै व्यवहारिक पक्ष हेरिदिन आग्रह गरेका थिए । तर चिकित्सकहरुले भने उपचारमा लापरबाही भएको मेडिकल काउन्सिल लगायत राज्यका निकायहरुले ठहर गरेरमा जेल जान समेत तयार रहेको जनाउँदै क्षतिपूर्तिको नाममा रकम नदिने अडान लिएका थिए ।

त्यसपछि उपचारमा संलग्न चिकित्सकमाथि कानुनी उपचार खोज्ने र मंगलवार शव पोष्टमार्टम गरेर पीडितका आफन्तहरुले बुझ्ने सहमति भएको थियो । त्यही सहमती अनुसार पीडित परिवारले शव पनि बुझेका थिए । तर सहमति भइसकेको विषयमा मंगलबार पुनः मृतकका छोरा सुरेश विक लगायतको २०÷२५ जनाको समूह अस्पताल प्रमुखको कार्यकक्षमा पुगेर गालीगलौज गर्दै हातपातको प्रयास गरेको थियो ।

डा. विकास नेपालले हेर्दै आएका थिए बिरामी

माथिल्लो पेटको दुखाइ सम्बन्धी समस्या भएपछि दिलसरा भेरी अस्पतालका डिएम कार्डियोलोजिष्ट डा. विकास नेपालको तेजस्वी हार्ट सेन्टरमा चेकजाँच र परामर्श गराउँदै आएकी थिइन् ।

उपचार र परामर्शका लागि ६ वैशाखमा तेजस्वी हार्ट सेन्टरमा पुगेकी दिलसरालाई डा. नेपालले पूर्णरुपमा स्वास्थ्य समस्या पहिचानका लागि थप अनुसन्धान, इन्डोस्कोपी तथा मुटुका अन्य जाँचहरु गर्नुपर्ने भएकाले भेरी अस्पतालमा पठाए । दिलसरा ६ वैशाख दिउँसो सावा २ बजे भेरी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन् । दिलसरा पहिलेबाटै हाइपोथाइराइडिज्म, टाइप–२ मधुमेह र उच्च रक्तचापकी बिरामी थिइन् ।

भेरी अस्पतालमा स्वाथ्य परिक्षण र औषधी सेबन गरेपछि उनको स्वास्थ्य अवस्थामा आंशिक सुधार भएको थियो । ८ वैशाखमा दुखाइ पटक–पटक हुने र बीचमा बिरामी सामान्य देखिने अवस्थाका कारण मनोचिकित्सकको परामर्श लिइएको थियो । १० वैशाखमा इन्डोस्कोपी समेत गरिएको थियो । एन्डोस्कोपीमा ‘इरोसिभ एन्ट्रल ग्यास्ट्राइटिस विथ सुपरफिसियल पंक्टेट हेमरेज’ अर्थात घाउ र कीटाणु देखियो । त्यसपछि औषधि सुरु गरियो ।

११ वैशाखको अपराह्न करिब १२ बजेतिर डा नेपाल सहितको टिमले बिरामीको राउण्डका क्रममा चेक जाँच गरे । बिरामी सहज, स्थिर देखिइन् । आंशिक सुधारको लक्षण देखियो । अपराह्न ४ बजेतिर फेरि बिरामीलाई दुखाइ सुरु भएको थियो । बिरामीको पुनः ईसीजी गरियो र ट्रोपोनिन–आई परीक्षण गर्दा रिपोर्ट फेरि नेगेटिभ आयो । मुटुमा समस्या नभएको पुष्टि भयो ।

मुटुको जाँच दोहोराएर गर्दा पनि समस्या नदेखिएपछि डा. नेपालले बिरामीलाई ग्यास्ट्रो फिजिसियनलाई देखाउन आफन्तहरूलाई आग्रह गरे । त्यसका लागि आफूले सहजीकरण गरिदिने पनि बिरामीका आफन्तलाई बताए । डा. नेपालले बिरामीका छोरा र श्रीमानलाई अस्पतालमा ग्यास्ट्रो फिजिसियन नभएकाले थप उपचारका लागि सुविधा भएको ठाउँमा लैजान सुझाव दिए ।

बिरामीको दुखाइ कम हुने र बढ्ने क्रम चलिरहेकै थियो । पटक–पटकको परामर्शपछि पनि बिरामी पक्षले रिफर भएर ग्यास्ट्रो फिजिसियन भएको अर्काे अस्पताल जान मानेन । उल्टै बिरामी गम्भीर अवस्थामा पुगेपछि रिफर गर्न थालेको आरोप लगाउँदै आफन्तहरु रिसाए ।

डा. नेपालले आफ्नो तर्फबाट गर्नुपर्ने सबै उपचार विधि पूरा गरेको भन्दै आफन्तहरूलाई सम्झाउने प्रयास गरे तर बिरामीका आफन्तले मानेनन् । १२ वैशाख शनिबार भएकाले डा.नेपाल बिदामा थिए ।

वैशाख १३ गते बिहान ११ बजे बिरामी शौचालय गइन् । शौचालयबाट फर्किने क्रममा उनी ढलिन् । पेट असाध्यै दुख्ने र बान्ता हुने समस्या देखियो । श्वास फेर्न पनि गाह्रो भएपछि बिरामीलाई आईसीयूमा भर्ना गरियो । आईसीयूमा भर्ना गरेर उपचार गर्ने क्रममा दिलसराको मृत्यु भयो ।

आफूले उपचार गरिरहेको बिरामी मृत्यु होस् भन्ने कुनै चिकित्सकले सोच्न त के कल्पना नै गर्न नसकिने डा.नेपाल बताउँछन् । बिरामीलाई निको पार्न आफू र अस्पतालको सिङ्गो टिमले हरसम्भव प्रयास गरे गरे पनि मृत्युलाई रोक्न नसकिएको डा. नेपालले बताए ।

‘हाम्रोतर्फबाट उपचार प्रक्रियामा कुनै पनि कमी भएको छैन । बिरामीका आफन्तहरुलाई चित्त नबुझे कानुनी प्रक्रिया छन् । ती बाटोबाट न्याय खोज्न सकिन्छ,’ डा. नेपाल भन्छन्, ‘तर चिकित्सकहरुमाथि हातपात, दुर्व्यवहार, गालीगलौज, धम्की ठीक होइन ।’

लेखक
कृष्ण अधिकारी

कृष्ण अधिकारी नेपालगञ्जबाट खोजमूलक स्टोरी लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?